क्यानडाका प्रधानमन्त्री जस्टि ट्रुडोसँग मंगलबार भिडियो वार्ता गरेपछि बाइडेनले क्यानडासँग सहकार्य गर्ने बताएका हुन्। बाइडेनले राष्ट्रपति बनेपछि पहिलोपटक विदेशी नेतासँग द्विपक्षीय वार्ता गरेका हुन्।
बाइडेनले दुई देशमाथि उत्पन्न खतराहरूको प्रतिरोध गर्न पनि सँगै मिलेर काम गर्ने बताएका छन्।
‘द्विपक्षीय साझेदारी सुदृढ गर्न र विश्वव्यापी चिन्ताका विषयहरुको बारेमा बुझ्का लागि यो वैठक म र ट्रुडोका लागि अवसर थियो’ बाइडेनले भनेका छन्,‘बैठकमा चीनसँग प्रतिस्पर्धा गर्न र हाम्रो चासो र मूल्य मान्यतामा उत्पन्न हुने खतरालाई रोक्न समन्वय गर्ने विषय समावेश छ।’
मंगलबारको वार्तामा चीनलाई दबाब दिने विषयमा छलफल भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
सो क्रममा बाइडेनले चीनले सन् २०१८ मा नियन्त्रणमा लिएको क्यानडाका दुई नागरिक माइकल स्पाभोर र माइकल कोभरिगलाई छाड्नुपर्ने समेत माग गरेका छन्।
हुवावेकी वित्त प्रमुख मेङ्ग वान्जुलाई क्यानडाले अमेरिकी आग्रहमा गिरफ्तार गरेपछि नै ती नागरिक चीनमा पक्राउ परेका थिए। उनीहरुमाथि चीनको राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गराएको आरोप लगाइएको छ।
हुवावेले अमेरिकी प्रतिबन्ध तोडेको भन्दै उनलाई गिरफ्तार गर्न लगाइएको थियो। बाइडेनले मानिस साटासाट गर्ने बस्तु नभएकाले क्यानडेली नागरिकलाई घर सुरक्षित ल्याउने विषयमा चीनलाई दबाब दिने बताएका छन्।
बाइडेनले क्यानडा र अमेरिका मानवअधिकार र लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा सँधै रहने पनि उल्लेख गरेका छन्।
पछिल्लो समय अमेरिकासहित पश्चिमा मुलुकहरुले चीनको सिनजियाङमा उइगर मुसलमानमाथि त्यहाँको सरकारले दमन गरेको विषय शसक्त रुपमा उठाउँदै आएका छन्।
Shares

प्रतिक्रिया