सोमबार सरकारले आफूहरुमाथिको प्रतिबन्ध फुकुवा गर्ने आशामा बसेका थिए– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरु।
सरकारले वार्ताको वातावरण बनाउने बताउँदै आएको थियो। आइतबार पनि वार्ताको वातावरण बनाउने भन्दै विप्लवका दोस्रो तहका नेताहरुसँग सरकारका प्रतिनिधिले छलफल गरेका थिए।
त्यसैकारण सोमबार सो पार्टीका प्रभावशाली नेता धर्मेन्द्र बास्तोला प्रहरीको हिरासतबाट छुट्ने आशामा उनीहरु हुल नै सर्वोच्च अदालत पुगेका थिए।
सर्वाेच्च परिसरमा बास्तोलाका आफन्त र विप्लव पार्टीका केही नेताहरु कुरिरहेका थिए।
विप्लवका उच्च तहका नेता बास्तोला सरकारसँग वार्ताको तयारी गर्न आउने क्रममा पुस २९ गते ललितपुरको बागमती गाउँपालिका–७ बाट पक्राउ परेका थिए।
उनलाई पक्राउ गरेर प्रहरीले हिरासतमा राखेको थियो। विप्लवले वार्ता हुनुअघि आफ्ना नेतामाथि लगाएको आरोप खारेज गरेर जेलमा रहेकालाई निःशर्त रिहाइ गर्नुपर्ने माग अघि सारेका छन्।
बास्तोलाको तर्फबाट अमिना बास्तोला भण्डारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन्।
न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गरेको थियो। इजलासले बास्तोलालाई थुनामा राख्नु न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानुनी थुनाबाट मुक्त गर्न आदेश दिएको थियो।
त्यतिमात्र होइन, अदालतले बास्तोलालाई फरक विचार र आस्था राखेको कारण चौथो पटक अदालत परिसरबाटै पक्राउ गरेको भन्दै फेरि पक्राउ गरे विपक्षीलाई नेपालको संविधानको धारा १२८ को (४) तथा न्याय प्रशासन ऐन २०७३ दफा १७ बमोजिम कारबाही हुने जनाउ पनि दिएको थियो।
तर, अदालतले दिएको कडा आदेशपछि पनि प्रहरीले बास्तोलालाई पुनः पक्राउ गर्यो।
बास्तोलाविरुद्ध काभ्रे र भोजपुरमा पनि मुद्दा रहेकोले पुनः पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले बताए। सिंहका अनुसार उनलाई काभ्रे लगेर मुद्दा चलाइने र पछि भोजपुर पुर्याइनेछ।
सरकारले आफ्नो पार्टीसँग वार्ताको तयारी गरिरहेका बेला बास्तोलालाई हिरासतमुक्त नगरी झन् काभ्रे र भोजपुर डुलाउन लागेपछि आफूहरु संशकित भएको विप्लवका एक नेताले बताए।
आतंककारी गतिविधि गरेको भन्दै सो पार्टीलाई सरकारले २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो।
सरकारले मन्त्रिपरिषद् बैठक बसेर प्रतिबन्ध हटाउने आश्वासन दिएको छ। तर, सोमबार साँझसम्म मन्त्रिपरिषद् बैठक बसेको छैन।
‘हामीलाई मन्त्रिपरिषद् बैठक बसेर राजनीतिक प्रतिबन्ध फुकुवाको निर्णय गरिने जानकारी दिइएको थियो,’ विप्लवका ती नेताले भने, ‘आज साँझसम्म त्यसबारे खासै केही कुरा अगाडि बढेको पाइएन। अदालतले दिएको रिहाइको आदेशसम्म पालना नगरी प्रहरीले हाम्रै नेतालाई फेरि पक्राउ गरेको छ। सरकारले के गर्न खोजेको हो भन्ने भेउ पाउन सकिएन। शंका उत्पन्न भएको छ।’
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि विप्लवका नेताहरुसँग बास्तोलालाई रिहा गर्न प्रधानमन्त्री सकारात्मक रहेको बताएका थिए।
‘तपाईंहरुसँग वार्ता गर्न पनि उहाँलाई रिहा गर्नैपर्छ,’ रिमालको भनाइ ती नेताले उधृत गरे, ‘प्रधानमन्त्री पनि यसमा सकारात्मक हुनुहुन्छ।’
ती नेताका अनुसार मन्त्रिपरिषद् बैठकले नै वार्ताको औपचारिक आह्वान गर्ने समेत बताइएको थियो।
‘प्रतिबन्ध फुकुवा र जेलमा रहेका हाम्रा साथीहरुलाई हिरासतमुक्त गर्ने निर्णय हुने जानकारी पाएका थियौँ,’ ती नेताले भने, ‘अहिलेसम्म वार्ताको जवाफी पत्र समेत पाएनौं।’
सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने जवाफ पठाउने प्रक्रियामा रहेको बताए।
‘उहाँहरुले वार्ताको लागि गर्नुभएको प्रस्तावमा हामी सकारात्मक छौँ,’ ज्ञवालीले नेपालखबरसँग भने, ‘कुन ढंगले पत्र पठाउने भन्नेबारे छलफलमै छौँ।’
उनले अब छिट्टै जवाफी पत्र पठाउने बताएपनि समय भने तोकेनन्।
अदालतले हिरासत मुक्त गर्न दिएको आदेश कार्यान्वयन नगरी प्रहरीले फेरि बास्तोलालाई पक्राउ गरेको घटनाले वार्ताको वातावरण नबिथोलिने ज्ञवालीको भनाइ छ।
‘हामी सकारात्मक चासोसहित उहाँहरुसँग वार्तामा बस्छौँ, अहिले हाम्रो चाहना भनेको उहाँहरुबाट हिंसात्मक गतिविधि नहोस् भन्ने हो,’ ज्ञवालीले भने।
बास्तोलाका परिवारका सदस्य गणेश भण्डारीले सरकार र विप्लवबीच यही हप्ताभित्रमा वार्ता हुने बताए।
‘मैले यही हप्ताभित्रमा वार्ता हुन्छ भन्ने सूचना पाएको छु’, उनले भने।
विराटनगरमै प्रतिबन्ध फुकुवा घोषणा गर्ने तयारीः तर पछि हटे ओली
विप्लव निकट नेताहरुका अनुसार प्रधानमन्त्री ओलीले फागुन ८ गते विराटनगरमा भएको सभामै विप्लव पार्टीमाथिको प्रतिबन्धको फुकुवा घोषणा गर्ने जानकारी दिइएको थियो।
शनिबार बिहानै ओली निकट केन्द्रीय सदस्य गोकुल बास्कोटाले ‘आज केही हुन्छ, पक्कै केही नयाँ’ भन्दै ट्विट गरेका थिए।
विराटनगरको सभामै ओली पक्षका नेता सुवास नेम्वाङले पनि प्रधानमन्त्री ओलीले नयाँ कुरा घोषणा गर्न लागेको बताएका थिए।
तर, ओलीले केही नयाँ कुरा घोषणा गरेनन्। जसका कारण विप्लवका नेताहरु आश्चर्यमा परेका थिए।
‘हामीलाई उहाँहरुले प्रतिबन्ध फुकुवा भएको घोषणा हुन्छ भनेर विश्वस्त तुल्याउनुभएको थियो। तर, खै किन रोकिनुभयो,’ उनले भने, ‘पछि मन्त्रिपरिषदबाट फुकुवा हुने बताइयो।’
पार्टी फुटेसँगै ओलीले विप्लवसँग वार्ता गर्ने प्रयास थालेका थिए। त्यसका लागि खानेपानीमन्त्री मणि थापाले भूमिका खेलेका थिए।
प्रतिक्रिया