राजनीति


प्रेस पासको अवधि अब न्युनतम पाँच वर्ष : सञ्चारमन्त्री गुरुङ

प्रेस पासको अवधि अब न्युनतम पाँच वर्ष : सञ्चारमन्त्री गुरुङ

नेपालखबर
फागुन ५, २०७७ बुधबार १०:५८,

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रका विकृति, बिसंगतीलाई हटाई सम्मानित र जवाफदेही बनाउन आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन्।

बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनमा बोल्दै मन्त्री गुरुङले आफ्नो एक मात्रै ध्यान पत्रकारिता तथा आमसञ्चार क्षेत्रलाई सम्मानित र जवाफदेही बनाई गरिमालाई उच्च राख्नु तर्फ रहेको बताएका हुन्।

पत्रकारिकता क्षेत्रमा रहेका विकृति, विसंगति र अनुशासनहीन गतिविधिहरुलाई कसरी सुधार गर्न सकिन्छ भन्नेमा आफ्नो अर्जुनदृष्टि रहेको उनको भनाई छ। संविधानले दिएको प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताप्रति आफुले सम्मान गर्ने भन्दै उनले सरकारले प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको भन्दै शंका नगर्न पनि उनले आग्रह गरे।

मन्त्री गुरुङले पत्रकारहरुले भोग्ने गरेको प्रेस पासको समस्या समाधान गर्न आफूले ध्यान दिएको बताए। प्रेस पास नविकरण हुलाक कार्यालयबाटै गर्न सकिने निर्णय गराएको उनको भनाई छ। प्रेस पास वर्षैपिच्छे नविकरण गर्ने व्यवस्थाको अन्त्य गर्दै प्रेस पासको अवधि न्युनतम पाँच वर्ष पुर्‍याउनको लागि मन्त्रालयको तर्फबाट प्रक्रिया अगाडि बढाउने पनि उनले जानकारी दिए।

त्यसैगरी, पत्रकारिकता क्षेत्रलाई गुणस्तरीय बनाउनको लागि पत्रकारका लागि प्रशिक्षण केन्द्र स्थापनाको निम्ति आगामी आर्थिक वर्षमा नीति, कार्यक्रम तथा बजेट ल्याउने मन्त्री गुरुङको भनाई छ ।

उनले अनलाइन सञ्चारमाध्यमहरु पौष मशान्तसम्म नविकरण गरिसक्नुपर्ने व्यवस्थाको अन्त्य गर्दै वर्षभरी नविकरण गर्न सकिने व्यवस्था गरिने प्रतिबद्धता पनि व्यक्त गरे। लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चारमाध्यम तथा केवल टिभीलाई पनि दिन सकिने गरी कार्यविधि बनाउने तथा लोककल्याणकारी विज्ञापनको कोष वृद्धि गर्ने पनि उनले बताए।

मन्त्री गुरुङले जुन सूचनाको माध्यमबाट हिंसा, अशान्ती, द्वन्द्व सिर्जना हुन्छन् त्यसको व्यवस्थापनको बारेमा सोच्दै सरकारले सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका ल्याउने तर्फ आफ्नो ध्यान गएको बताए। सोसल मिडियाहरुपनि कानुनी प्रक्रियामा आउनुपर्ने उनको भनाई छ।

विश्वभर सामाजिक सञ्जाल नियमन गर्नेबारे छलफल चलेको भन्दै उनले नेपालमा पनि सामाजिक सञ्जाल नियमन आवश्यक रहेको बताए। उनले दश करोड रुपैयाँको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने पनि बताए। मन्त्री गुरुङले वैशाख १७ र २७ गते निर्वाचन हुने भन्दै निर्वाचनको तयारीमा लाग्नुपर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad