प्रचण्ड नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोराछोरीको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पुनः प्रश्न गरेका छन्।
शुक्रबार विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले छोरी र ज्वाईंलाई मात्रै हेर्छ भन्ने प्रधानमन्त्री ओलीमाथि छोराछोरीलाई विदेशमा पढ्न नपढाएर गणतन्त्रको आन्दोलनमा संलग्न गराउनु मेरो गल्ती हो? भनि प्रश्न गरेका हुन्।
केही समय अगाडि राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्डलाई संकेत गर्दै छोराछोरी आफन्तका नाममा पद माग्ने गरेको आरोप लाएका थिए।

‘छोराछोरीलाई अमेरिका, बेलायत पढ्नका लागि नपठाएर गणतन्त्रको आन्दोलनमा संलग्न गराउनु मेरो गल्ती हो? मैले आफैसँग जंगलमा बन्दुक बोक्न लिएर हिँडे, त्यो मेरो दोष हो? प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै अध्यक्ष प्रचण्डले भने, ‘मैले आफ्ना छोराछोरीलाई विशेष अधिकार खोजिनँ। जतिबेला गणतन्त्रको लडाइँ लड्दै थियौँ, त्यतिबेला मेरा छोरीहरु रोल्पाको जंगलमा बन्दुक लिएर हिँड्थे।’
अध्यक्ष प्रचण्डले छोराछोरी भएपछि बुहारी र ज्वाइँ हुने भन्दै धर्म छोराछोरी भन्दै कोचाउनु चाहिँ सही हो? भन्दै प्रश्न गरेका छन्। ‘छोराछोरी भएपछि बिहेबारी हुन्छ, बुहारी ज्वाइँ हुन्छन्। धर्म छोराछोरी भन्दै कोचाउने चाहिँ सही हो?’, उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूह देशैभर आन्दोलनमा उत्रिएको छ। बिहीबार बुटवलको विरोधसभा सकेर शुक्रबार विराटनगर पुगेका प्रचण्डले त्यहाँको विरोध सभालाई सम्बोधन गर्दै जरुरी प¥यो भने संसद बैठक बस्न सक्ने बताए।
उनले आफूहरु अदालतले संविधान र जनताको भावना अनुसार फैसला गर्छ भनेर बसेको बताए।
‘आदलतले संविधान र जनताको भावनाअनुसार फैसला गर्न भनेर बसेका छौँ हामी’, उनले भने, ‘म आज‘विराटनगरबाट भन्दैछु, जरुरी पर्याे भने देशैले सुने हुन्छ, संसदको बैठक बसेर केपी ओलीलाई कारबाही गर्छौं।’

उनले संविधानले आफूहरुलाई बैठक बस्ने अधिकार दिएको र प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकारी नभएको बताए। उनले सर्वोच्चले सही फैसला गर्छ भन्ने विश्वासका कारण आफूहरु अहिले बैठक नबसेको बताए।


प्रतिक्रिया