राजनीति


प्रदेश सांसदलाई ‘दीगो विकास र सुशासन’ सिकाउँदै संसदीय समिति

प्रदेश सांसदलाई ‘दीगो विकास र सुशासन’ सिकाउँदै संसदीय समिति

नेपालखबर
साउन २०, २०७६ सोमबार १३:२०,

संघीय संसदको दीगो विकास तथा सुशासन समितिले प्रदेश सभाका सांसदहरुसँग दीगो विकास र सुशासनसम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ।

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले दीगो विकास र सुशासनका लागि ठोस कार्ययोजना तय गरी कार्यान्वयनमा लैजाने उद्देश्यका साथ सबै प्रदेशका सांसदहरुसँग आगामी श्रावण ३१, ३२ र भाद्र १ गते नगरकोटमा प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।

दीगो विकास र सुशासनका लागि प्रदेशका सांसदहरुलाई पनि कार्ययोजना तय गर्न सघाउ पु-याउने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको समितिकी सचिव निर्मलादेवी लामिछानेले जानकारी दिइन्। सो कार्यक्रममा दीगो विकास र सुशासनको क्षेत्रका कार्यरत विज्ञहरुलाई सहभागी गराउने समितिको योजना छ।

बैठकले दीगो विकास लक्ष्य कार्यान्वयनका लागि राष्ट्रिय योजना आयोगका सचिव र महालेखा परीक्षकको कार्यालयका पदाधिकारीहरुसँग पनि छलफल गर्ने निर्णय गरेको छ। त्यसैगरी दीगो विकास तथा सुशासन सम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय भ्रमणमा समितिको सहभागिता सुनिश्चित गर्न सरकारलाई सचेत पनि गराइएको समितिकी सचिव लामिछानेले बताइन्।

बैठकमा समितिका सदस्यहरुले भ्रष्टाचार नियन्त्रणको कार्य योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सक्ने गरी प्रदेश सभाका सांसदहरुसँग सो प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिएका थिए। समितिका सदस्य दिनानाथ शर्माले मुलुकका भ्रष्टाचार नियन्त्रणका लागि सो प्रवद्र्धनात्मक कार्यक्रमले जोड दिनुपर्ने स्पष्ट पारे।

समितिकी अर्का सदस्य डा. बिमला पौड्यालले प्रदेश सांसदहरुसँगको सो प्रवद्र्धनात्मक कार्यक्रम मुलुकमा विद्यमान गरिबी हटाउन र जलवायु परिवर्तनका असरलाई न्यूनिकरण गर्न केन्द्रित हुनुपर्ने स्पष्ट पारे। उनले गरिबी हटाएर मात्रै मुलुकको दीगो विकासको आधार तय हुने भएकाले पनि समितिले यस्ता कार्यक्रमहरुलाई जोड दिनुपर्ने पनि बताइन्।

मुलुकमा दीगो विकास र सुशासन कायम गर्न सरकारलाई आवश्यक निर्देशन दिने संवैधानिक दायित्वसहित संघीय संसदले यो समिति गठन गरेको हो। समितिले सो संवैधानिक दायित्वलाई पूरा गर्न प्रदेश सभाका सांसदहरुसँग पनि प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्न लागेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad