राजनीति


‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास मंसिरमा’

‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास मंसिरमा’

नेपालखबर
साउन २०, २०७६ सोमबार १२:१९,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी मंसिरभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गरिने बताएका छन्। सोमबार निगमका उच्चपदाधिकारीहरुसँग भएको छलफल कार्यक्रममा उनले भने, ‘पछिल्लो समय विमानस्थलहरुको संख्या थप भएको छ। मंसिरसम्ममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुनेछ।’

सन् २०३० सम्म निर्माण सम्पन्न हुने गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम सरकारले अघि बढाएको छ। पहिलो चरणमा विमानस्थलले ९२ लाख हवाई यात्रुलाई सुविधा प्रदान गर्नेछ। दोस्रो चरण निर्माण सम्पन्न हुँदा ६ करोड यात्रु धान्नेछ।

१९ सय हेक्टरभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका आधारभूत संरचना बन्नेछन्।

छफल कार्यक्रममा बोल्दै मन्त्री भट्टराइले नेपाल वायुसेवा निगमले आफूसँग भएका जहाज पूर्ण उपयोग गरी कमाई बढाउन, जनशक्तिको पूर्ण सदुपयोग गर्न, राज्यले गरेको लगानीको प्रतिफल आउने गरी कार्ययोजना अघि बढाउन सल्लाह दिए।

‘विमान सञ्चालन गर्ने संस्थाले विमान थप्दै जानु आवश्यक हो तर विमान खरीद प्रक्रियालाई पूर्ण पारदर्शी बनाई बाहिर कुरा काट्ने स्थिति नआउने वातावरण बनाउनु पर्दछ’, निगमका उच्चपदाधिकारीहरुसँग भएको छलफलमा उनले भने।

मन्त्री भट्टराईले विगतमा दुर्गम क्षेत्रमा गरेको सेवा उल्लेखनीय रहेको स्मरण गर्दै आगामी दिनमा पनि समय सापेक्ष स्तरीय सेवा प्रदान गर्न सक्रिय रहनु पर्ने धारणा व्यक्त राखे। निगमलाई आन्तरिक समझदारीको जगमा सुदृढ बनाउन र योग्यलाई उचित काम सुम्पेर प्रतिफल लिन उनले सुझाव दिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्यले निगमको ऋण र पूँजीमा सन्तुलन आवश्यक रहेको भन्दै स्पष्ट व्यावसायिक योजना प्रस्तुत गर्न आग्रह गरे।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमले गरेका उपलब्धिबारे प्रकाश पार्दै अघिल्लो वर्ष ६ लाख ५० हजार यात्रु बोकेर अन्तर्राष्ट्रिय उडानमा सबैभन्दा बढी यात्रु बोक्न सफलता पाएको आँकडा पेश गरेका थिए। ८६ प्रतिशत सिट क्षमतामा उडान गरिएको उनले बताए।

निगमले सेवाको स्तर वृद्धि गर्नुका साथै सुरक्षालाई उच्च प्राथमिकतामा राखी अगाडि बढेको बताउँदै उनले पूँजी र ऋणबीच सन्तुलन हुनुपर्छ भन्ने अवधारणाले सरकारबाट रु.२० अर्बको लगानी खोजेको उल्लेख गरे। उड्डयन जस्तो संवेदनशील र तरल विषयमा आरोह अवरोह आउनु स्वाभाविक हो भन्नुहुँदै निगमको भविष्य उज्यालो रहेको उनले दाबी गरे।

आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुवास डाँगीले बढदो उड्डयन क्षेत्रलाई ध्यानमा राखी निगमका लागि एकमुष्ठ १५ वटा विमान किन्नुपर्ने बताउँदै क्षमतावान संस्था बनाउन सामुहिक प्रयास आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .