कारोबार


नयाँ जहाज ल्याएर पहाडमा पनि उडान विस्तार गर्दै बुद्ध एयर

नयाँ जहाज ल्याएर पहाडमा पनि उडान विस्तार गर्दै बुद्ध एयर

रमेश पाेख्रेल
साउन २०, २०७६ सोमबार १२:२२,

नेपाली आकाशमा लामो समयदेखि हवाइसेवा प्रदान गर्दै आएको निजी क्षेत्रको कम्पनी बुद्ध एयरले पहाडी क्षेत्रमा पनि सेवा विस्तार गर्ने भएको छ। बुद्ध एयरले अर्को वर्षदेखि नयाँ जहाजले नयाँ आन्तरिक गन्तव्यमा उडान भर्न लागेको हाे।

कम्पनीका बजार व्यवस्थापक रुपेश जोशीका अनुसार बुद्धले छिटोमा २०२० को मार्चभित्रै र ढिलोमा सेप्टेम्बरसम्ममा नयाँ जहाजहरु नेपाल आइपुगिसक्नेछ। जहाजको संख्या थप भएसँगै देशका प्रायः सबै उडान गन्तव्यमा बुद्धका विमानहरुले सेवा दिनेछन्। मुख्य गरी तीन क्षेत्रलाई आधार बनाएर पहाडी क्षेत्रमा उडान गर्ने कम्पनीको तयारी रहेको जोशीले नेपालखबरलाई जानकारी दिए।

उनले भने, ‘अहिले पहिलो चरणमा पाँचवटा जहाजहरु ल्याएर सेवा दिने तयारी छ। जसअन्तर्गत पहिलो चरणमा तीनवटा जहाज ल्याउँछौँ र केही समयभित्रै अरु थप्दै जाने तयारी गरेका छौँ।’ त्यसका लागि पाइलटहरुको व्यवस्था गर्ने तयारी भइरहेको उनले बताए। जोशीका अनुसार कम्पनीले संघीय राजधानी काठमाडौँ, पर्यटकीय ‘राजधानी’ पोखरा र मध्यपश्चिमको नेपालगञ्जलाई उडानको तीन मुख्य ‘बेस’ बनाउने र पहाडी क्षेत्रमा सेवा सञ्चालन गरिनेछ। कम्पनीले पहाडी क्षेत्रमा रहेका विमानस्थलमा उडान भर्नेछ।

अहिले कम्पनीले पाँच जना पाइलटलाई तयारी अवस्थामा राखिसकेको छ। काठमाडौँदेखि पूर्वमा लुक्ला, सुकेटार, लामीडाँडा, रुम्झाटार विमानस्थलमा काठमाडौंबाटै उडान गरिनेछ भने पोखरा देखि जोमसोम लगायत अन्य क्षेत्रमा र नेपालगंन्ज देखि जुम्ला हुम्ला कालिकोट सिमिकोट लगायत अन्य क्षेत्रमा जाने तयारी भइरहेको छ बुद्ध एयरका मार्के्टिङ म्यानेजर जोशीले बताए। कम्पनीका अनुसार नयाँ विमानहरु अमेरिकी कम्पनीसँग ल्याउन लागिएको छ। यसका लागि कम्पनीले जहाजबारे अध्ययन गरिरहेको जोशीको भनाइ छ। नयाँ जहाजको मूल्य करिब पाँचदेखि छ करोडसम्म पर्न आउने कम्पनीले जनाएको छ।

जोशीले भने, ‘हामीले पहिले नै नयाँ जहाज ल्याउने भने पनि पाइलटको अभावका कारणले रोकिएको थियो। अहिले पाइलटको संख्याअनुसार जहाज थप्दै जाने तयारी भइरहेको छ।’ उनले विस्तारै पाइलटको संख्या बढेसँगै जहाज पनि थप्दै जाने कम्पनीको योजना सुनाए। त्यस्तै बुद्धले भारतबाहेक अन्य देशमा पनि उडानको तयारी गरेको छ। पोखरा विमानस्थल सञ्चालनमा आएसँगै यस्तो उडान सुरु गर्ने कम्पनीको योजना छ। जोशीले भने, ‘अन्तर्राष्ट्रिय उडानका पहिलो गन्तव्य भारत र चीन हुनेछ। चीन उडान गर्ने भनिए पनि विमानस्थल स्लट पाउन समस्या रहेको छ। अहिले स्लटसहित अन्य कुराहरुको छलफल भइरहेको छ।’ 

कम्पनीले अहिले भारतको कलकत्ता, बनारसमा उडान गरिरहेको छ। छिट्टै गुवाहाटीमा पनि उडान गर्ने तयारी गरिरहेको छ। ‘गुवाहाटीका लागि स्लट पाइसकेका छौँ’, जोशीले भने, ‘अब छिट्टै गुवाहाटीका लागि उडान गर्ने तयारी भइरहेको छ।’ बुद्धले भारतीय राजधानी सहर नयाँ दिल्लीमा पनि पहिलेदेखि नै उडानको प्रयास गरेको थियो। तर त्यहाँस्थित विमानस्थलले स्लट नदिएको कारण उडान गर्न नसकेको कम्पनीले बताउँदै आएको छ।

अहिले कलकत्ता हप्तामा तीन दिन र बनारसमा हप्तामा दुई दिन कम्पनीका जहाजले उडान गर्दै आएका छन्। सोमबार, बुधबार र शुक्रबार नियमित कलकत्ता उडान गरेको बुद्धले बनारसमा सोमबार र शुक्रबार उडान गर्दै आएको छ। हाल कम्पनीसँग नौवटा एटीआर विमान रहेका छन्। ती विमानले काठमाडौं ‘बेस’ राखेर उडान गर्दै आएका छन्। यस्तै दुईवटा जहाजले विराटनगरलाई ‘बेस’ बनाई उडान भर्दै आएका छन्।

बुद्धका साना ठूला गरी १२ वटा जहाज सञ्चालनमा रहेका छन्। बुद्धसँग ७२ सिटका एटीआर विमान ७ वटा, ४७ सिटका ३ वटा र १८ सिटका २ वटा जहाज सञ्चालनमा छन्। कम्पनीसँग ७ वटा एटीआर ७२–५००, ३ वटा एटीआर ४२–३२० र २ वटा विचक्राफ्ट १९००डी विमान रहेका छन्।

कम्पनीका जहाजले भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज, भरतपुर, पोखरालगायत आठवटा आन्तरिक गन्तब्यमा उडान गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad