मार्क्सवादी सांस्कृतिक मोर्चा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमलाई ‘आफ्नो शासन लम्ब्याउने र संसदीय संकटको पश्चगामी समाधान खोज्ने अभ्यास’ भन्दै भत्र्सना गरेको छ।
मोर्चाका संयोजक इस्माली र सचिव संगीतद्वारा जारी वक्तव्यमा संसद् विघटनको घटनालाई ‘जनयुद्ध र जनआन्दोलनका आंशिक उपलब्धिका रूपमा स्थापित जनअधिकार र स्वतन्त्रता खोस्ने प्रपञ्च’ भनिएको छ।
मोर्चाले संसद् पुनस्थापनाबाट मात्रै आजको संकटको समाधान नहुने भन्दै अग्रगामी विकल्पका लागि संघर्ष गर्न सम्पूर्ण स्रष्टाहरूलाई आह्वान गरेको छ।
‘यथास्थितिकै पुनरावृत्तिले नेपाली समाजको आजको अन्तरविरोध तथा नेपाली जनताले भोगिरहेका आजका समस्याको समाधान गर्न सक्दैन भन्ने कुरा स्पष्ट छ,’ वक्तव्यमा भनिएको छ, ‘वर्तमान फासीवादी चरित्रको पुँजीवादी संसदीय व्यवस्थाको विकल्पका रूपमा संघीय जनगणतन्त्र तथा वैज्ञानिक समाजवादको निर्माणबाट मात्र यो सम्भव छ।’
अग्रगामी शक्तिहरूमाथि सरकारले निषेध, प्रतिबन्ध, दमनजस्ता अस्त्र प्रयोग गरेको भन्दै मोर्चाले विरोध जनाएको छ। मोर्चाले सांस्कृतिक प्रतिरोधसँगै सम्पूर्ण अग्रगामी शक्तिहरूको एकताबद्ध पहल र संघर्षको आवश्यकता पनि औंल्याएको छ।
‘वर्तमान सरकारको प्रतिगामी कदमको प्रतिरोध गर्न र नयाँ जनवादीरवैज्ञानिक समाजवादी विकल्प निर्माणको यात्रामा मोर्चाबद्ध हुन सम्पूर्ण प्रगतिशील, लोकतान्त्रिक र अग्रगमनका पक्षधर संस्कृतिकर्मी, लेखक–बौद्धिक तथा पेसाकर्मीहरूमा मार्क्सवादी सांस्कृतिक मोर्चा, नेपाल हार्दिक अपिल गर्दछ’, वक्तव्यमा भनिएको छ।
हेर्नुहोस् वक्तव्य


प्रतिक्रिया