जनता समाजवादी पार्टी नेपाल (जसपा)का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले कोरोना महामारीले मुलुकका हरेक क्षेत्र आक्रान्त परेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मुलुकलाई अस्थिरतातर्फ धकेलेको बताएका छन्।
शनिबार रुपन्देहीको भैरहवामा पार्टीले आयोजना गरेको संसद विघटनविरुद्धको सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले प्रधानमन्त्रीको कदमले मुलुकमा राजनैतिक र कानूनी संकट निम्तिएको बताए।
‘प्रदेश सरकारहरु विरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता गर्ने काम भइरहेको छ। मुलुकका हरेक क्षेत्रमा कम्युनिस्ट सरकारले संकट पैदा गरेको छ। यसले मुलुक कता जाँदैछ भन्ने संकेत गरेको छ’, ठाकुरले भने।
अध्यक्ष ठाकुरले मधेश र मधेशी जनतालाई उपेक्षा गरेर बनाइएको संविधानमै त्रुटी रहेको जनाउँदै संविधान संशोधन र संसद पुनस्र्थापना आफूहरुको माग रहेको बताए।
‘संविधान बनाउँदा नै सत्ताधारीले छलकपट गरेर बनाए, संविधान संशोधन गर भन्दा मधेशी जनतामाथि गोली प्रहार गरे’, उनले भने, ‘जवरजस्त बनाइएको संविधानमाथि अहिले ओली आफैले उल्लंघन गर्दैछन।’
संसद विघटनपछि अहिले सबै क्षेत्रमा के हुन्छ र कसो हुन्छ भन्ने संन्त्रास छाएकाले यसको समाधान गर्न आफूहरुले जस्तोसुकै संघर्ष गर्न तयार रहेको उनको भनाई छ।
जसपाका केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्र राय यादवले कम्युनिस्ट र कांग्रेसबाट मुलुक चल्न नसक्ने जिकिर गरे।
‘कम्युनिस्टहरु भ्रष्ट भए, कांग्रेस यथास्थितिवादी शक्ति हो, यस्ताबाट मुलुक चल्दैन भन्ने प्रष्ट भयो’, उनले भने।
संसद विघटन गरेर ओली सरकारले मुलुकमा संवैधानिक संकट र राजनीतिक अस्थिरता ल्याएको उनले जनाए। यादवले संसद विघटनविरुद्ध सर्वोच्चमा मुद्दा विचारधीन रहेको र सर्वोच्चको फैसला आफूहरुलाई मान्य हुने भए पनि पूर्ण इजालास माग गर्दा पनि गठन नहुँदा आशंका पैदा भएको जनाए।
ओलीले प्रतिनिधि सभा विघटन गरेपछि अहिले प्रदेश सभा पनि विघटन गर्ने भन्ने सुन्नमा आएको र त्यसो गरिए मुलुकमा आगो बल्ने यादवले बताए। प्रदेश पनि विघटन गरियो भने मुलुक कहिल्यै स्थिरतातर्फ नजाने उनको भनाई छ। समाजवादीका नेताहरुले कम्युनिस्टलाई जनताले विश्वास गरेर मत दिए पनि ३ वर्षमै त्यसको अबमूल्यन गरेको आरोप लगाएका थिए।
केन्द्रीय सदस्य शर्वेन्द्रनाथ शुक्लाले आफूहरुबीच सत्ता र भ्रष्टाचारको भाग नमिल्दा प्रधानमन्त्रीले संसद विघटन गरेको आरोप लगाए।
उनले भने, ‘आन्तरिक भागबन्डा नमिल्दा मुलुकलाई नै संकटमा पारियो, देशलाई अन्योल र अस्थिरतातर्फ धकेलियो।’

प्रतिक्रिया