नेपाली कांग्रेसले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने भन्दै तत्काल संसद बैठक राख्न माग गरेको छ।
आज बसेको संसदीय कार्यसमितिको बैठकले तत्काल अध्यादेश फिर्ता गर्न माग गर्दै संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको कांग्रेसकी सांसद पुष्पा भुसालले जानकारी दिइन।
‘सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश असंवैधानिक छ त्यो फिर्ता लिएर तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेका छौं,’ बैठकपछि भुसालले नेपालखबरसँग भनिन्।
यसका साथै कांग्रेसले उखु किसानको भुक्तानी दिन बाँकी रहेको रकम तत्काल भुक्तानी व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ।
कोरोनाको परीक्षण र उपचारमा सरकारले प्रभावकारी काम नगरेको भन्दै तीव्र रुपमा परीक्षणको दायरा बढाई उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको उनले बताईन्।
त्यसका साथै संसदलाई प्रभावकारी बनाउन कांग्रेसका सांसदहरु थप सक्रियताका साथ लाग्नुपर्ने विषयमा पनि छलफल भएको छ।
प्रतिक्रिया