राजनीति


प्रचण्डले स्थायी समितिमा दर्शाएका तीन चिन्ता

प्रचण्डले स्थायी समितिमा दर्शाएका तीन चिन्ता

सागर न्यौपाने
मंसिर २१, २०७७ आइतबार १७:५८,

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको विवादका कारण महत्वपूर्ण तीन राजनीतिक उपलब्धीमा समेत खतरा उत्पन्न हुनसक्ने बताएका छन्।

त्यसैले गर्दा ती तीन विषय जोगाउनकै लागि पनि पार्टीभित्रको बहस निर्णायक मोडतिर गएको उनको भनाइ छ।

प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, संविधानले निर्दिष्ट गरेको समाजवादको यात्रालाई बीचमै नरोक्ने र पार्टी एकता जोगाउने विषयमै सहमति नजुट्दा पार्टीभित्र तीव्र विवाद भएको उनको दाबी छ।

प्रचण्डले आइतबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको स्थायी समितिको बैठकलाई सम्बोधन गर्दै यी धारणा राखेका हुन्।

डेढ घण्टाभन्दा बढी समय बोलेका प्रचण्डले सुरुमा आफूले कात्तिक २८ गते १९ पृष्ठको राजनीतिक प्रस्ताव ल्याउनु पर्नाको कारण व्याख्या गरेका थिए।

‘तपाईहरुले बाहिर प्रचण्डबाट प्रतिवेदन आयाे रे भन्ने मात्र सुन्नुभयो, पढ्नुभयो, तर धेरै लामो रस्साकस्सीपछि मात्र हामीले यो ल्याएका हौँ,’ बैठकमा प्रचण्डले राखेको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘पाँच जना नेताले मौखिक र लिखित रुपमा पटक पटक कमिटीका बैठक गर्न भनी राखेको प्रस्तावलाई प्रधानमन्त्री केपी ओलीजीले मान्दै मान्नुभएन, यतिसम्मकी सचिवालय समेत बस्न मान्नु भएन, बैठक राख्न खोज्यो निहुँमात्र खोज्न थाल्नुभयो।’

उनले बैठक राखे मान्दिन एक्सनमा गए महाएक्सनमा जान्छु भन्ने जस्ता अप्ठेरो कुरा गरेर धम्क्याउन थालेको बताएका थिए।

‘कम्युनिष्ट पार्टीभित्र कमिटी प्रणालीलाई अस्वीकार गर्ने उहाँको शैलीले सीमा नाघ्यो भनी अब यो सबै विषयलाई कमिटीमै छलफल गर्नुपर्ने आवश्यकता देखेर पाँचै जनाले सल्लाह गरेर प्रतिवेदन ल्याएका हौं,’ प्रचण्डको भनाइ थियो।

ओलीकै कारण प्रतिवेदन ल्याउनु परेको प्रचण्डको जिकिर थियो।

‘फायर त पहिला उहाँले खोल्नुभयो, एट्याक गर्नुभयो, हामीले लिखित रुपमा बैठक माग गर्दा १० पेजको पत्र लेखेर सार्वजनिक गराउनुभयो अनि हामीले अब व्यवस्थित रुपमा जानुपर्यो र आन्तरिक संघर्ष चर्काएर पार्टीलाई सही दिशा दिनुपर्यो भनेर प्रस्ताव नै तयार पारेका हौं,’ प्रचण्डले प्रष्ट्याए।

सचिवालयका बहुमत सदस्यका तर्फबाट आफूले ल्याएको १९ पृष्ठको प्रतिवेदनको जवाफमा प्रधानमन्त्री ओलीले ३८ पृष्ठको दोब्बर लामो दस्तावेज पेस गरिसकेको हुँदा आफूहरुको प्रस्ताव फिर्ता नहुने भनी प्रचण्डले प्रष्ट पारेका थिए।

‘प्रस्ताव खारेज गरेर जाने अवस्था अब छैन किनभने उहाँले पनि जवाफ दिइसक्नुभएको छ,’ प्रचण्डले भनेका थिए, ‘अब सबै कमिटीमा छलफल गरेपछि मात्रै के गर्ने भन्ने टुंगो लाग्छ, पहिला छलफल अनि अर्काे छुट्टै दस्तावेज बनाउने हो भने पनि त्यसपछि मात्रै हुन्छ। कसको प्रतिवेदन ठीक र बेठीक कमिटीले निर्णय गर्छ।’

त्यसपछि प्रचण्डले देशको पछिल्लो अवस्था, सरकार सञ्चालन, कोरोना महामारीले उत्पन्न गरेको विषयमा धारणा राखेका थिए।

सरकार सञ्चालन सोचेजस्तो नभएको, जनताका अपेक्षा पूरा गर्न नसकिएको र कोरोना महामारीका बेला जनताले राहत पाउन नसकेको भन्दै ती विषयमा गम्भीर भएर सबै लाग्नुपर्ने उनले बताएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएको सो बैठकमा बोलेका प्रचण्डले संघीयता र लोकतन्त्रमाथि आइपर्न सक्ने खतराको प्रसङ्ग निकालेका थिए।

अहिले ध्यान दिनुपर्ने सबैभन्दा ठूलो चिन्ताको विषय संघीय लोकतात्रिक गणतन्त्र भएकाे तर त्यसाे हुन नसकेकाे उनकाे ठहर थियाे।

‘अहिले त्यसमा थुप्रै समस्या देखिन थालेका छन्। बाहिर हेर्यौं भने त्यसमा थुप्रै प्रश्नहरु उठ्न थालेका छन्। यो किन भयो, हामीले हजारौंको बलिदानबाट ल्याएको गणतन्त्रमाथि सडकमा कसले मानिस उतारिरहेको छ?’ प्रचण्डको भनाइ थियो, ‘यसमा हामी चनाखो भएनौं।’

ठूलो बलिदानबाट प्राप्त गणतन्त्र र यसका उपलब्धिको रक्षाका लागि दृढतापूर्वक लाग्नुपर्ने र त्यसो गरेको खण्डमा संघीय लोकतान्त्रिक गणतन्त्र कुनै हालतमा समाप्त नहुने उनले बताए।

पार्टी एकताका विषयमा कुनै समस्या नभए पनि कमिटीका निर्णय कार्यान्वयन नगरेका कारण समस्या बल्झिएको प्रचण्डले बताए।

पार्टीका निर्णय कार्यान्वयन र एकता कायम राख्ने विषय नै अहिलेको चिन्ताको विषय भएको उनले बताए।

‘त्यसका लागि पद त्याग गर्न सबै तयार रहनुपर्छ। अध्यक्ष प्रधानमन्त्री बन्ने कुरा गौण विषय हुन्,’ उनले भनेका थिए, ‘अध्यक्षहरु बदलिन सक्छन्। प्रधानमन्त्री बदलिन सक्छन्। आउन सक्छन्। जान सक्छन्। यो सामान्य प्रक्रिया हो तर, एकता जोगाउन गरिने आन्दोलन रोकिदैन।’

अब सरकार र पार्टीका कामलाई कसरी व्यवस्थित बनाउने भन्नेबारे सहि निष्कर्षमा पुग्नैपर्ने प्रचण्डको भनाइ थियो।

स्थायी समितिका सदस्यले कसरी लिए बैठकलाई
स्थायी समिति सदस्य युवराज ज्ञवालीले बैठक विधिवत् रुपमा अघि बढिसकेको भन्दै अब एउटै पाइलट (अध्यक्ष) ले पनि जहाज उडाउने (पार्टी सञ्चालन गर्ने)अवस्थामा पुगेको बताए।

‘कमिटीमा विधिवित् रुपले छलफल सुरु भयो र अब त्यसले निर्णय पनि गर्छ। अध्यक्ष ओली आए पनि नआए पनि र कसैलाई प्रिय वा अप्रिय जे लागे पनि बैठकको विवेकले एउटा निर्णय हुन्छ,’ उनले भने, ‘एउटा मात्र पाइलट बसेर पनि प्लेन स्टार्ट भयो। एक हप्तामा उहाँ (ओलीजी) लाई ल्याउन होल्ड मात्र भएको छ। प्लेन उड्छ। सबै प्यासेन्जर (नेताहरु) प्लेनमा बस्नुभयो, ओलीजी नआए एक्लै छुट्नुहुन्छ।’

अझै केही समय पर्खने तर नआएमा एउटा पाइलटले प्लेन उडाउने उनको तर्क छ।

स्थायी समिति सदस्य हरिबोल गजुरेलले भने आजको स्थायी समितिको बैठकले एकताको आधार तयार पारेको बताए।

‘समस्याको हल त भइसकेको छैन,’ गजुरेलले भने, ‘स्थायी समितिको बैठकले एकताको नयाँ प्रस्ताव ल्याउन सक्छ त्यसैले अब पार्टी एकतातिर गयो।’
अध्यक्ष ओलीले पनि बैठकलाई स्वीकार गरेको गजुरेलको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .