राजनीति


ओली अनुपस्थित नेकपा स्थायी कमिटी बैठकमा के–के भए? दुई पक्षका आआफ्नै व्याख्या

ओली अनुपस्थित नेकपा स्थायी कमिटी बैठकमा के–के भए? दुई पक्षका आआफ्नै व्याख्या

मणि दाहाल
मंसिर २१, २०७७ आइतबार १७:४,

आइतबार बसेको स्थायी समिति बैठक र त्यसले गरेका निर्णयबारे सत्तारुढ नेकपाका दुई पक्षले फरक-फरक व्याख्या गरेका छन्।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेकाे प्रस्तावमा छलफल हुन नसक्ने भएकाले फिर्ता हुनुपर्ने अडान प्रधानमन्त्री केपी शर्मा ओलीकाे छ। तर, सचिवालयको बैठकले दुवै प्रस्ताव स्थायी कमिटीमा पेस गर्ने निर्णय गरिसकेकाे छ।

आइतबार पनि प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावमा छलफल हुने भएकाले स्थायी कमिटी बैठकमा आफू उपस्थित नहुने पत्र पठाएका थिए। जुन पत्रमा ओलीले स्थायी कमिटीका सदस्यलाई आफ्नो विवेक प्रयोग गर्नसमेत आग्रह गरेका छन्। ओलीको पत्र सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले बैठकमा वाचन गरेका थिए। ओलीबाहेक उनी पक्षका सबै सदस्य बैठकमा सहभागी भएका थिए।

ओलीको पत्र पढेर सुनाएलगत्तै प्रचण्डले पार्टीमा पछिल्लो संकट प्रधानमन्त्री ओलीका कारण कसरी आयो भनेर पृष्ठभूमिसहित लामो व्याख्या गरेका थिए।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी कमिटीको बैठकमा पार्टीभित्र देखिएको संकट एक मात्रै एजेन्डा बनेको छ। त्यसैगरी एक सातापछि अर्थात् मंसिर २८ गते स्थायी कमिटीको अर्को बैठक बस्ने र मंसिर २५ गतेका लागि तोकिएको केन्द्रीय कमिटीको बैठक पुस ५ गतेका लागि सारिएको छ। बैठकमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच आदानप्रदान भएका पत्र र दुवैले प्रस्तुत गरेका प्रस्ताव पनि सदस्यहरुले औपचारिक रुपमा प्राप्त गरेका छन्।

बैठकपछि ओली पक्षले प्रचण्डको प्रतिवेदन बैठकको एजेन्डा नबनेको दाबी गरेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका स्थायी कमिटीका सदस्य पृथ्वीसुब्बा गुरुङले ओली असहमत विषय एजेन्डा बने बैठककाे वैधानिकतामै प्रश्न उठ्ने दाबी गरे।

‘हाम्रो विधानमा दुई अध्यक्षबीच सहमति भएका विषयमा मात्र एजेन्डा तय हुने र त्यसलाई महासचिवले प्रस्तुत गर्ने व्यवस्था छ। ओलीको मात्र होइन, प्रचण्डको सहमति प्राप्त नगरी आउने एजेन्डाको पनि वैधानिकतामा प्रश्न उठ्छ,’ गुरुङले नेपालखबरसँग भने, ‘तर, बैठकमा पनि प्रधानमन्त्रीले भन्नुभएजस्तै आरोपपत्र एजेन्डा बनेन। त्यसको सट्टा संकटको विषय एजेन्डा बनेको छ। यसले संकट सकारात्मक दिशामा जाने संकेत गरेको छ।’

तर, प्रचण्ड-माधव नेपाल खेमाको व्याख्या अलग छ। स्थायी कमिटीका सदस्य युवराज ज्ञवालीले दुवै प्रतिवेदन बैठकको एजेन्डा बनिसकेको बताए। उनले बैठकमा आउन ढिला ‘एक जना पाइलट छुट्न सक्ने’ चेतावनी पनि दिए।

‘पार्टीमा देखिएका सबै संकट एजेन्डा बनेर आइसक्याे। दुवै अध्यक्षले लेखेका पत्र र प्रस्ताव मात्रै नभएर संकटका सबै विषय एजेन्डा बनेको छ,’ ज्ञवालीले भने, ‘अहिले प्लेन स्टार्ट भइसक्यो, आउनुपर्ने जति प्लेनमा आइसके। एक जना पाइलटलाई केही समय कुरौँ भनेर प्लेनलाई केही ढिला गरिएको हो। प्लेन अब धेरै बेर कुर्न सक्दैन। उड्यो भने एक जना पाइलट छुट्नुहुन्छ।’

आइतबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै स्थायी कमिटीका सदस्य भीम रावलले प्रधानमन्त्री ओलीले भौतिक रुपमा नभए पनि पत्रमार्फत बैठकमा उपस्थिति जनाएकाे बताएका थिए।

आइतबार बसेको स्थायी कमिटीको बैठकले सहमित जुटाउन औपचारिक र अनौपचारिक छलफलका लागि एक साता बैठक स्थगित गर्ने सहमति गरेको छ।

बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटीका सदस्य शंकर पोखरेलले अध्यक्षद्वयका प्रस्ताव सन्दर्भ सामग्री मात्रै हुन सक्ने बताएका थिए।

तर, ती प्रस्ताव औपचारिक रुपमै बैठकको एजेन्डा बनिसकेको ज्ञवाली बताउँछन्।

‘पार्टी सचिवालयको बैठकमा प्रस्तुत प्रस्ताव पार्टी नेता र सदस्यले मात्रै नभएर नेकपाप्रति चासो राख्ने संसारभरका मानिसले पढेका छन्,’ ज्ञवालीले भने, ‘यो बन्दुकबाट निस्केको गोलीजस्तो हो। फिर्ता गरेँ भनेर हुने कुरा होइन। सबै सदस्यले यो प्राप्त गर्नुभएको छ। यसमा छलफल हुन्छ। प्रचण्डले ल्याउनुभएको प्रस्ताव सचिवालयका पाँच सदस्यको प्रस्ताव हो। सबैले यो कुरा औपचारिक रुपमा स्वीकार गर्नुभएको छ।’

आइतबारको बैठकमा केन्द्रीय कमिटीको मिति तोकेर जाने कि नजाने भन्ने विषयमा समेत मत बाझिएको थियो। महासचिव विष्णु पौडेल, शंकर पोखरेल र सुवास नेम्वाङले बैठकको मिति तोक्न नहुने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .