राजनीति


कसैको निहित स्वार्थका लागि सरकार परिवर्तन हुँदैन : सञ्चारमन्त्री गुरुङ

कसैको निहित स्वार्थका लागि सरकार परिवर्तन हुँदैन : सञ्चारमन्त्री गुरुङ

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार १३:४५,

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको नेतृत्व परिवर्तन हुनै नसक्ने बताएका छन्।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले कुनै व्यक्ति वा समूहको निहित स्वार्थका लागि सरकारको नेतृत्व परिवर्तन हुनै नसक्ने तर्क गरे।

विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति, दोलखाद्धारा प्रकाशित पुस्तक ‘दोलखाली सर्जक पुस्तक समिक्षा’ को बिहीबार काठमाडौंमा विमोचन गर्दै उनले राजनीतिक स्थिरता कायम गरी मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय संकल्पलाई पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले इमान्दारिताका साथ काम गरिरहेको स्पष्ट पारे।

‘कुनै व्यक्ति वा समूहको स्वार्थका लागि सरकारको नेतृत्व परिवर्तन हुनै सक्दैन,’ मन्त्री गुरुङले भने, ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्न प्रधानमन्त्री ओलीको विकल्प छैन।’

मन्त्री गुरुङले सरकारको नेतृत्वबाहेक मन्त्रिपरिषद हेरफेरका लागि आफूहरु मन्त्री पद त्याग गर्न तयार रहेको बताए।

उनले भने, ‘हामी मन्त्रीहरु परिवर्तन हुन तयार छौँ, तर सत्ता र शक्तिकै लागि सरकारको नेतृत्व परिवर्तन हुँदैन।’

मन्त्री गुरुङले कोरोना महामारी जस्तो सङ्कटको समयमा सरकारको नेतृत्व गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद हुनु दुःखद भएको बताए।

उनले भने, ‘सरकारले जनताको भावना अनुसार जनता, राष्ट्र र राष्ट्रियताको पक्षमा काम गरिरहेको छ, यो बेलामा सकारात्मक सोचका साथ सरकारलाई सहयोग गर्न आग्रह गर्दछु।’

मन्त्री गुरुङले दोलखा जिल्लामा रहेको ‘दोलखा फिल्मी सिटी’को संस्थागत विकासमा सरकार लागि पर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आफू देश र जनताको हितमा समर्पित भएर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले दोलखा साहित्य समृद्धिको लागि अनुपम थलो भएको बताउँदै त्यसलाई थप उचाईमा पु-याउन सरकारसँग आग्रह गरे।

कार्यक्रममा मन्त्री गुरुङले साहित्यकार एम.बी. खड्काद्धारा लिखित ‘डाँडाको लाँकुरी’ नामक कविता सङ्ग्रहको पनि बिमोचन गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad