नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा पूर्वएमाले र पूर्वमाओवादीबीच स्कुल विभागबारेमा सहमति नजुटेपछि अध्यक्ष मातहतमै राख्ने सहमति भएको छ।
पूर्व एमाले र पूर्व माओवादी दुवै पक्षले स्कुल विभागमा दाबी नछाडेपछि अध्यक्ष मातहतमै राख्ने सहमति भएको हो। अध्यक्ष पुष्कमल दाहालसँग भेटवार्ता गर्न सोमबार खुमलटार पुगेका नेकपाका नेताहरुलाई उनले स्कुल विभाग अध्यक्ष मातहतमा राख्ने सहमति भएको जानकारी दिएका हुन्।
‘स्कूल विभाग हाललाई अध्यक्ष मातहात राखेर जाने भन्ने विषया सहमति भएको अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो’, नेकपाका एक नेताले नाम उल्लेख नगर्ने सर्तमा नेपालखबरसँग भने, ‘अब त्यही नै अन्तिम निर्णय हुन सक्छ।’
स्कुल विभागको प्रमुखमा को हुने भन्ने विषयमा सहमति जुट्न नसक्दा विभागीय प्रमुखहरुको जिम्मेबारी बाँडफाँट अवरुद्ध छ। यसै कारण गृहकार्य नपुगेको भन्दै नेताहरुले पटक पटक सचिवालय बैठकलाई सार्दै आएका छन्।
सोमबार अपरान्ह तीन बजेका लागि सचिवालयको बैठक बोलाइएको छ। स्कूल विभागमा पूर्व माओवादीबाट नारायणकाजी श्रेष्ठ तथा पूर्व एमालेबाट ईश्वर पोखरेल आकांक्षी देखिएका थिए।
पूर्व एमालेका घनश्याम भुसाल र बेदुराम भुसालले पनि सो विभागमा दाबी गरेपछि स्थिति पेचिलो भएको थियो।
नेकपाभित्र स्कुल विभागको विषयमा पूर्व एमाले दुई भागमा विभाजित रहेको छ। पूर्वमाओवादीले खेमा आफूले सो विभाग पाउनुपर्ने बताउँदै आएको छ। अध्यक्ष केपी शर्मा ओलीसहितका केही नेता पोखरेलको पक्षमा छन्। माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमका श्रेष्ठको पक्षमा सकारात्मक रहेका छन्।
यसअघि दुई अध्यक्षबीच स्कूल विभागमा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई लैजाने सहमति भएको थियो। खनाल त्यसमा सकारात्मक देखिएका थिए। तर पार्टीभित्र दुई ध्रुवमा विभाजित अन्य आकांक्षी मत्थर पार्न नसक्ने अवस्था देखिएपछि अध्यक्षले नै राख्ने स्थिति बनेको हो।
विभागबारे निर्णय गर्नुअघि नेकपा सचिवालयमा प्रतिनिधित्व गर्ने पूर्व एमाले नेताहरुसँग अध्यक्ष ओलीले सोमबार बिहान छुट्टै बैठक गरेका छन्। पूर्व माओवादीको छुट्टै बैठक अध्यक्ष दाहाल निवास खुमलटारमा भएको छ।
२०७१ सालमा तत्कालीन नेकपा एमालेको ९ औं महाधिवेशनपछि स्कुल विभाग प्रमुख को बन्ने भन्ने विषय पेचिलो बनेको थियो। तत्कालीन एमाले उपमहासचिव घनश्याम भुसालले स्कूल विभाग आफूले पाउनु पर्ने दाबी गरेका थिए। त्यतिबेला एमालेका अर्का स्थायी कमिटी सदस्य शंकर पोखरेलले पनि सो विभाग आफूले पाउनु पर्ने दाबी गरेका थिए।
जिम्मेवारी बाँडफाँटको समयमा अध्यक्ष केपी शर्मा ओलीले सो विभाग आफैँसँग राखेर पछि पोखरेललाई उपप्रमुख बनाएका थिए। महाधिवेशनमा ओली र भुसाल फरक–फरक प्यानलबाट प्रतिस्पर्धा गरेका थिए।
नेकपाका ३२ विभाग छन्। पूर्वएमालेको भागमा १८ र पूर्वमाओवादीले १४ विभाग पाउने दुई अध्यक्षबीच सहमति बनेको छ।

प्रतिक्रिया