नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक समापन भएको छ।
आइतबारदेखि जंगी अड्डामा सञ्चालन तीन दिवसीय ‘पृतनापति समन्वयात्मक बैठक’ आज समापन भएको सेनाले जनाएको छ।
बैठकको क्रममा जंगी अड्डाका विभिन्न महानिर्देशनालय, निर्देशनालय, विभाग र कार्यालयबाट आ–आफ्नो विभागको जिम्मेवारी सम्बन्धी विषयहरुको कार्य प्रगतिको समिक्षा गरिएको थियो।
साथै भर्चुअल सहभागी पृतनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थिति र कोभिड–१९ बाट सिर्जित अवस्था तथा त्यसबाट आईपर्न सक्ने सुरक्षा चुनौतीहरु एवं लिनुपर्ने कार्यनीतिहरु सम्बन्धमा सुझावहरु सहितको प्रस्तुतिकरण गरेका थिए।
प्रधानसेनापति पूर्णचन्द्र थापाले समन्वयात्मक बैठकको समापन गर्दै सम्मेलनमा भएको प्रस्तुतिकरण र छलफलबाट निस्किएका निचोडहरुले भविष्यको लागि महत्वपुर्ण मार्गदर्शन गर्ने विश्वास व्यक्त गरेका थिए।
उनले उक्त अवसरमा नेपाली सेनाको कार्यशैलीमा आएको सकारात्मक परिवर्तनले संगठनलाई पद्धति र प्रणालिमा आधारीत बनाउन थप बल पुर्याएको टिप्पणी गर्दै वर्तमान प्रवृत्तिको विश्लेषण र जाडो मौसमका कारण पनि कोभिड–१९ को महामारी बढ्दै जाने पुर्वानुमान अनुसार सबै पृतनाहरुले सम्बन्धित सरोकारवाला निकायहरुसँगको निरन्तर समन्वयमा आवश्यक पूर्वतयारी गर्नको लागि निर्देशन दिएका थिए।
उनले यस महामारीको समयमा आफ्नो फौज र तिनका परिवारहरुको स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्याउन, संक्रमण भइहालेमा उचित उपचारको व्यवस्था मिलाउन र तिनको हौसला कायम राख्न तथा राख्न लगाउन समेत सबैलाइ निर्देशीत गरेका थिए।

प्रतिक्रिया