राजनीति


नरवणेको भ्रमणले नेपाल–भारत गतिरोधमा ‘आइसब्रेक’ होला?

नरवणेको भ्रमणले नेपाल–भारत गतिरोधमा ‘आइसब्रेक’ होला?

मणि दाहाल
असोज २८, २०७७ बुधबार १६:२३,

नेपालबारे आपत्तिजनक अभिव्यक्ति दिएका भारतीय स्थल सेनाप्रमुख मनोज मुकुन्द नरवणे नेपाली सेनाको मानार्थ महारथीको सम्मान लिन कात्तिक तेस्रो साता काठमाडौं आउने भएका छन्।

नेपाल सरकारले गत माघमै नरवणेलाई मानार्थ महारथीको सम्मान दिने निर्णय गरे पनि कोरोना संकट र नेपाल–भारत सम्बन्ध चिसिएपछि उनको भ्रमण रोकिएको थियो।

गत जेठमा नेपालको अतिक्रमित भूभागमा भारतले गरेको सडक उद्घाटनको नेपालले विरोध गरेको थियो। त्यसबेला नरवणेले नेपालले चीनको इसारामा भारतको विरोध गरेको टिप्पणी गरेका थिए। जसको नेपाल र भारत दुवैतर्फ विरोध भएको थियो। मानार्थ महारथीको प्रचलन हटाउनुपर्ने आवाज समेत जनस्तरमा उठेको थियो।

नरवणेको नेपाल भ्रमण परम्परागत भएपनि त्यसले दुई देशको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्लेषकहरुले बताएका छन्। कतिपयले यसलाई चीनसँग तनाव बढिरहेको बेला भारतले छिमेकीहरुसँगको सम्बन्ध सुधारका लागि गरेको सैन्य कुटनीतिक प्रयासका रुपमा पनि अर्थ्याएका छन्।

नेपाली सेनाका अवकाशप्राप्त रथी नेपालभूषण चन्दले नरवणेको भ्रमणले नेपाल र भारतबीच देखिएको गतिरोधलाई ‘आइसब्रेक’ गर्नसक्ने बताए।

‘नेपाल र भारतबीचको सैन्य सम्बन्ध निकै राम्रो हो। दुई देशबीच बेलाबेलामा देखापर्ने समस्या समाधान गर्नका लागि दुवै पक्षले भूमिका पनि खेल्ने गरेका छन्,’ चन्दले भने, ‘अहिले नेपाल भारतको सम्बन्धमा जुन प्रकारको गतिरोध उत्पन्न भएको छ, त्यसलाई आइसब्रेक गर्न सक्छ यो भ्रमणले। पछिल्लो नाकाबन्दीको समयमा पनि दुवै देशका सेनाहरुबीच भएको पहलको विषय सञ्चार माध्यममै आएका हुन्।’

चन्दले राजनीतिक, आर्थिक, सामाजिक र सैन्य विषयलाई राज्यले आफ्नो आवश्यकतानुसार अर्को देशसँगको सम्बन्ध सुधार्न प्रयोग गर्न सक्ने बताए।

नेपालले २०७२ सालमा संविधान जारी गरेपछि असन्तुष्ट बनेको भारतले नेपालमाथि अघोषित नाकाबन्दी गरेको थियो। त्यसको समाधानका लागि दुवै देशका सेनाको तत्कालीन नेतृत्वले भूमिका खेलेको बताइएको थियो। नाकाबन्दीपछि दुवै देशबीचको सम्बन्ध सुधारका लागि प्रयास भएपनि त्यसले सार्थकता पाउन भने सकेको छैन।

सैन्य मामिलाका जानकार सत्तारुढ नेकपाका सांसद डा. दीपकप्रकाश भट्टले कोभिड–१९ को कारण देखाउँदै भारतले द्विपक्षीय भ्रमण र संवाद टार्दै आएको सन्दर्भमा नरवणेको भ्रमण छलफल सुरु गर्ने आधार हुनसक्ने बताए।

‘अहिलेको भ्रमण परम्पराको निरन्तरता हो। नेपाल भारतको सम्बन्धमा कम चर्चा हुने तर सम्बन्धको हिसाबले महत्वपूर्ण भूमिकामा छ सेनाबीचको सम्बन्ध। त्यसैले यसलाई अर्थपूर्ण रुपमा हेरिनुपर्छ,’ भट्टले भने, ‘अन्य विषयमा छलफल तथा भ्रमणहरुलाई भारतले कोभिड-१९ को कारण देखाउँदै टार्दै आएको थियो। त्यस अवस्थामा यो भ्रमण महत्वपूर्ण हो। यसले छलफल सुरु गर्ने आधार दिन सक्छ।’

नेपालले सीमालगायत विषयमा छलफल गर्न पटकपटक आग्रह गरेपनि भारतले पन्छाउँदै आएको थियो। पछिल्लो समय उच्च राजनीतिक नेतृत्व र कूटनीतिक क्षेत्रमा समेत नेपाल र भारतबीच संवादहीनताको अवस्था थियो।

अगस्ट १५ मा भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको फोन संवादपछि त्यो गतिरोध हटेको मानिएको छ। त्यसपछि दुई वटा संयन्त्रको भर्चुअल बैठक भएपनि अन्य विषय भने अघि बढ्न सकेको छैन।

नेपालसँग कोभिडको कारण देखाएर वार्तामा चासो नदिएपनि भारतका मन्त्रीहरु तथा कूटनीतिज्ञहरुले यसबीचमा छिमेकी मात्रै नभएर अन्य देशहरुको समेत भ्रमण गरेका थिए। महामारीबीच भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले ६ साताअघि बंगलादेशको भ्रमण गरेका थिए भने यसै महिनाको सुरुमा भारतीय प्रधानमन्त्री मोदीले श्रीलंकाली समकक्षी महिन्दा राजापाक्षसँग भिडियो कन्फ्रेन्स गरेका थिए। त्यसैगरी रक्षामन्त्री राजनाथ सिंहले रुस र विदेशमन्त्री एस जयशंकरले रुस तथा जापानको भ्रमण गरेका थिए।

‘नेपालले सम्बन्ध सुधार गर्न प्रयास गरेको हो। अहिले भारतले नेपालसँग सम्बन्ध सुधार गर्न खोजेको देखिन्छ। त्यसैले यो भ्रमण अर्थपूर्ण छ,’ सामरिक मामिलाका जानकार गेजा शर्मा वाग्लेले भने, ‘यसको संकेत राम्रो छ तर धेरै आशावादी हुनुपर्ने अवस्थामा हामी अझै पुगेका छैनौँ। सैनिक अधिकारीले द्वीपक्षीय विषयमा छलफल गर्दैनन्।’

नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्नेछिन्। नरवणले काठमाडौंमा बुधबारदेखि रक्षा मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री ओलीसहित उच्च अधिकारीहरुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको रक्षा मन्त्रालयका एक उच्च अधिकारीले बताए।

नेपाली सेनाकाे मुखपत्र सिपाहीका संस्थापक सम्पादक तथा अवकाशप्राप्त सुबेदार मोहन थापाले भारत बेलायतको उपनिवेश हुँदादेखि नै त्यहाँका सेनाध्यक्षलाई नेपालले मानार्थ उपाधि प्रदान गर्ने गरेको बताए।

‘यो एक शताब्दीभन्दा अघिदेखि चल्दै आएको चलन हो, जसको सुरुवात वीर शम्शेरले गरेका थिए,’ उनले भने, ‘सुरुमा भारतमा रहेका अंग्रेजसेनापति लर्ड रोबर्टलाई नेपालको अनररी जनरलको उपाधि दिएको थियो।’

उनका अनुसार बीचमा केही समय रोकिएको यो प्रचलन वि.सं २०२० सालमा भएपनि भारतीय प्रधान सेनापतिलाई मानार्थ महारथीको उपाधि दिएर पुनः सुरु गरिएको थियो। त्यसअघि पाकिस्तानी सेनाका तत्कालीन फिल्ड मार्सल रहेका राष्ट्रपति नेपाल भ्रमणमा आउँदा उनलाई पनि अननरी फिल्ड मार्सलको उपाधि दिएको थियो।

‘तर, त्यसबाट भारत असन्तुष्ट बन्यो। त्यसैले भारतसँग सम्बन्ध सुधारका लागि तत्कालीन प्रधान सेनापति नीर शम्शेर राणाले भारतीय समकक्षीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए,’ थापाले भने, ‘नेपाल भ्रमणमा आएका भारतीय सेनाका प्रमुख जयन्तनाथ चौधरीलाई मानार्थ महारथीको उपाधि दिइयो। त्यसपछि दुवै देशले अर्को देशका सेना प्रमुखलाई उपाधि दिँदै आएका छन्।’

तर, २०४४ सालदेखि २०४८ सालसम्म सेनापति रहेका सच्चित शम्शेर जबराले भने यो उपाधि लिन पाएनन्।

‘सच्चित शम्शेर जबरा सेनापति हुँदा भारतले नाकाबन्दी लगाएको थियो। पछि आन्दोलन भयो’ थापाले भने, ‘त्यसै कारणले गर्दा उपाधि लिने काम भएन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .