कारोबार


अर्थमन्त्री विष्णु पौडेलबाट निजी क्षेत्रको यस्तो अपेक्षा, भी सेपमा रिकभर होला अर्थतन्त्र?

अर्थमन्त्री विष्णु पौडेलबाट निजी क्षेत्रको यस्तो अपेक्षा, भी सेपमा रिकभर होला अर्थतन्त्र?

दीपक भट्ट
असोज २८, २०७७ बुधबार १६:३,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई बुधबार नयाँ अर्थमन्त्रीमा नियुक्त गरेका छन्। अर्थमन्त्री नियुक्त भएसँगै पौडेलले कोरोना महामारीका कारण शिथिल भएको अर्थतन्त्रलाई कसरी चलायमान बनाउँछन्, धेरैले चासोका साथ हेरेका छन्।

देशको अर्थतन्त्र कमजोर भएको अवस्थामा विष्णु पौडेललाई अर्थ मन्त्रालय सम्हाल्न धेरै नै चुनौति रहेको उद्योगी व्यवसायीहरु बताउँछन्। पञ्चवर्षीय योजनामा दोहोरो अंकको आर्थिक वृद्धिदरको लक्ष्य राखेको नेपालले अहिलेको यो अवस्थामा शून्य प्रतिशतमा चित्त बुझाइरहेको छ।

कोरोनाका कारणले अहिले अर्थतन्त्र भित्रका हरेक क्षेत्रहरु खुम्चिन पुगेका छन्। सबैतिर राहतको मात्रै आशा गरिएको छ। निजी क्षेत्रदेखि सर्वसाधारणले समेत राहत र सहुलियतको नै आशा राखेका छन्।

हुन त चार वर्षअघि ओली प्रधानमन्त्री रहेकै समयमा पनि भूकम्प र भारतीय नाकाबन्दीका कारण अर्थतन्त्र थिलथिलो भएका बेला पौडेल नै अर्थमन्त्री बनेका थिए। सचेततापूर्वका त्यसबेला ओरालो लागेको अर्थतन्त्रलाई सम्हालेर देशको आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा माथि पुर्याएर उनी सफल अर्थमन्त्री बनेका थिए।

अहिले पनि अर्थतन्त्र अस्तव्यस्त भएको समयमा अर्थमन्त्री बनेका पौडेललाई यो चुनौती पार गर्न सकेको खण्डमा भने धेरै नै सफलता मिल्ने देखिन्छ। नेपालको अर्थतन्त्र जहिले पनि संकटपछि ‘बुम’ भएका उदाहरण छन्।

नयाँ अर्थमन्त्रीले कोरोनाको संकट र त्यसपछि पनि राम्रो नीति लिन सकेको खण्डमा अर्थतन्त्र भी सेपमा रिकभर हुने निजी क्षेत्रका अगुवाहरुको भनाई छ।

शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
अहिलेको यो अवस्थामा अर्थमन्त्रीको रुपमा जो आएपनि ठूलो चुनौति लिएर नै आउने हो। विष्णु पौडेल पनि कोरोनाले अत्यन्तै कमजोर बनाएको अर्थतन्त्र सम्हाल्ने गरि आउनु भएको छ। त्यसकारण उहाँले हरेक क्षेत्रसँग सहकार्य गर्नुपर्छ। निजी क्षेत्र अहिले अत्यन्तै कमजोर भैरहेको छ। अर्थतन्त्रको ठूलो हिस्सा रहेको निजी क्षेत्रसँग उहाँले हातेमालो गर्नुपर्ने हुन्छ। त्यसको कुनै विकल्प छैन। र, उहाँलाई निजी क्षेत्रले सकारात्मक व्यक्तिको रुपमा लिएको छ। आगामी दिनमा अहिले रहेको कठिनाईसमेत समाधान हुने आशा निजी क्षेत्रले राखेको छ।

भवानी राणा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
विष्णु पौडेल आफैं गाउँ तहदेखि काम गर्दै आउनु भएको व्यक्ति हुनहुन्छ। त्यसैले उहाँले उद्योगी, किसान, सर्वसाधारण सबैको मर्का धेरै बुझेको हुनुहुन्छ। अहिले कोरोनाको कारणले गर्दा धेरै अफ्ठ्याराहरु छन्। ती अप्ठेरा समस्या समाधान गर्न हामीले बजेट माग गरेका थियौं। बजेटले हाम्रो माग सम्बोधन गर्न नसके पनि मौद्रिक नीतिले केहि हदसम्म सम्बोधन गरेको छ। अहिले पौडेल नयाँ अर्थमन्त्री आउनु भएको छ। उहाँले मौद्रिक नीतिले लिएको नीतिलाई छिटो र प्रभावकारी रुपमा कार्यान्वयन गर्न सक्नुपर्छ। साथै अहिले नेपाललाई विदेशी लगानीको पनि ठूलो आवश्यकता रहेको छ। हुन त विश्व नै संकटमा परेको अवस्थामा धेरै देशले विदेशी अनुदान र लगानी खोजिरहेको अवस्था छ। नेपाललाई झन् लगानी आवश्यक छ। नयाँ अर्थमन्त्रीले त्यसतर्फ ध्यान दिनुपर्छ।

पशुपति मुरारका, निवर्तमान अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
अहिले अर्थतन्त्र एकदमै कमजोर भैरहेको छ। जीडीपी ग्रोथ शून्य प्रतिशतमा रहेको छ। त्यसैले नयाँ आउने अर्थमन्त्रीको पहिलो चुनौति नै अर्थतन्त्र चलायमान गराउने हो। कोरोना महामारी कतिसम्म जाने हो, यकिन छैन। अर्थ मन्त्रालयले आम सर्वसाधारणदेखि निजी क्षेत्रलाईसमेत बचाउनुपर्ने बाध्यता छ। निजी क्षेत्रमा पनि पहिलो प्राथमिकता साना र मझौला उद्योगीहरुलाई राख्नुपर्ने अवस्था छ।

अहिले साना तथा मझौला उद्योगीहरु विलय नै हुने अवस्थामा पुगेका छन्। उनीहरुलाई नगदै सहयोग गरेर अबको सरकार अघि बढेन भने अर्थतन्त्र निकै नै कमजोर हुनेवाला छ। तर नयाँ अर्थमन्त्री विष्णु पौडेलबाट निजी क्षेत्रले धेरै आशा गरेको छ। उहाँ पहिले पनि निजी क्षेत्रले चिनेको मान्छे हो। सकारात्मक विचार राख्ने व्यक्ति भएकाले उहाँबाट धेरैले आशा गरेका छन्।

सतिश मोर, अध्यक्ष, नेपाल उद्योग परिसंघ
विष्णु पौडेल पूर्व अर्थमन्त्री समेत हुनहुन्छ। उहाँले आफ्नो अनुभवको आरधारमा अर्थ मन्त्रालयमा आएर राम्रै गर्नुहुन्छ जस्तो मलाई लाग्छ। तर अहिले अवस्था निकै नै जटिल छ। अहिले कोरोनाबाट जीवन बचाउनुपर्ने र अर्थतन्त्र पनि चलाउनुपर्ने दुई वटा बाध्यता अर्थ मन्त्रालयलाई छ। त्यसकारण उहाँलाई धेरै चुनौति रहेको छ।

तर पनि उहाँ एक राजनीतिक मान्छे हुनहुन्छ र सकारात्मक विचारको हुनहुन्छ। सकारात्मक विचारले जुनसुकै क्षेत्रलाई पनि आत्मबल दिन्छ। त्यसले पछि धेरै काम गर्छ। यसकारण उहाँले निजी क्षेत्रदेखि सर्वसारधाणसम्मको गुनासोलाई समेत सकारात्मक रुपमा लिएर अघि बढ्नुहुनेछ भन्ने मेरो मान्यता छ। र, नेपाल उद्योग परिसंघ अर्थमन्त्रीको रुपमा उहाँलाई स्वागत गर्न चाहन्छ।

उमेशलाल श्रेष्ठ, उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
विष्णु पौडेल पहिले पनि अर्थमन्त्री भएको व्यक्ति हुनुहुनछ। उहाँ अरु भन्दा अलि फरक हुनहुन्छ। उहाँ निजी क्षेत्रसँग छलफल गर्ने र सल्लाहसुभmाव मागेर काम गर्ने व्यक्ति हुनहुन्छ। यति ठूलो पार्टी नेकपाको महासचिव पनि हुनहुन्छ। त्यसकारणले गर्दा उहाँले सक्षम रुपमा अर्थमन्त्रालय चलाउनहुन्छ भन्ने मेरो विश्वास छ। उहाँले सबैभन्दा पहिला साना र मझौला उद्योगहरुलाई ध्यान दिनुपर्छ, किन कि त्यस्ता उद्योगहरु निकै कमजोर भैरहेका छन्। त्यस्तै विकास निर्माणलाई धेरै हेर्नुपर्छ। किन कि त्यसले पुँजी परिचालनमा धेरै मद्दत पुर्याउँछ। नेपालमा विकास निर्माणको काम निकै कम हुने गरेको छ। त्यो पनि असारमा हुने प्रवृत्तिले अर्थतन्त्रमा नै ह्रास आइरहेको छ। त्यसमा उहँले ध्यान दिनुपर्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .