राजनीति


नाजुक छ सीमामा भारतीय सैनिकको अवस्था, रसदपानी ओसार्न गाउँलेले सघाउँदैछन्

नाजुक छ सीमामा भारतीय सैनिकको अवस्था, रसदपानी ओसार्न गाउँलेले सघाउँदैछन्

नेपालखबर
असोज ५, २०७७ सोमबार १६:४६,

लद्दाखमा भारत र चीनबीचको विवादित र तनावग्रस्त सीमा क्षेत्र अत्यन्त कठिन भूगोलमा पर्छ। सीमाबाट भारततर्फ सबैभन्दा नजिक रहेकामध्ये एउटा गाउँ हो चुसुल।

करिब डेढ सय परिवार बस्ने यो गाउँ १५ हजार फिटको उचाइमा छ। त्यही गाउँका झण्डै एक सय जना महिला, पुरुष र किशोरहरु गह्रौँ झोला, चामलको बोरा, इन्धनलगायतका सामग्री पिठ्युँमा बोकेर उकालो चढिरहेका छन्। उनीहरुको गन्तव्य हो ब्ल्याक टप भनेर चिनिने पर्वतको चुचुरो। जहाँ भारतीय सेनाको सयौँ त्रिपाल टाँगिएका छन्।

यी मानिसहरु कसैको दयाले बन्दोबस्तीका सामान बोकेर उकालो चढेका होइनन्। हिउँद आउँदैछ। त्यसबेला यहाँको तापक्रम माइनस ४० डिग्री सेल्सियसम्म पुग्न सक्छ। गाउँलेहरुलाई डर छ– भारतीय सैनिकलाई डाँडाको टुप्पोको रक्षा गर्न सहयोग नगर्ने हो भने उनीहरुको गाउँ कुनै पनि बेला चीनको नियन्त्रणमा पुग्न सक्छ।

‘हामी भारतीय सैनिकलाई यो ठाउँ सुरक्षित राख्न सघाउन चाहन्छौँ,’ चुसुलबाट सामान बोकेर उकालो चढिरहेकी २८ वर्षीया छिरिङ भन्छिन्, ‘हामी दिनमै अनेकौँ पटक सामान बोकेर हिँडिरहेका छौँ ताकि सैनिकहरुले धेरै समस्या भोग्न नपरोस्।’

मे महिनायता भारतीय र चिनियाँ सैनिकबीच सो क्षेत्रमा अनेकौँ पटक झडप भइसकेको छ। जुन १५ का दिन २० भारतीय सैनिकको ज्यान जानगरी झडप भएको थियो। चीनले आफ्नोतर्फको क्षति सार्वजनिक गरेको छैन। २९ अगस्टमा पनि चुसुलबाट केही किलोमिटर टाढा मात्रै सीमामा गोली चलेको थियो। गएको ४५ वर्षमा पहिलो पटक भारत–चीन सीमामा गोली चलेको हो।

गत साता दुई देशका विदेशमन्त्रीबीच मस्कोमा वार्ता भएपछि सीमाको तनाव केही मत्थर भएको छ। उनीहरुबीच दुवैतर्फका सैनिक पछि हट्ने सहमति भएको थियो।

तर, सीमामा सैनिक पछि हटेको नदेखिएको चुसुलका बासिन्दा बताउँछन्।

गएको साताभर भारतीय सेनाले सीमामा हिउँदभरका लागि रसद पानीको व्यवस्था गरिरहेको छ। बन्दोबस्तीका सामान र गोलीगठ्ठा बोकेका सैनिक ट्रकको लस्कर सीमातर्फ गइरहेका छन्। आफू बसेको स्थान सुरक्षित राख्न भारतले एक सय जनाभन्दा बढी मजदुर ल्याएर सडक तथा भवन निर्माण गरिरहेको बताइएको छ।

‘दुवै पक्ष हिउँदमा यहीँ बस्ने योजनामा रहेको प्रस्ट देखिन्छ। सायद यसको कूटनीतिक निकास ननिस्किने निक्र्यौल उनीहरुले गरेका हुनसक्छन्,’ अब्जर्भर रिसर्च फाउन्डेसनका सुरक्षा विज्ञ मनोज जोशी भन्छन्।

चुसुलका गाउँलेहरुले यो साता ब्ल्याक टपमा निरन्तर सामान ओसारिरहे। पर्वतका चुचुरामा सडक पुगेको छैन। हिउँदका पाँच महिना हिउँ, हिमपहिरो र बरफ जमेका कारण सो स्थान पूरै सम्पर्कविच्छेद हुने चिन्ता गाउँलेहरुलाई छ।

‘हालै झडप भएको ठाउँमा अरु पूर्वाधारको त कुरै छाडौँ, सडकसमेत पुगेको छैन,’ छिरिङ भन्छिन्, ‘यसरी सेनाले कहिलेसम्म आपूर्ति गरिरहन सक्छ?’

chusul_463.jpg

‘चीन र भारतका सेनाबीच मुठभेड भएको यो नयाँ ठाउँ हो। यहाँ भारतीय सेनासँग बस्नका लागि उचित प्रबन्ध छैन,’ अर्का गाउँले कोन्चाक सेपेल भन्छन्, ‘सेना पालमुनि बसिरहेको छ। सडक नबन्दासम्म घर उनीहरुले कसरी बनाउलान्?’

सो क्षेत्रमा भारतले ४ डिभिजन अर्थात् करिब ४० हजार सैनिक परिचालन गरेको छ। उनीहरुको बासको व्यवस्था गर्न भारतसँग अब केही साताको समय मात्रै बाँकी छ।

भारतले रक्षा बजेटका रुपमा अर्बौँ खर्च गर्दै आएको छ। हालै हिमाचल प्रदेशमा एउटा सुरुङ खन्न मात्रै ४० करोड डलर खर्च गरिएको छ। तर, यत्रो उचाइमा दशौँ हजार सैनिकलाई स्थायी रुपमा राख्नु निकै जटिल र खर्चिलो काम हो।

यो क्षेत्रका थुप्रै गाउँमा अझै बिजुली पुगेको छैन। त्यसैले सञ्चारको उचित प्रबन्ध पनि छ्रैन। उता चीनको रक्षा बजेट भने भारतको भन्दा तीन गुणा बढी छ।

यो क्षेत्रमा कहिलेकाहीँ पाँच महिनासम्म पूरै सम्पर्कविच्छेद हुने गरेको भारतीय सेनाका पूर्व कप्तान टासी छेपल बताउँछन्।

‘हरेक चीज ढुंगाजसरी जम्छ। हामी चाहिँ हिउँदभरीलाई पुग्ने सामान पहिले नै जम्मा गर्थ्यो,’ सैनिक हुँदा सोही क्षेत्रमा खटिएका ६० वर्षीय छेपलले भने, ‘त्यसबेला हामी पाँचै महिना टिनको बट्टामा राखिएका खानेकुरा खान्थ्यौँ। कनेक्टिभिटी अझै पनि खराब छ। यत्तिका वर्षमा खासै परिवर्तन केही पनि भएको छैन।’

भारतीय सेनाका पूर्वअधिकारी प्रवीण साहनी यो क्षेत्रमा चीनको हात माथिबाट रहेको बताउँछन्।

‘उनीहरुले लडाइँ हुने स्थानसम्मै फाइबर अप्टिक इन्टरनेट जोडिसकेका छन्,’ उनले भने।

भारतीय सेनाका पूर्व मेजर जनरल अमृत पाल सिंहले सो स्थान विश्वकै सबैभन्दा अलग युद्धमैदान भएकाले त्यहाँ रसदपानीको व्यवस्था गर्नु चुनौतीपूर्ण हुने बताए। द गार्जियनबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad