राजनीति


६ महिनाको रस्साकस्सीपछि आजबाट सांसद बन्दै वामदेव

६ महिनाको रस्साकस्सीपछि आजबाट सांसद बन्दै वामदेव

सागर न्यौपाने
भदौ १८, २०७७ बिहिबार १६:८,

आम निर्वाचन २०७४ मा बर्दियाबाट पराजित भएको ३३ महिनापछि सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतम सांसद बन्ने भएका छन्। यससँगै सांसद बन्ने वर्षौँदेखिको उनको प्रयास सफल हुने देखिएको छ।

पार्टी सचिवालय बैठकले राष्ट्रियसभामा लैजाने निर्णय गरेपनि सरकारले ६ महिनासम्म उनलाई सिफारिस गरेको थिएन।

बिहीबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेको राष्ट्रियसभाको एक पदमा गौतमलाई पठाउन आफू तयार रहेको बताए।

शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभाको रिक्त एक पदमा मनोनित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नेछ।

‘म उहाँलाई संसदमा लैजान तयार छु, भोलि नै क्याबिनेट बैठक डाकिएको छ, सिफारिस गर्छु,’ सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै एक सचिवालय सदस्यले भने।

‘पार्टीले यसअघि नै निर्णय गरिसकेको कारण थप केही गर्नु परेन, गौतमजी भोलिदेखि सांसद बन्नुहुन्छ,’ ओलीले बैठकमा भनेका थिए।

बैठकको सुरुमै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा सदस्यमा गौतमलाई पठाउने निर्णय कार्यान्वयन नभएको भन्दै अब तत्काल सिफारिस गरेर पठाउन आग्रह गरेका थिए।

‘गौतमजीले पार्टी एकता गर्दा र अहिले विवाद साम्य गराएर एकता कायम राख्न ठूलो भूमिका खेल्नुभएको छ, उहाँको भूमिकालाई बुझेर पार्टीले राष्ट्रिय सभामा पठाउने निर्णय गरेको हो, अब त्यो लागू गरौं,’ प्रचण्डले भनेका थिए।

त्यसपछि झलनाथ खनाल बोलेका थिए।

‘वामदेवजीलाई राष्ट्रियसभामा लैजाने निर्णय सर्वसम्मत भएका हो,’ उनले भनेका थिए, ‘लामो समयदेखि पार्टी निर्णय कार्यान्वयन भएन। अब ढिलाइ नगरौं, सचिवालयका उहाँ मात्र सांसद हुनुहुन्न सरकारले छिट्टै सिफारिस गरोस्।’

त्यसपछि बोलेका माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले पनि यसमा समर्थन गरेका थिए।

सचिवालयका सबैजसो नेताहरुले गौतमको पक्षमा धारणा राखेपछि प्रधानमन्त्री ओली आफ्नो अडानबाट पछि हट्न बाध्य भएको गौतमनिकट स्रोतले बतायो।

‘उहाँलाई पार्टीभित्रबाट दबाब थियो, विशेषगरी गौतमको पक्षमा कार्यकारी अध्यक्ष, झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठ खुलेर लाग्नुभएको थियो,’ गौतमनिकट एक नेताले भने, ‘नेताहरुको एउटै आवाज भएपछि प्रधानमन्त्री ओली आफ्नो अडानमा नबसी पार्टी निर्णय मान्न राजी हुनुभएको हो।’

नेकपाको २०७६ फागुन १४ गते बसेको बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सरकारलाई सिफारिस गरेको थियो। तर, ओलीले अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने सोच राखेर यो निर्णयलाई बेवास्ता गरेका थिए।

पछिल्लो समय नेकपाभित्रको चरम विवाद सहमतिमा पुगेर टुंगिएसँगै गौतमले सो निर्णयबारे पुनः चासो राखेका थिए।

२०७४ को संसदीय निर्वाचनमा बर्दियाबाट पराजित भएपछि गौतमले संसदमा जान अनेकौँ प्रयास गरेका थिए। डोल्पामा धनबहादुर बुढालाई राजीनामा गराएर चुनाव लड्ने तयारी भयो। तर, त्यो योजना सफल भएन। काठमाडौं ७ का रामवीर मानन्धरले गौतमका लागि छोड्न आफू तयार रहेको घोषणा गरे।

अन्तिममा प्रधानमन्त्री ओलीले मानेनन् र गौतम सांसद बन्न पाएनन्। पाल्पा १ का सांसद दलबहादुर रानाले पनि गौतमका लागि आफू राजीनामा दिन तयार रहेको बताए। तर, त्यहाँ जान गौतमले अनिच्छा देखाए।

बाँके ३ वा कञ्चनपुर ३ का सांसदलाई राजीनामा गराएर गौतमलाई उपनिर्वाचनबाट सांसद बनाउने योजना सफल हुन सकेन।

मंसिरमा भएको कास्की २ को उपनिर्वाचनमा पनि उनी उठ्नसक्ने चर्चा चल्यो तर विवादमा तानिएपछि गौतम पछि हटे।

चुनाव हारेर पनि सांसद बन्न लोभ गरेको भन्दै उनको चौतर्फी आलोचना भयो।

यति हुँदा पनि उनको सांसद हुने चाहना रोकिएन।

कात्तिकमा ओली र प्रचण्डले उनलाई राष्ट्रियसभाको निर्वाचनमा सांसद बनाउने प्रस्ताव राखे। पुसमा भएको चुनावमा उनी उठ्न मानेनन्। तर, गोरखाबाट चुनाव हारेका नारायणकाजी श्रेष्ठ भने राष्ट्रियसभाको सांसद बने।

सचिवालयका सबै सांसद थिए। तर, आफूमात्रै संसदबाहिर रहेपछि उनले पुनः यसका लागि सक्रियता बढाए। फागुन १४ गते उनलाई मनोनयन गर्ने निर्णय नै भयो। तर, वैशाख १७ गते बसेको सचिवालय बैठकमा ओलीले उपयुक्त स्थानमा उपनिर्वाचन गराएर प्रतिनिधिसभामै गौतमलाई जिताउने र कोरोना महामारी सकिएपछि प्रधानमन्त्री बनाउने प्रस्ताव राखेपछि गौतम त्यतैतर्फ लागे। अनि २० गते बसेको बैठकले सोही निर्णय ग¥यो। तर, कुनै क्षेत्रपनि खाली भएनन्।

पार्टीमा कहिले ओली पक्षमा त कहिले प्रचण्ड–नेपाल पक्षमा लाग्ने गौतमलाई भदौ १३ गते प्रधानमन्त्री ओलीले फेरि डोल्पाबाट चुनाव लड्न प्रस्ताव गरे। तर, यो पटक गौतमले प्रधानमन्त्री ओलीको कुरा मानेनन् र राष्ट्रियसभामै जाने अडानमा बसे।

बुधबार बेलुका ओलीले गौतमलाई बालुवाटारमा डाकेर पुनः प्रतिनिधिसभाको सांसद बनाउने आश्वासन दिएका थिए तर यसपटक उनले मानेनन्।

शनिबार फेरि सचिवालय बैठक
शनिबार पुनः सचिवालय बैठक बस्ने एक नेताले जानकारी दिए। बिहीबारको बैठकमा पार्टी विवाद समाधानको लागि गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा थोरै मात्र छलफल भएको र कोरोना संकट, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपका विषयमा एउटा ठोस निर्णय गर्न सचिवालय बैठक हुनेछ।

‘कोरोना संकट, कार्यदलको प्रतिवेदनलाई शनिबार फेरि सचिवालय बैठक बसेर स्थायी समितिमा पेस गर्ने ठोस प्रस्ताव तय गर्नेछ,’ ती सचिवालय सदस्यले नेपालखबरसँग भने।

आजको बैठकमा कार्यदलको प्रतिवेदनका विषयमा सामान्य छलफल मात्र भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

‘पार्टीको समस्या समाधान गर्न गठिन कार्यदलले बुझाएको प्रतिवेदनमा प्रारम्भिक छलफल भयो,’ प्रवक्ता श्रेष्ठले भने।

उनले कार्यदलबाट प्रस्तुत प्रतिवेदनका महत्वपूर्ण सुझावलाई आधार बनाएर र सचिवालय बैठकमा व्यक्त विचारलाई समेटेर अध्यक्षद्वयले स्थायी समितको चालु बैठकमा प्रस्तुत गर्नका निम्ति आवश्यक प्रस्ताव तयार गर्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .