ad ad

राजनीति


शक्तिशाली नेतालाई पछाडि पार्दै कास्की इन्चार्ज बनेका करणका चुनौती

शक्तिशाली नेतालाई पछाडि पार्दै कास्की इन्चार्ज बनेका करणका चुनौती

वाशुदेव मिश्र
साउन ६, २०७६ सोमबार १२:३१,

पोखरा गण्डकी प्रदेशको राजधानी कास्की पुरानो माले र तत्कालीन एमालेको प्रभाव क्षेत्र मानिन्छ। जनपक्षीय उम्मेवारको रुपमा खगराज अधिकारी, सोमनाथ अधिकारी ‘प्यासी’ले राष्ट्रिय पञ्चायतको चुनाव मालेको प्रभावकै कारण सम्भव भएको हो। अझ,कास्की तत्कालीन एमालेभित्र केपी ओली पक्षधरको जिल्ला भनेर पनि चिनिन्छ।

यहाँका सबैजसो ठूला नेताहरु केपी पक्षधर थिए। जनकपुर महाधिवेशनदेखि एमालेको बुटबल महाधिवेशनसम्म पनि यहाँका नेताहरुले ओलीको साथ छाडेनन्। माधवकुमार नेपाल यो जिल्लामा सधैँ कमजोर रहे।

पोखरामा रहेको पृथ्वीनारायण क्याम्पसलाई कुनै समय कम्युनिस्ट उत्पादन गर्ने क्याम्पस मानिन्थ्यो। यही क्याम्पसमा पढेका कृष्णबहादुर महरा तत्कालीन माओवादीको उच्च तहमा पुगे पनि यो जिल्लामा भने एमालेकै प्रभाव क्षेत्र रहयो। त्यही प्रभावले पछिल्लो संसदीय, प्रदेश र स्थानीय चुनावमा पनि काम ग¥यो। संसदका सबै सिट जित्दा प्रदेशमा एक सिट र स्थानीय निकायमा एक सिट मात्रै कांग्रेसले जित्यो। र, प्रदेशसभामा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवारी दिएर पराजित भएका राजकाजी गुरुङ ‘करन’ अहिले माओवादी र एमाले मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कास्की इन्चार्ज बनेका छन्।

तत्कालीन माओवादीको युद्धकालीन संरचनामा कास्की सचिव रहेका उनले पहिलो संविधानसभामा कास्कीबाट चुनाव जितेका थिए भने दोस्रो संविधानसभा र पछिल्लो प्रदेशसभा चुनावमा उनी क्रमशः पर्वत र कास्की क्षेत्र नम्बर २ ‘ख’ बाट पराजित भएका थिए।

नेकपाभित्र उनी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नजिकका मानिन्छन्। युद्धको पृष्ठभूमिबाट आएको तत्कालीन माओवादी र तत्कालीन एमालेबीच भागबण्डा मिलाउँदा उनी कास्कीको शक्तिशाली नेता बनेका हुन्। कास्कीमा तत्कालीन एमालेतर्फका एकसे एक नेतालाई पाखा लगाउँदै मिलेको जिम्मेवारीमा उनी कति कुशलतापूर्वक अगाडि बढ्छन्, त्यसले नै उनको राजनीतिक भविष्यको रेखा कोर्ने नेकपाभित्रका केही नेताहरुको बुझाई छ।

खासगरी जनताको बहुदलीय जनवादलाई मूलमन्त्र मान्ने यहाँका नेताहरुलाई जनताको जनवाद बुझाएर संगठन बनाउनु र परिचालन गर्नुमा नै उनको सफलता वा असफलता मापन हुन्छ। माओवादी पृष्ठभूमिका उनी सबैसँग मिल्न सक्छन्, आफ्नो कुरा राख्न सक्छन् र अरुलाई विश्वासमा लिन पनि माहिर मानिन्छन्। तर, उनीमाथि सानो खेमामा रमाउने नेताको उपमा पनि दिइन्छ। दुई फरक धारका व्यक्तिहरुलाई विश्वासमा लिएर संगठन हाँक्नु र आफूभन्दा ठूला नेताको प्रभावलाई सम्मान गर्दै आफूलाई स्थापित गर्ने अवसर पनि उनलाई प्राप्त भएको छ।

पार्टी एकतापछि पद बाँडफाँडमा तत्कालीन एमाले अनुदार देखिएको र सहकार्य समेत गर्न नखोजेको भन्दै असन्तुष्टि जनाउने नेतामध्ये उनी पनि एक मानिन्छन्। पार्टी एकतापछि २६ जनवरी २०१८ मा उनले फेसबुकमा लेखेका थिए,‘ एकताको लागि छाती ठूलो हुनुपर्छ हजुर, माखाको जत्रो छातीले हात्तीको जत्रो ज्यान हुन्न हजुर।’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आइतबार ७७ वटै जिल्ला र ६ वटा महानगरपालिकाको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने क्रममा गण्डकी प्रदेशअन्तर्गत बागलुङमा इन्चार्ज बलावती शर्मा र सह इन्चार्ज मनाकुमारी केसी जीसीलाई जिम्मेवारी दिएको छ। पूर्वमाओवादी बलावती नेकपाका प्रभाशाली नेता देवेन्द्र पौडेलकी धर्मपत्नी हुन् भने मनकुमारी तत्कालीन एमालेबाट समानुपातिक सांसद हुन्। उनी ओली खेमासँग नजिक थिइन्।

पर्वतमा इन्चार्ज गुप्तबहादुर ठकुरी पूर्वमाओवादी हुन्। म्याग्दीमा इन्चार्ज भूपेन्द्रबहादुर थापा ,मुस्ताङ इन्चार्जमा श्रीमाया थकाली चयन भएका छन्। श्रीमाया अहिले पनि मन्त्री छन्। कास्कीमा राजकाजी इन्चार्ज हुँदा सह इन्चार्जमा श्रीनाथ बराल ,भीम कार्की र शारदा सुवेदी तोकिएका छन्। श्रीनाथ कास्कीमा तत्कालीन एमाले नेता माधवकुमार नेपाल खेमाका नेता हुन्। उनलाई तत्कालीन एमालेले पनि धेरै ठाउँमा अवसर नदिएको मानिन्छ।

त्यसैगरी स्याङ्जा इन्चार्जमा पद्मा अर्याल वहालवाला मन्त्री हुन्। सह इन्चार्जमा सीता सुनदास पनि पूर्व एमाले नै हुन्। गोरखा इन्चार्जमा कृष्णप्रसाद धिताल तथा सहइन्चार्जमा परशुराम बस्नेत ,सुशीला सिम्खडा र चूडामणि जंगली चयन भएका छन्। तनहूँ इन्चार्ज हरीबहादुर चुमान तत्कालीन माओवादीका नेता मात्रै नभएर अहिले गण्डकी प्रदेशका गृहमन्त्री हुन्। सहइन्चार्ज आशा कोइराला पूर्वमाओवादीकी सशक्त महिला नेतृ हुन्। उनी अहिले प्रदेशसभा सदस्य छन्। उनी मन्त्री वा सभामुख बन्ने भनिए पनि त्यो अवसर भने दिइएन्। एकबहादुर राना र प्रतापलाल श्रेष्ठ दुबै पूर्व एमाले हुन्।

लमजुङ इन्चार्जमा मायानाथ अधिकारी गण्डकी प्रदेशसभा सदस्य हुन्। सह इन्चार्ज अमरबहादुर तमुको पृष्ठभूमि पूर्वमाओवादी हो। मनाङमा गण्डकी प्रदेशसभाका मन्त्री रामशरण बस्नेत इन्चार्ज तोकिए। उनको गृह जिल्ला गोर्खा हो। नवलपुरमा इन्चार्ज तिलक महत र सह इन्चार्च बालकृष्ण गैरे र रवीन्द्र अधिकारी रहेका छन्।

पोखरा महानगरपालिकाको इन्चार्जमा मानबहादुर जिसी चयन भएका छन्। उनी अहिले महानरको मेयर समेत हुन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .