ad ad

राजनीति


अमेरिकाद्वारा भारत, जापान र अष्ट्रेलियासँगको इन्डो–प्यासिफिक रक्षा सम्बन्धलाई नाटोजस्तै सशक्त गठबन्धन बनाउन प्रस्ताव

अमेरिकाद्वारा भारत, जापान र अष्ट्रेलियासँगको इन्डो–प्यासिफिक रक्षा सम्बन्धलाई नाटोजस्तै सशक्त गठबन्धन बनाउन प्रस्ताव

नेपालखबर
भदौ १६, २०७७ मंगलबार ६:१,

अमेरिकाले भारत, जापान र अष्ट्रेलियासँगको घनिष्ट इन्डो–प्यासिफिक रक्षा सम्बन्धलाई उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) जस्तै औपचारिक गठबन्धन बनाउने योजना अघि सारेको छ।

क्वाड समेत भनिने यी चार देशको सम्बन्धलाई औपचारिक रुपमै अझ सशक्त बनाउन आवश्यक भएको अमेरिकी विदेश मन्त्रालयका एक उच्चअधिकारीले बताएका हुन्।

चीनबाट बढ्दो चुनौति सामना गर्नका लागि यस क्षेत्रमा यी चार देशको समूहले अरुलाई समेत समेटेर चीनबिरुद्ध एउटा बलियो पर्खालको रुपमा सो गठबन्धनलाई सशक्त पार्नुपरेको उनले बताएका छन्।

‘यस क्षेत्रमा समान मूल्य मान्यता राख्ने आलोचक जनसमुह (क्रिटिकल मास) तयार गर्ने र त्योसँगै इन्डो–प्यासिफिक अन्तर्गत विश्वका अन्य देशहरुलाई समेत गोलबन्द गर्दै अघि बढ्नुपर्ने ... र अन्ततः यसलाई बढि संरचनात्मक रुपमै गठबन्धन गर्नुपरेको छ,’ अमेरिकी विदेश मन्त्रालयका उपमन्त्री स्टेफन बिगनले भनेका छन्।

उनले इन्डो–प्यासिपिक क्षेत्रमा वास्तवमा बलियो बहुपक्षीय संरचनाको अभाव निकै खट्किरहेकोप्रति चिन्ता जाहेर गरेका छन्।

‘त्यहाँ नाटो वा युरोपियन युनियन जस्तो एउटा बलियो गठबन्धन भएन। एसियामा भएका बलिया संस्थाहरु पनि समावेशी नभएको पाइयो र त्यहाँ एउटा यस्तै संरचनालाई औपचारिक रुप दिन आवश्यक भइसकेको छ,’ उनले भनेका छन्।

नाटो पनि सुरुमा यसैगरी सामान्य लक्ष्यसहित सुरु भएको र त्यसो गर्दा कतिपय मुलुकले तटस्थ रहन चाहेको कुरा समेत बिगनले स्मरण गराएका छन्।

नाटोजस्तो संगठन बनाउनका लागि भने अरु देश पनि अमेरिका जत्तिकै प्रतिबद्ध हुनैपर्ने उनको धारणा छ।

अमेरिका–भारत रणनीतिक साझेदारी फोरममा अमेरिकाका लागि भारतीय राजदूत रिचर्ड वर्मासँग कुरा गर्ने क्रममा विगनले आउने केहि महिनाभित्रै यी चार देश (अमेरिका, भारत, जापान र अष्ट्रेलिया) बीच दिल्लीमा एउटा बैठक हुने योजना रहेको सुनाए।

उनले भारतको मालावारमा समुन्द्री सैन्य अभ्यासमा अष्ट्रेलिया समेत सहभागी हुने संभावना रहेको र त्यसलाई यी चार देशबीच कसरी सुरक्षा गठबन्धन कसिँदै छ भन्ने उदाहरणको रुपमा लिन सकिने बताए।

‘भारतले मालावार सैन्य अभ्यासमा अष्ट्रेलियाको सहभागिताका लागि आमन्त्रण गर्ने प्रष्ट संकेत दिइसकेको छ, जुनकुरा इन्डो–प्यासिफिक समुन्द्रमा सुरक्षा र स्वतन्त्र मार्गको सुनिश्चितताका लागि लिइने एउटा निकै महत्वपूर्ण कदम हुनेछ,’ उनले भनेका छन्।

अमेरिका र भारतबीच सन् १९९२ देखि हरेक वर्ष हुने समुन्द्री सैन्य अभ्यास प्रायः बे अफ बंगालमै हुने गरेको छ र त्यसमा सन् २०१५ देखि जापानपनि जोडिएको हो।

मालावारमा सन् २००७ मा भाग लिएको अष्ट्रेलियालाई बेइजिङले त्यहाँबाट छुटाएको थियो।

‘चीनलाई किन बढि चिढ्याउने भनी भारत पनि त्यसबाट टाढा रहेको बुझ्न सकिन्छ तर अष्ट्रेलिया भने सहभागी हुन इच्छुक नै रहेको देखिन्छ,’ सिड्नीस्थित थिंकट्यांक लोइ इन्स्टिच्युटले जुलाईको आफ्नो प्रतिवेदनमा भनेको छ।

सन् २००७ को अभ्यासमा चाहिँ सिंगापुर पनि सहभागी भएको थियो।

गत जुनमा लद्दाखको गलवान भ्यालीमा चिनियाँ सेनासँगको घम्साघम्सीमा भारतका कम्तिमा २० जना सैनिक मारिएपछि भने भारत सरकार पनि अष्ट्रेलियालाई समेत मालावार अभ्यासमा सामेल गराउन इच्छुक भएको लोइको प्रतिवेदनमा उल्लेख छ।

जापान र अमेरिकालाई यो वर्षको अभ्यासमा सहभागिताका लागि आमन्त्रण गरिसकिएको छ। कोरोना महामारीका कारण केहि पर सारिएको सो अभ्यासमा अष्ट्रेलियालाई औपचारिक आमन्त्रण पठाउन बाँकी नै छ।

अमेरिकी विदेश मन्त्रालयले अमेरिका, भारत, जापान र अष्ट्रेलियाको क्वाड समूहलाई विस्तार गरी दक्षिण कोरिया, भियतनाम र न्युजिल्याण्डलाई समेत समेट्न चाहेको छ। –साउथचाइना मर्निङ पोष्टबाट

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .