ad ad

राजनीति


बेरुत विस्फोटः इजरायलले क्षेप्यास्त्र हानेर बन्दरगाह उडाएको पूर्व गृहमन्त्रीको दाबी

बेरुत विस्फोटः इजरायलले क्षेप्यास्त्र हानेर बन्दरगाह उडाएको पूर्व गृहमन्त्रीको दाबी

नेपालखबर
साउन २९, २०७७ बिहिबार ९:३५,

लेबनानको राजधानी बेरुतमा भएको भयानक विस्फोट इजरायलले गराएको लेबनानका पूर्व गृहमन्त्रीले बताएका छन्।

अगस्ट ४ मा बेरुतको बन्दरगाहमा भएको सो विस्फोटमा १ सय ७० जना भन्दा बढीको ज्यान गएको थियो भने लाखौँ मानिस घरबारविहीन भएका थिए। हजारौँ घाइते भएका थिए।

बन्दरगाहमा वर्षौँ अघिदेखि थन्क्याएर राखिएको एमोनियम नाइट्रेटका कारण सो विस्फोट भएको बताइँदै आएको थियो। तर, धेरैले यसमा कसै न कसैको हात रहेको हुनसक्ने दाबी गर्दै आएका थिए।

प्रत्यक्षदर्शीहरुले विस्फोटको ठिकअघि बेरुतको आकासमा लडाकु विमानहरु देखेको र तिनको आवाज सुनेको पनि बताउँदै आएका छन्। केही विज्ञहरुले विस्फोट र धुवाँको मुस्लोको प्रकृतिका आधारमा क्षेप्यास्त्र प्रहार भएको दाबी पनि गर्दै आएका थिए।

तर, पूर्व गृहमन्त्री नोहान माचनुकले बुधबार पत्रकार सम्मेलन गरेरै सो घटनाका लागि स्पष्ट रुपमा इजरायल जिम्मेवार रहेको बताए। यस्तो दाबी गर्ने उनी लेबनानका सबैभन्दा ठूला नेता हुन्।

‘यो अपरेसन एकदमै स्पष्ट रुपमा इजरायलले नै गराएको हो,’ माचनुकले भने, ‘यो स्पष्ट रुपमा मानवताविरोधी अपराध हो। त्यसैले कसैले पनि यसको जिम्मेवारी लिने आँट गर्दैन।’

विस्फोटलगत्तै मानिसहरुले इजरायलप्रति औँला उठाएका थिए। तर, तत्कालै इजरायलले घटनामा आफूहरु जिम्मेवार नरहेको बताएको थियो।

माचनुक २०१४ र २०१६ मा गरी दुई पटक गृहमन्त्री बनेका थिए। उनी हेजबुल्लाहविरोधी फ्युचर मुभमेन्ट पार्टीका नेता हुन्।

हेजबुल्लाहका नेता हसन नसारल्लाह र राष्ट्रपति माइकल आउनले बेरुत विस्फोटमा कसैको हात हुनसक्ने सम्भावना रहेको बताएका छन्। तर, उनीहरुले इजरायलको नाम लिएका छैनन्।

लेबनानका अधिकारीहरुले बन्दरगाहमा सन् २०१३ देखि राखिएको २ हजार ७ सय ५० टन एमोनियम नाइट्रेट विस्फोट भएको बताएका थिए। तर, माचनुकले त्यसमध्ये १ हजार ४ सय टन त चोरी नै भइसकेको दाबी गरे।

सो एमोनियम नाइट्रेट कसरी विस्फोट भयो, त्यसको जवाफ हालसम्म प्राप्त भएको छैन।

विस्फोटको स्थानमा क्षेप्यास्त्रको बाँकी हिस्सा पनि बरामद भइसकेको दाबी गरे। तर, त्यसलाई गुपचुप राखिएको उनको आरोप थियो। एसिया टाइम्सबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .