परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चाँडै सुरु हुने बताएका छन्।
त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको वेबिनारमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले पूर्वसम्भाव्यता अध्ययनको काम सकिएको बताए।
तर, सम्भाव्यता अध्ययन कहिलेबाट सुरु हुने भन्ने उनले खुलाएनन्।
नेपालले कनेक्टिभीलाई विविधीकरण गर्ने नीति लिएको उनले बताए।
‘भूपरिवेष्ठित देशका लागि कनेक्टिभिटी महत्वपूर्ण हुन्छ। कनेक्टिभिटीलाई विविधीकरण गर्ने सरकारको नीति हो,’ ज्ञवालीले भने, ‘काठमाडौ केरुङको प्रिफिजिविलिटी सर्भे सम्पन्न भएको छ। चाँडै फिजिविलिटी सर्भे हुने छ।’
नेपाल चीनबीच सीमा क्षेत्र कठिन भूभागमा भएपनि प्रविधिको विकासका कारण कुनै प्रकारको समस्या नहुने दाबी मन्त्री ज्ञवालीको छ।
पछिल्लो समयमा नेपाल र चीनबीच प्रत्येक वर्ष महत्वपूर्ण भ्रमण र सम्झौता भइरहेको र त्यसले सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको उनले बताए।
सन् २०१६ मा भएको केपी शर्मा ओलीको चीन भ्रमण, सन् २०१७ मा बेल्ट तथा रोड इनिसिएटिभ (बीआरआई) मा नेपालको हस्ताक्षर, सन् २०१८ मा ओलीको चीन भ्रमण र सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण दुवै देशबीचको सम्बन्धमा महत्वपूर्ण कडी भएको बताए।
‘सन् २०१९ को सीको भ्रमणमा भएको सम्झौताले नेपाल र चीनलाई समृद्धि र विकासका लागि रणनीतिक साझेदार बनाएको छ,’ ज्ञवालीले भने।
कार्यक्रममा ज्ञवालीले चीनसँग भएको सम्झौता कार्यान्वयन गर्ने विषयलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए।
उनले अमेरिका र चीनबीच बढेको व्यापारिक तनाव र चीन र भारतबीचको सीमा तनावले चिन्ता बनाएको बताए।

प्रतिक्रिया