राजनीति


नेकपा सांसद भन्छन्: फुटिहाल्यो भने यत्तिको पार्टी फेरि बनाउन सकिन्न

नेकपा सांसद भन्छन्: फुटिहाल्यो भने यत्तिको पार्टी फेरि बनाउन सकिन्न

मणि दाहाल
साउन २५, २०७७ आइतबार १५:४,

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को शीर्ष तहमा विवाद चर्किरहेको समयमा सांसदहरुले पार्टी विभाजन रोक्नु माग गर्दै हस्ताक्षर अभियान चलाएका छन्। नेकपाका ६३ जना सांसदले आइतबार हस्ताक्षर सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल तीनै पक्षका सांसदहरुले यसमा हस्ताक्षर गरेका छन्। उनीहरुले पार्टीको शीर्ष तहमा जारी विवाद विध्वंसात्मक भएको टिप्पणी गरेका छन्। आफूहरुले पनि विवाद चर्किनेगरी कुनै अभिव्यक्ति नदिने सांसदहरुको भनाइ छ। यसै विषयमा नेपालखबरले नेकपाका तीन सांसदहरुसँग छोटो कुराकानी गरेको छ:

केही नेतालाई पार्टी फुटाइहालौँ भन्ने लागेको छः रामकुमारी झाँक्री
पार्टी एकता सुदृढीकरणको पक्षमा हो। जनताका प्रतिनिधि एकताका पक्षमा छन् भन्ने सन्देश दिन हस्ताक्षर गरेको हो।

केही नेता र तिनका कार्यकर्ताहरुलाई पार्टी विभाजन गरिहाल्न पाए हुन्थ्यो भन्ने पनि लागेको छ। यत्तिको पार्टी बनाउन कति सकस पर्छ भन्ने थाहा नभएकाहरुको धारणा हो त्यो। अहिलेको पार्टी विभाजित भए यस्तै शक्तिशाली अर्को दल बन्न कठिन छ। कतिलाई धुलो टक्टक्याउँदै उठेर फेरि पार्टी बनाइहालिन्छ नि भन्ने पनि लागेको छ। तर, अहिलेको जत्रो र जस्तो पार्टी बनाउन सकिँदैन।

२०५४ को घटनाको पनि जानकारी नहुनेहरुले अहिले चर्को स्वरमा बोलिरहेका छन्। अहिले नेताहरुको नजिक हुने त्यसबाट फाइदा लिनेहरु, इतिहासको बारेमा जानकारी नभएकाले फुटेपनि फुटोस् भन्ने पक्षमा छन्। त्यसैले पार्टी विभाजनका लागि भइरहेको ताउरमाउर रोक्न हस्ताक्षर गरेका हौँ।

हामीले आफ्नो संहिता आफैँ बनाएको छौँ। हामीले कुनै कित्तामा लागेर पार्टी विभाजन हुने गरी गतिविधि नगर्ने। सांसद भनेको कानुन निर्माण गर्ने व्यक्ति हुन्। आफ्नो मर्यादा राख्न पनि प्रतिबद्धतामा कायम हुनुहुनेछ। यसमा हस्ताक्षर गर्न अन्य नेताहरुले पनि चाहना राख्नुभएको थियो। तर, स्थायी कमिटी सदस्य र मन्त्रीहरुलाई नगराउने भन्यौँ। केही फुटाइहालौँ, खाइहालौँ भन्ने पनि छन्, उनीहरुलाई पनि हस्ताक्षर नगराएकै हो।

पार्टीको बैठक बसेर प्रक्रियामा जानुपर्छ। अहिले स्थायी कमिटी जारी छ, त्यसबाट अथवा केन्द्रीय कमिटीका बैठकबाट विधिसम्मत रुपमा विवाद मिलाउनुपर्छ भन्ने हाम्रो धारणा हो। यो वा त्यो भनेर विकल्प दिने छैनौँ र होइन पनि।

झगडा रोकेर कोरोना नियन्त्रणमा लाग्नुपर्छ : विशाल भट्टराई
नेताहरुले नेकपालाई पार्टी विभाजनको संघारमा पुर्‍याएका छन्। त्यसलाई रोक्नका लागि हो। विचार र दृष्टिकोणबिनाको अहिलेको यो झगडाले कसैलाई अघि बढाउँदैन। नेकपाभित्र अहिले देखिएको संकट समाधान गर्न कदम चाल्नुहोस् भनेका हौँ। अहिले झगडालाई रोकेर बाढीपहिरो र कोरोनाका नियन्त्रणको विषयमा मुख्य ध्यान दिनुपर्छ।

विगतमा टिमबाट प्रतिस्पर्धा गर्‍यौँ होला। अहिले पार्टीभित्र गम्भीर संकट उत्पन्न हुन लाग्दा एक स्थानमा उभिएको हौँ। कसैले आह्वान गर्दैमा त्यसको पछि लाग्दैनौ र पार्टीलाई विभाजन हुनबाट जोगाउने भन्ने हो। त्यसैले हाम्रो गतिविधि र धारणाहरुले पार्टी विभाजन विषय नहोस् भन्ने छ। अहिलेलाई हामीले ६३ जनाको टिम बनाएका छौँ। यसले पार्टी विभाजन हुनुहुँदैन भन्ने नेता तथा कार्यकर्ताहरुको मतको प्रतिनिधित्व गरेको छ।

हाम्रो आगमी काम भनेको नेताहरुलाई पार्टी विभाजन गर्न नदिनु नै हो। त्यसका लागि घेराउ गर्ने र धर्ना दिने हुनसक्छ। सबै साथीहरुका सल्लाह गरेर के गर्ने निधो हुन्छ।

यो सरकारको निरन्तरताका लागि हस्ताक्षर गरेका होइनौँ : अमनलाल मोदी
पार्टी एकताका लागि गरेको हौँ। त्यसबाहेक अन्य दायाँबायाँ केही कुरा छैन। दुई अध्यक्षहरुबीच सहमति हुनुपर्छ। विधि र पद्धतिअनुसार पार्टी चलाउनु पर्छ भनेर जुन विषय आएको छ, त्यसमा जानुपर्छ। पार्टी विभाजन हुन दिनु हुँदैन भन्ने मात्रै हो। यो सरकारको निरन्तरताका लागि हस्ताक्षर गरेको होइन। जुन तरिकाले यसको प्रचार भएको छ, त्यो ठिक भएन। तर पार्टी एकताका लागि हस्ताक्षर गरेका हाँै। त्यसबाहेक अरु कुरा छैन।

यहाँ हस्ताक्षर गर्नेहरु कुरा मिलेन भने सबै आआफ्नै बाटो लाग्छन्। तर, त्यो दुर्भाग्यपूर्ण अवस्था हुनेछ। त्यसैले हामीले भनेको विवादलाई चाँडो समधान गर्नुपर्छ। पार्टीभित्रका एकता कायम गर्नुपर्छ। पार्टीले पनि जीवन पाउनु पर्छ र सरकार पनि प्रभावकारी हुनुपर्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .