राजनीति


ओलीले हटाएका राजदूतले विश्व कुटनीतिमा ‘इतिहास रचे’

ओलीले हटाएका राजदूतले विश्व कुटनीतिमा ‘इतिहास रचे’

मणि दाहाल
साउन ३, २०७६ शुक्रबार १०:२२,

यो त्यतिबेलाको कुरा हो, जतिबेला केपी शर्मा ओली देशमा पहिलो पटक प्रधानमन्त्री भएका थिए। २०७३ वैशाख २३ मा ओली सरकारले भारतका लागि तत्कालीन नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गर्‍यो।

तत्कालीन एमाले र माओवादी संयुक्त सरकारलाई असहयोग गरेको भन्दै उपाध्यायलाई फिर्ता बोलाउने निर्णय भएको थियो। सुशील कोइराला सरकारले नियुक्त गरेका उपाध्यायले राजदूतका रुपमा दिल्लीमा बिताएको त्यतिबेला ७ महिना मात्र पुगेको थियो।

सरकारको पत्र पाएपछि उनी स्वाभाविक रुपमा काठमाडौं फर्किए। तर २०७३ साउनमा ओली सरकार ढल्यो। कांग्रेसको सहयोगमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बने। गठबन्धन सरकारले उपाध्यायलाई फेरि भारतकै लागि राजदूत सिफारिश गर्‍यो।

संसदीय सुनुवाइबाट अनुमोदनपछि राष्ट्रपति विद्यादेवी भण्डारीले २०७३ कार्तिकमा उपाध्यायलाई भारतका लागि नयाँ राजदूत नियुक्त गरिन्।

पहिलो पटक राजदूत भएर फर्केको केही महिनापछि नै त्यही ठाउँमा उपाध्यायको यो दोस्रो नियुक्ति हाम्रा लागि सामान्य घटना जस्तै भयो। संभवतः विश्वमा यस्ता घटना कम नै हुन्छन्।

लामो समय कुटनीतिक क्षेत्रमा बिताएका भारतीय राजदूत मञ्जिवसिंह पुरी पनि यसलाई विशेष घटनाको रुपमा लिन्छन्। बिहीबार काठमाडौंमा पुष्लाल मेमोरियल प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पुरीले ‘उपाध्याय दोस्रो पटक राजदूत भएको विषय ‘विश्व कुटनीतिमै मौलिक भएको’ बताए।

‘विश्वका कुनै मुलुकमा पनि यस्तो भएको मलाई थाहा छैन। दीपकुमार उपाध्यायजीले कुटनीतिक क्षेत्रमा नयाँ इतिहास रच्नु भएको छ’, पूर्व प्रधानमन्त्री माधव नेपाल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली उपस्थित कार्यक्रममा उनले भने।

त्यो कसरी मौलिक भयो त?

‘दीपकुमारजी मौलिक व्यक्तित्व हुनुहुन्छ, उहाँबारे केही चखालाग्दो कुरा बताउँछु’, राजदूत पुरीले भने, ‘उहाँ भारतको दुई पटक राजदूत बन्नुभयो। दुई पटक ओहोदाको प्रमाणपत्र बुझाउँदा बीचमा कुनै व्यक्ति राजदूत भएन।’

राजदूत पुरीले सामान्यतः यस्तो कहीँ नहुने बताए।

‘दोस्रो पटक राजदूत भएर जाँदा पहिला आफै फिर्ता भएको पत्र बुझाएको रेकर्ड विश्वमा कहीँ भएको मलाई जानकारी छैन’, कार्यक्रमको फ्लोरमा बसेका उपाध्यायतर्फ संकेत गर्दै राजदूत पुरीले भने, ‘तपाईंले विश्व कुटनीति क्षेत्रमा नयाँ योगदान गर्नु भएको छ। यो निकै चाखलाग्दो कुरा भएको छ। यसमा धेरै खुशी र हर्षित छु।’

भारतीय राजदूतले यो दृष्टान्त सुनाइरहँदा कांग्रेस नेता एवं पूर्व राजदूत उपाध्याय मुसुमुसु हाँसिरहे। राजदूत पुरीले यो सन्दर्भ व्यांग्यात्मक रुपमा जोडेका हुन्, जुन कुटनीतिक क्षेत्रमा एउटा नयाँ अभ्यास पनि हो।

सामान्यतः नयाँ राजदूतले कार्यकाल सुरु गर्दा पुरानोलाई फिर्ता बोलाएको र नयाँलाई नियुक्त गरेको दुवै चिठ्ठी राष्ट्राध्यक्षले राजदूतमार्फत् सम्बन्धित देशका राष्ट्राध्यक्षलाई पठाउने चलन छ।

manjeev singh puri2चिया पिउँदै बायाँबाट क्रमश: भारतीय राजदूत पुरी, पूर्व राजदूत उपाध्याय तथा नेकपा बरिष्ठ नेता माधवकुमार नेपाल।

चलन अनुसार राजदूत उपाध्याय दोस्रो पटक दिल्ली जाँदा एउटा आफैलाई फिर्ता गरिएको र अर्को आफुलाई राजदूत नियुक्त गरिएको राष्ट्रपतिको चिठ्ठी बोकेर जानु पर्ने थियो। तर उपाध्याय दोस्रो पटक राजदूत नियुक्त भएर दिल्ली जाँदा राष्ट्रपति कार्यालयले उनको साथमा एउटा मात्र पत्र पठायो।

राष्ट्रपति भण्डारीले नियुक्तिको पत्र मात्र लेखिन्। फिर्ताको पत्र लेखिनन्।

‘उपाध्यायजी दोस्रो पटक राजदूत नियुक्त हुँदा फिर्ता भएको नभइ नियुक्तिको मात्रै चिठ्ठी राष्ट्रपतिले लेख्नु भएको थियो,’ राष्ट्रपतिका तत्कालीन परराष्ट्र सल्लाहकार मदनकुमार भट्टराईले भने।

यसअघि एउटै व्यक्ति दोहोर्‍याएर एकै देशका लागि राजदूत नियुक्त भए पनि फरक फरक समयमा भएका थिए। भेषबहादुर थापा र पदमबहादुर खत्री अमेरिकाका लागि दुई पटक राजदूत भए। दुवैको कार्यकाल समय फरक–फरक रह्यो।

दोस्रो पटक राजदूत नियुक्त भएका दीपकुमार उपाध्याय पूरा कार्यकाल दिल्लीमा नबिताइ चुनाब लड्न नेपाल फर्किए। कपिलवस्तुबाट संघीय संसद सदस्यमा चुनाव लडेका उनी पराजित भए।

शीतल निवासमा भारतीय सचिवका बा–आमाको बिहे
कार्यक्रममा भारतीय राजदूत पुरीले नेपाल र भारतबीचका सत्तरी वर्षमा भएका थप रोचक घटनाहरु सुनाएका थिए। उनले रंगमहलबाट शीतल निवास हुँदै कसरी भारतीय दूतावास अहिलेको ठाउँमा पुग्यो भन्नेबारेमा ऐतिहासिक प्रसंग समेत उल्लेख गरे।

‘अहिले भारतका विदेश सचिव विजय गोखलेका बाबु आमाको विवाह शीतल निवासमै भएको हो,’ भारतीय राजदूत पुरीले भने।

विजयका हजुरबा बीके गोखले १९५२ देखि १९५४ सम्म नेपालका लागि भारतीय राजदूत थिए। शुरुमा ठमेलस्थित रंगमहलमा रहेको भारतीय राजदूतवास त्यही समय शीतल निवासमा सरेको थियो।

राजदूत पुरीले भारतमा बेलायतको शासन अन्त्य भएपछि बृटिश सरकार मातहत रहेको सम्पत्ति कसरी बाँडियो भन्ने अर्को रोचक प्रसंग पनि सुनाए।

‘अहिले लैनचौरको भारतीय राजदूतावास रहेको स्थान भाडबण्डामा पाएका हौं,’ राजदूत पुरीले भने, ‘बृटिश सरकार अन्तर्गत रहेको अफगानिस्तानको दूतावासको सम्पत्ति पाकिस्तानको भागमा पर्यो, काठमाडौंमा रहेको सम्पत्ति भारतले पाएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad