ad ad

राजनीति


अलग्गिनु यात्राको नियम नै हो, दृढताका साथ अघि बढौं: रवीन्द्र मिश्र

अलग्गिनु यात्राको नियम नै हो, दृढताका साथ अघि बढौं: रवीन्द्र मिश्र

नेपालखबर
साउन २, २०७७ शुक्रबार ७:४२,

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टी कार्यकतालाई दृढताका साथ अघि बढ्न आग्रह गरेका छन। 

पछिल्लो हप्ता पार्टीका महत्वपूर्ण दुई नेता डा सूर्यराज आचार्य तथा मुमाराम खनाल अलग्गिएका थिए। 

उक्त घटनाक्रमका बाबजुद यात्रा कायम राख्नुपर्ने भएकाले दृढताका साथ अघि बढ्न मिश्रले आग्रह गरेका हुन। 

मिश्रले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै लेखेका छन, 'केन्द्रीय समितिले एक मतले पारित गरेको निर्णयमा हामी अघि बढ्नु पर्दथ्यो र हामीले त्यसै गऱ्यौँ। हाम्रा दुई नेता अलग्गिनु हाम्रा लागि अत्यन्तै खेदजनक स्थिति हो। तर जे भए पनि हामीले हाम्रो यात्रा कायम राख्नुपर्ने हुन्छ। अझ दृढताका साथ अघि बढ्नुपर्ने हुन्छ। यात्राको नियम नै यही हो।'

संयोजक मिश्रले दिएको सन्देश

यो हप्ता पार्टीमा विकसित घटनाक्रमबाट हामीजस्तै तपाईं पनि चिन्तित हुनुहुन्छ भन्नेमा म सचेत छु। पार्टीका म लगायत केन्द्रीय नेतागण सबैले यो स्थिति नआओस् भन्नका लागि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म प्रयास गरेका हौँ।

तर केन्द्रीय समितिले एक मतले पारित गरेको निर्णयमा हामी अघि बढ्नु पर्दथ्यो र हामीले त्यसै गऱ्यौँ। त्यसो गर्दा पार्टीका दुईजना महत्वपूर्ण नेता डा सूर्यराज आचार्य तथा मुमाराम खनाल हामीबाट अलग्गिनु भयो। त्यो हाम्रा लागि अत्यन्तै खेदजनक स्थिति हो।

तर जे भए पनि हामीले हाम्रो यात्रा कायम राख्नुपर्ने हुन्छ। अझ दृढताका साथ अघि बढ्नुपर्ने हुन्छ। यात्राको नियम नै यही हो। राजनीतिमा दशकौँदेखिको बेथिति र दिशाहीनताको विशाल र जब्बर चट्टान फोड्न सहज छैन। त्यसका लागि आदर्शमात्र भएर पुग्दैन राजनीतिक सुझबुझ र व्यावहारिकता दुबैको खाँचो हुन्छ। त्यो खाँचो पुरा गर्न हामी प्रतिवद्ध छौँ।

यसै परिप्रेक्षमा साझा पार्टीले विगतका अनुभवहरूलाई ध्यानमा राख्दै समान सोच भएका पार्टी, समूह र व्यक्तिहरूसँग (१) 'एकीकरण/ध्रुवीकरण' गर्ने, त्यसै क्रममा पार्टीमा भएका कमी कमजोरीलाई सम्वोधन गर्न पार्टी (२) 'पुनर्गठन' गर्ने र पार्टी (३) ‘सुदृढीकरण’ गर्दै राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न सक्ने तेस्रो ध्रुबको निर्माण गर्ने लक्ष्य लिएको छ। यो आदर्श र यथार्थको धरातलमा आधारित राजनीतिक सुझबुझ हो भन्ने हाम्रो धारणा हो। यसका लागि हामीले कार्य प्रारम्भ गरिसकेका छौँ।

एकीकरण/ध्रुवीकरण र पुनर्गठनबाट आर्जन हुने सम्भावित शक्तिको पहिलो परिक्षा आउँदो स्थानीय निर्वाचनमा हुनेछ जसमा काठमाडौँ महानगरपालिका लगायत देशका विभिन्न स्थानका स्थानीय सरकारको नेतृत्व जित्ने हाम्रो प्रमुख उद्देश्य हुनेछ। एकीकरण र ध्रुवीकरणको बाटोमा नगइ त्यो विजय असम्भव प्राय: हुनेछ। स्थानीय चुनावको नतिजाको प्रत्यक्ष असर त्यसपछि आउने संघीय चुनावमा पर्नेछ।

विगत ३ वर्षका आरोह-अवरोहले हामीलाई धेरै सिकाएको छ। साथसाथै यथार्थको धरातलमा हामीलाई नराम्रोसँग बजारेको पनि छ। यो क्रममा हामीले केही हासिल गऱ्यौँ, केही गुमायौँ। नदीमा घोटिँदै गएपछिमात्र ढुङ्गा चिल्लो हुँदै जाने हो। हामी गत ३ वर्षमा राम्रैसँग घोटियौँ तर त्यो अनुभवका आधारमा अब हामी परिष्कृत हुने बेला आएको छ। यसकालागी मन, वचन र कर्मले अघि बढौँ।
तपाईंको आत्मविश्वास नडगमगाओस् भन्ने म कामना गर्दछु। ७० वर्षभन्दा पुराना राजनीतिक दलहरूले जकडाएर राखेको र विकृत बनाएको समाज र यो देश रूपान्तरण गर्ने यात्रा सहज हुनेवाला थिएन र अझै पनि सहज हुने छैन।

यो जटील घडीमा चट्टान झैँ एक र दृढ रहनुभएकोमा म शीर नुहाएर तपाईंलाई नमन गर्न चाहन्छु।

कोरोना महाव्याधीको यो समयमा तपाईं, परिवार र समाजको सुस्वास्थ्यको पनि कामना गर्दछु। हामी सबैको जय होस्, नेपालको जय होस्!

रवीन्द्र मिश्र
संयोजक, साझा पार्टी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .