ad ad

राजनीति


‘कांग्रेसलाई विपक्षमा बस्ने म्यान्डेट छ, कुनै हालतमा सरकारमा जाँदैन’

‘कांग्रेसलाई विपक्षमा बस्ने म्यान्डेट छ, कुनै हालतमा सरकारमा जाँदैन’

नेपालखबर
असार २१, २०७७ आइतबार १४:५९,

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँग पार्टी सभापति शेरबहादुर देउवासँग भएका भेटघाटमा संसद अधिवेशन अन्त्य र संवैधानिक आयोगहरुमा गर्नुपर्ने नियुक्तिबारे छलफल भएको नेपाली कांग्रेसका नेताहरुले बताएका छन्।

ती बैठकमा कांग्रेस सरकारमा सहभागी हुने विषयमा छलफल नभएको केन्द्रीय सदस्य रमेश लेखकले बताए। 

सत्तारुढ नेकपा विभाजनको संघारमा पुगेसँगै प्रधानमन्त्री ओलीले कांग्रेससँग संवाद बढाएका थिए। जसका कारण ओलीले कांग्रेससँग सहकार्य गरेर सत्ता टिकाउने प्रयास गरेको अनुमान धेरैले गरेका छन्। 

तर लेखकले कांग्रेस सरकारमा जाने कुनै सम्भावना नभएको दाबी गरे। 

‘कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्ने जनमत छ, अहिले सरकारमा जाने सम्भावना छैन, बाहिर आएका हल्ला वाहियात हुन्,’ लेखकले नेपालखबरसँग भने।

देउवानिकट नेता लेखकले पछिल्ला घटनाक्रमलाई सरकारमा जाने विषयसँग जोड्नुको कुनै अर्थ नभएको पनि बताए।

‘सभापति देउवासँग छलफलका बेला प्रधानमन्त्रीले केही संवैधानिक आयोगहरुमा थाँति रहेका नियुक्ति गर्नुपर्ने भएको हुँदा त्यसबारे बैठक राखेर निर्णय गर्नुपर्ने अवस्था भएकोबारे कुरा गर्नुभएको रहेछ,’ उनले थपे।

त्यस्तै पूर्वसभामुख नेम्वाङले मुख्यतः संसद् अधिवेशनसँग जोडिएका बिषयमा देउवासँग छलफल गरेको लेखकले बताए।

‘प्रधानमन्त्रीले हठात् संसद् अधिवेशन अन्त्य गरेपछि त्यसप्रति हामीले कडा प्रतिक्रिया जनायौं। पार्टीभित्र प्रधानमन्त्री अप्ठेरो अवस्थामा रहेका बेला प्रमुख प्रतिपक्षसँगको पनि असमझदारी नहोस् भनेर प्रष्ट पार्न खोजिएको देखियो,’ लेखकले भने, ‘प्रमुख प्रतिपक्षले फेरि तत्काल अधिवेसनको माग गर्छ कि भन्ने पनि चासो होला।’

पछिल्ला दिनमा नेकपाभित्र शक्ति संघर्ष उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री ओली गहिरो संकटमा परेका छन्। यसबेला उनको सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

केही दिनभित्रैमा उनले राष्ट्रपतिलाई अनेकौँ पटक भेटिसकेका छन्। 

यही माैकामा कांग्रेस सभापतिसँग प्रधानमन्त्री स्वयं र उनका विश्वासपात्र नेताहरुको भेटघाट सघन भएपछि पार्टी विभाजन भएको अवस्थामा कांग्रेससँग मिलेर सरकार टिकाउने अवस्थासम्मको तयारी गरेको हुनसक्ने नेकपा नेताहरुको आशंका छ।  

असार १० गतेदेखि बसेको नेकपा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि विवाद उत्कर्षमा पुगेको हो। 

पार्टीमा संकटमा परेर कांग्रेसको साथ खोजेका ओलीले सभापति देउवालाई असार १७ गते भेट गरेको विषयबारे कांग्रेसको आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा पनि नेताहरुले प्रश्न उठाएका थिए।

वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ पार्टी फुटाउनेगरी हिमचिम बढाएको भन्दै प्रश्न गरेका थिए।

ओली–देउवा नजिकिएको विषयमा बैठकमै कुरा उठेपछि उनले जवाफ दिँदै सरकारमा जाने गरी कुनै भेट नगरेको प्रष्ट्याएका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .