प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको मागसहित सत्तारुढ नेकपामा जारी विवाद चर्किंर्द गएपछि पार्टीका शीर्ष नेताहरुबीच सहमति जुटाउने प्रयास सुरु भएको छ।
सोहि प्रयासअन्तर्गत शुक्रबार अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल गराउने तयारी भएको हो।
नेकपाका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्माले अध्यक्षद्वयबीच छलफल गराउन लागेका हुन्।
तत्कालिन नेकपा–एमाले र माओवादी केन्द्रबीच एकता गर्दा पनि महत्वपूर्ण भुमिका खेलेका पौडेल र शर्मा शुक्रबार बिहानैदेखि सक्रिय भएका हुन्।
स्रोतका अनुसार केहिबेरपछि ओली प्रचण्डबीच भेट हुँदैछ।
‘स्थानबारेमा टुंगो नलागेको हो वा केही नबताइएको हो, अहिले चाहिँ ठाउँबारे थाह भएन,’ स्रोतले भन्यो।
यसैबीच आज शुक्रबार बिहानैदेखि ओलीपक्षीय तथा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोस्रो र तेस्रो तहका नेताहरु पनि आगामी रणनीति तय गर्न आन्तरिक बैठकमा व्यस्त रहे।
बिहीबार बसेको स्थायी समिति बैठक राम्रोसँग सञ्चालन नै नभई स्थगित भएको थियो। समितिकाे अर्काे बैठक शनिबारका लागि ताेकिएकाे छ। यसबीचमा नेताहरुबीच सहमति जुटाउने प्रयास गरिने नेताहरुले बताएका छन्।
Shares

प्रतिक्रिया