सर्लाहीको रामनगरमा हत्या भएका नेकपा कार्यकर्ता रामजलन रायका पीडित परिवारलाई संघीय सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ती दिने निर्णय गरेको छ।
रामनगर ४ निवासी नेकपा कार्यकर्ता रायको ६ असारमा अज्ञात समूहले अपहरणपछि हत्या गरेको थियो। उनको शव गाउँ नजिकैको बाँसघारीमा फेला परेको थियो। कांग्रेसको योजनामा उनको हत्या भएको आरोप नेकपाले लगाउँदै आएको छ।
रायको हत्यामा संलग्न भएको आरोपमा कांग्रेसबाट निर्वाचित रामनगर ४ का वडाध्यक्ष रामनरेश महतोलाई प्रहरीले पक्राउ गरेको छ।
नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले मृतक रायका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ती दिने निर्णय संघीय सरकारको मन्त्रिपरिषद बैठकले गरेको जानकारी दिए। ‘हामीलाई गृहमन्त्री रामबहादुर थापा (बादल) र श्रममन्त्री रामेश्वर रायले मृतकका आश्रित परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ती दिने निर्णय भएको जानकारी दिनु भएको छ,’ बुढाथोकीले भने।
नेकपाका कार्यकर्ता रायको कांग्रेसको योजनामा नियोजित हत्या भएको आरोप नेकपाले लगाएको छ। नेकपा सर्लाहीका नेताले गृहमन्त्रीलाई भेटेर हत्यारालाई पक्राउ गरी कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ती दिन माग गर्दै आएका छन्।
हत्याको घटनालाई लिएर नेकपाले चार दिन अघि सर्लाहीमा मशाल जुलुश प्रदर्शन गएको थियो। मशाल जुलुशको क्रममा धनकौलमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडपसमेत भएको थियो।
गोलीसमेत चलेको सो झडपमा परी नेकपा र कांग्रेसका दुई दर्जन कार्यकर्ता घाइते भएका थिए। गोली प्रहार गरेको आरोपमा प्रहरीले कांग्रेस कार्यकर्ता मुकेश साह पक्राउ गरको छ।
कांग्रेसबाट निर्वाचित रामनगर गाउँपालिकाका अध्यक्ष रामआश्रय साह र प्रदेश सभा सदस्य वीरेन्द्र प्रसाद सिंहको डिजाइनमा आफ्ना कार्यकर्ताको हत्या भएको आरोप नेकपाले लगाउँदै आएको छ।

प्रतिक्रिया