लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा गतहप्ताको सोमबार भारतीय र चिनियाँ सेनाबीच झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो।
चिनियाँ सेनाले भने आफ्ना सेनाको अवस्थाको बारेमा केही खुलाएको छैन।
उक्त हिंस्रक झडपछि विवादित हिमाली क्षेत्रबाट आफ्ना सेनाहरु फर्काउन दुवै देश तयार भएको रोयटर्सले जनाएको छ।
बेइजिङमा पत्रकारसँग कुराकानी गर्दै चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले भारत र चीन दुवै देशले तनावलाई अन्त्य गर्न सहमति गरेको जानकारी दिएका छन्।
लिजियानले मंगलबार ४० चिनियाँ सेना मारिएको भन्ने भारतीय दाबीमा सत्यता नभएको पनि उल्लेख गरे।
सोमबार भारत र चीनका सैन्य कमाण्डरबीच ११ घण्टा छलफल भएको थियो। उक्त छलफलपछि रोयटर्ससँग एक भारतीय अधिकारीले भनेका थिए,‘छलफलमा सेना फर्काउने आपसी सहमति भएको छ।’
लद्दाख नजिकको सिमानामा भारत र चीनबीच गलवान उपत्यका र पाङगोङ तालको विषयलाई लिएर विवाद छ।
यी क्षेत्रहरु भारत र अक्साइ चीनसँग जोडिएका छन्। त्यसकारण दुवै देशले यी क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ।
यसबीचमा गत मे महिनादेखि उक्त क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच आमनेसामने हुँदै आएको थियो। सोही क्रममा सोमबार झडप भएको थियो।
Shares

प्रतिक्रिया