राजनीति


नेपालसँग सम्बन्ध सामान्य नभएको भन्दै दिल्लीमा चिन्ता, सैन्य सम्मेलनमा छलफल

नेपालसँग सम्बन्ध सामान्य नभएको भन्दै दिल्लीमा चिन्ता, सैन्य सम्मेलनमा छलफल

चन्द्रलाल गिरी
असार २९, २०७६ आइतबार ५:१४,

नाकाबन्दीपछिका चार वर्षसम्म पनि नेपालसँगको सम्बन्ध सामान्य अवस्थामा नर्फिएको निष्कर्ष निकाल्दै भारतका विदेश मामिला विज्ञहरूले चासो व्यक्त गर्न थालेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल सरकारले भारतको सरोकारका मुद्दाहरुमा त्यत्ति चासो नदिएको र अर्को छिमेकी चीनतिर ढल्किएको उनीहरूको दाबी छ।

नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको गतिविधिसँग जोडेर भारतीय सुरक्षा निकायले सुरक्षा चासो पनि देखाउन थालेका छन्। भारतीय सेनाको केन्द्रीय कमाण्डले असार ११ गते उत्तर प्रदेशको राजधानी लखनउमा नेपाल मामिलामा सम्मेलन नै आयोजना गरि सुरक्षा चासोमाथि छलफल गरेको छ। भारतीय सेनाले विशेष अवस्थामा मात्रै यस्तो छलफल आयोजना गर्ने गरेको सुरक्षा विज्ञहरू बताउँछन्।

IndianArmy

‘नाकाबन्दीपछि नेपालमा बढेको भारतविरोधी जनतमतलाई कसरी सामान्य अवस्थामा फर्काएर भारतको सुरक्षा चुनौति कम गर्न सकिन्छ भनेर विर्मश गरियो’, सम्मेलनमा सहभागी भएका भारतीय सुरक्षा विज्ञ अशोक मेहताले भने।

भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल अशोक मेहता नेपाल–भारत सम्बन्ध अझै सामान्य अवस्थामा नफर्किएको ठान्छन्। प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सुशील कोइराला प्रधानमन्त्री हुँदाजस्तो ‘केमेष्ट्री’ नमिलेको उनको भनाइ छ।

‘अहिले भारतको नेपाल नीति आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, आर्थिक विकासमा सहयोग गर्ने हो’, मेहताले दिल्लीमा नेपालखबरसँग भने, ‘तर श्रीलंका, बंगलादेश, माल्दिभ्सले भारत र चीन दुवैसँग सहज सम्बन्ध बनाउँदा नेपाल चाहिँ चीनतिर बढी ढल्केको दिल्लीको बुझाइ छ।’

भारतीय सेनाको गोर्खा राफल्सका कमाण्डर समेत रहिसकेका मेहताले लखनउ सम्मेलनमा ‘नेपालमा भारतविरोधी जनमत कसरी घटाउने’ भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको बताए।

‘दुई देशबीचको सम्बन्ध सामान्य बनाउन ओली सरकारले भारतविरोधी जनमत घटाउन भूमिका नखेलेको निश्कर्ष रह्यो’, उनले थपे।

भारतीय सेनाका अधिकारीहरू सहभागी रहेको लखनउ सम्मेलनमा प्राध्यापक एसडी मुनी, जनरल मेहता, रक्षा अध्ययन तथा विश्लेषण संस्था (आइडीएसए) का निहार नायक, प्राध्यापक संगीता थपलियाले नेपालको चीन र भारतसँगको सम्बन्धमाथि प्रस्तुती दिएका थिए। 

प्राध्यापक मुनी नाकाबन्दीपछि दुवै देशमा निर्वाचन भएर नयाँ सरकार आउँदा पनि नेपाल–भारत सम्बन्ध सामान्य अवस्थामा फर्किनसकेको बताउँछन्।

‘प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो कार्यकालमा नेपालसँगको सम्बन्ध सहज बनाउन समकक्षी ओलीलाई राष्ट्रपति भवनमा भब्य स्वागत गर्नुभयो, अनि आफै पनि चार पटक नेपाल भ्रमणमा जानुभयो’, प्राध्यापक मुनी भन्छन्, ‘सम्बन्ध सुधारमा भारतको मात्रै जोड भयो, नेपालले भने चीनले अघि सारेको बीआरआईको फ्रेमभित्र रहेर विकास गर्ने नीति लिएको छ। त्यसमा भारत खुशी छैन।’

नेपालले चीनसँग हस्ताक्षर गरेको बीआरआईको फ्रेमभित्रका दुई बुँदामा भारतको चासो रहेको मुनीले बताए।

‘आर्थिक विकासमा चीनसँग नीतिगत सहकार्य गर्ने र नेपालमा चीनको लगानी प्रवद्र्धन गर्ने बुँदामा भारतको विशेष चासो छ’, उनले भने।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा भारतसँग भएको दुई पक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण (बीप्पा) सम्झौता खारेज भएपछि बीआरआई अन्तर्गत चीनको लगानी प्रवद्र्धन गर्न खोजिएको मुनीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad