अमेरिकामा आगामी नोभेम्बरमा तय भएको राष्ट्रपतीय चुनाव समान्य होस् भन्ने चाहना भए अमेरिकाले दुई कोरियाबीचको आन्तरिक विषयमा हस्तक्षेप गर्न नहुने उत्तरको भनाइ छ।
चुप लागेर बस्नु मै अमेरिकलाई हित हुने उत्तरको बुझाइ छ। हालै उत्तर कोरियाले दक्षिण कोरियासँगको सबै किसिमको सम्पर्क बन्द गर्ने निर्णय गरेको छ। अमेरिकाले यस विषयमा आपत्ति जनाएको थियो।
अमेरिकाले उत्तर कोरियाली कार्यमा असन्तुष्टी व्यक्त गरेपछि उत्तर कोरियाली विदेश मन्त्रालयका अमेरिकी मामिला विभागका महानिर्देशक क्वोन जङ–गन भन्छन्,‘यदी अमेरिकाले आफ्नो आन्तरिक मामिलामा ध्यान दिन छाडेर अरुको आन्तरिक विषयमा गैरजिम्मेवार टिप्पणी गर्दै नाक तेस्र्याइरहन्छ भने उसले सम्हाल्न नसक्ने असहज परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ।’
क्वोनले अमेरिकाको राजनीतिक अवस्था हालसम्मकै खराब भएको बताउँदै अमेरिकाले आफ्नो घरेलु समस्यामा ध्यान दिनुपर्ने र बोल्दा जिब्रो सम्हाल्नु पर्ने बताए।
अमेरिका दोहोरो चरित्र भएको देश भएको समेत क्वोनको आरोप छ।
दक्षिण कोरियाको मध्यस्थतामा उत्तर कोरिया र अमेरिकाबीच सन् २०१८ यता दुईपटक शिखर वार्ता भयो। वार्तापछि उत्तरले क्षेप्यास्त्र निशस्त्रीकरण गर्ने वाचा गरेपनि अमेरिकाले उत्तरमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाएको छैन।
अमेरिकाले सम्झौता नमानेको आरोप लगाउँदै पछिल्लो समय उत्तरले क्षेप्यास्त्र परीक्षणलाई तिव्रता दिइरहेको छ।
उत्तर कोरियाबाट भागेका र दक्षिण कोरियाली रुढीबादी प्रदर्शनकारीहरुले उत्तर कोरियातर्फ सीमा क्षेत्रबाट ठुल्ठूला बेलुन उडाएका थिए। यी बेलुनमा उत्तर कोरियाली नेता किम जोङ उनको आणविक महत्वाकाँक्षा र मानव अधिकार उल्लंघन गरेको भन्दै आलोचना गरिएका पर्चा पनि राखिएका थिए।
सीमा क्षेत्रबाट भएका अवाञ्छित गतिविधिले उत्तर कोरियाली नेताको नेतृत्वलाई अपमान गरेको उत्तरको बुझाई छ। पटक पटक बेलुन उडाइएपछि उत्तर कोरियाले दक्षिणसँग गरिएका सम्झौताहरु रद्द गर्ने चेतावनी दिइरहँदा सम्पर्क बन्द गर्ने निर्णय भएको हो। योनहाप न्युज एजेन्सी
यो पनिः अमेरिकालाई अस्ताउँदो सूर्यको संज्ञा दिँदै उत्तर कोरियाले भन्योः चीन उदायो

प्रतिक्रिया