ad ad

राजनीति


कानून पढेकी गलकोटकी उपमेयर मुद्दा मिलाउँदै

कानून पढेकी गलकोटकी उपमेयर मुद्दा मिलाउँदै

वाशुदेव मिश्र
असार २७, २०७६ शुक्रबार ९:३२,

लाउँलाउँ खाउँखाउँको उमेर! कानूनकी विद्यार्थी, डिग्रीको सर्टिफिकेट अनि उपमेयरको जिम्मेवारी। दायित्ववोधले थिचिएको वैंँशालु चञ्चलेपन छँदैछ! केटीको उमेर नसोध्नु भन्छन् क्यारे! तर, बागलुङ गलकोटकी उपमेयर रेनुका काउचा मगरसँगको भेटको सुरुमै सोधियो,‘तपाईँ कति वर्ष हुनुभयो?’ उनी केही अक्मकाइन्। सायद, सुरुमै यस्तो प्रश्नको अपेक्षा नहुँदो हो!

लगत्तै, सहज बनिन् र भनिन्, ‘३३ वर्ष!’

देशभरका २ सय ७६ महिला उपप्रमुखमध्येकी एक हुन्, रेनुका। उपमेयरको रुपमा भने उनी गन्तीमा अगाडि पर्छिन्। संविधानप्रदत्त महिला सहभागिताको बाध्यात्मक व्यवस्थाले मात्रै होइन,सानो उमेरको तीव्र राजनीतिक यात्राले उनलाई उपमेयर बनेकी हुन्, रेनुका। चल्तीको भाषामा भन्दा पुरानो राजनीतिक घरानाकी ‘सेल्फमेड’ पनि हुन् उनी।

कम्युनिष्टको उर्वरभूमि बागलुङ। गलककोटकै चित्रबहाुदर केसी कम्युनिष्ट दर्शन र मुक्तिका कुरा सुनाउँथे। मालेका झलनाथ खनाल पनि मास्टर बनेर गलकोटै नै पुगेका। उनले पनि मास्टरीसँगै माक्र्सवादको प्रचार गर्न भ्याए। परि थापा के कम? उनी पनि मुक्तिका नारासहित गाउँ चहाथे।

तर, रेनुकाका मावलीतिरका बाजे मुखिया खलकलाई माक्र्सवादले तान्नै सकेन। बाजे गंगाप्रसाद श्रीसको प्रभाव उनीमािथ पर्ने नै भयो। अझ, आमा झमाया त २०५४ सालमा कांग्रेसबाट जितेकी वडा सदस्य!

‘बाजे र बुबाहरु पढ्नुपर्छ भन्नुहुन्थ्यो, स्कूलको पहिलो विद्यार्थी, एसएलसी सक्दासम्म पनि राजनीति गर्छु भन्ने थिएन’, उनले भनिन्,‘ बरु मास्टर डिग्री जसरी नि गर्नुपर्छ भन्ने मनमा थियो।’
राजनीति गर्छु भन्ने थिएन तर कांग्रेसभन्दा अर्को पार्टीतिर मन पनि गएन। बुझ्ने हुँदासम्म उनलाई पार्टी भनेको नेपाली कांग्रेस मात्रै हो भन्ने लाग्थ्यो रे! उनी जन्मेको बागलुङको गलकोट,रिघाबाट काठमाण्डौ झण्डै ३ सय १८ किलोमिटर टाढा छ। १२ धुलौटे र कालोपत्रे गरी करिब ३ सय १८ किलोमिटरको यात्रा तय गर्नुपर्छ। रिघाबाटै एसएलसी छिचोलेपछि उनले पनि बढो कष्टकासाथ यो यात्रा तय गरिन्।

नर्सिङप्रति भर्खरै आकर्षण सुरु भएको बेला थियो। नर्सिङ पढ्ने मेसो मिलेन। २०५९ सालमा उनी सरस्वती क्याम्पसमा व्यवस्थापनको विद्यार्थी बनिन्।

गाउँदेखिकै भलिबल खेलाडी रेनुका कलेजमा पनि भलिबल खेल्थिन्। भलिबल खेल्ने महिला साह्रै कम। टिम नै नपुग्ने। केटाहरुसँगै भलिबल खेल्थे उनीहरु। कलेजमा राजनीति नहुने कुरै भएन।

ग्रेसप्रतिको आस्था छँदैथियो, राजनीतिक चेत पनि पुष्टिदैँ गयो। २०६५ सालको स्वतन्त्र विद्यार्थी युनियनमा उनी नेपाल विद्यार्थी संघको तर्फबाट कोषाध्यक्षको उम्मेदवार बनिन । तत्कालीन एमाले निकट अखिलसँगको सहकार्यमा चुनाव लडेको उनलको प्यानलले सभापति र बहुमत गुमायो तर उनीसहित दुई जना सदस्य भने विजयी बने।

जीवनले अर्कै मोड लियो। उनी लहलहैमा नेता बनिन्। अहिलेकी खानेपानीमन्त्री विना मगरको अध्यक्षताको स्ववियूमा काम गर्दा उनलाई विपक्षीसँग कस्तो व्यवहार गर्ने भन्ने पनि सिकायो। २०६३ को परिवर्तनपछि सबै जातजातिहरुले अधिकार खोजेको बेला थियो त्यो।

‘गाउँमा हुँदा हामी (मगर) नै ठूला थियौँ, त्यस्तो विभेद छ भन्ने थाहै थिएन’,उनले भनिन्,‘ पछि बुझ्दा थाहा भयो,राज्यका निकायहरुमा हाम्रो (जनजाति)को उपस्थिति कम छ, हामी पछि परेका छौँ भन्ने महशुस हुनथाल्यो।’ त्यसपछि उनी जातीय संगठनतिर पनि तानिइन्।

मगर विद्यार्थी संघमा आवद्धतासँगै अध्यक्ष बनिन्। मगर विद्यार्थीकै संगठन भए पनि त्यहाँ विभिन्न विचारका मान्छे थिए। ‘मगर विद्यार्थीको अध्यक्ष हुँदा मैले अरु विचारका मान्छेहरुसँग व्यवहार गर्दा कस्तो रणनीति अपनाउनुपर्छ भन्ने बुझेँ’, उनले सुनाइन्, ‘त्यो कार्यकालले मलाई सुझबुझपूर्ण निर्णय कसरी गर्ने भन्ने पनि सिकायो।’

हातमा वाणिज्यशास्त्रको डिग्री सर्टिफिकेट थियो। तर, उनलाई कानूनले तान्यो। कानून बुझ्नुपर्छ भन्ने चेतले उनलाई एलएलबीको सर्टिफिकेट पनि दिलायो। राजनीतिका खुट्किलाहरु उक्लँदै गर्दा उनी नेपाल महिला संघकी केन्द्रीय सदस्य बनिन्, विद्यार्थी राजनीतिको आभाले उनलाई २०७० सालको निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार पनि बनायो। भलै, उनी संविधानसभा छिर्न पाइनन्। लगत्तै कांग्रेसको महासमिति सदस्य बनिन्। २०७४ सालको स्थानीय निकाय निर्वाचनमा उनले आफूलाई गलकोटको मेयरको उम्मेदवारको रुपमा प्रस्तुत गरिन्।

बागलुङ जिल्लामा गलकोट रेमिट्यान्सको लागि मात्रै हैन, कांग्रेस बाहुल्यताको कारण पनि चर्चित छ। उनीसँगै मेयर उम्मेदवारको लाइनमा १३ जना कांग्रेसी उभिए। रस्साकस्सीपछि उनले उपमेयरमा चित्त बुझाइन्। ‘बन्न खोजको मेयर तर अग्रजलाई सम्मान गर्दै म उपमेयरको उम्मेदवार बनेँ’, उनले भनिन्,‘पार्टीको निर्णयलाई जनताले पत्याएकाले म अहिले यो (उपमेयर) को जिम्मेवारीमा छु।’ देशैभर कांग्रेसले हार्दा उनले जितिन्। उनको चुनावै नहारेको रेकर्ड कायमै रह्यो।

golkote 1

राजनीतिमा कमै व्यक्तिले छिटो छलाङ मार्छन्। छलाङ मार्न आशिर्वाद कि खुबी चाहिन्छ। त्यसो भए, रेनुको हकमा के त? उनले सहज उत्तर दिइन्,‘ राजनीतिमा लागेर मेरो हजुबुबा, बाजेहरुले केही पाउनु भएन, मैले पाउँदा उनीहरुमाथि पनि न्याय भएको छ।’ चन्द्रबहादुर र झमायाकी छोरीले यसो भनिरँदा आफ्नो भाई अष्टे«लिया र बहिनी पढ्दै गरेको भन्न पनि छुटाइनन्।

उपमेयरको जिम्मेवारीमा रेनुका

उपमेयर भएको दोस्रो वर्ष पूरा भएको छ। पछिल्लो पटक नगरपालिका बनेको गलकोटमा गर्नुपर्ने धेरै काम छन्। जनताका आंकाक्षाहरु चुलिएका छन्। सीमित स्रोत र साधनले भनेजति सबै कुरा गर्न पनि गाह्रो। कुर्चीमा बसेपछि गर्दिन भन्न पनि नसकिने। उनी बाँधिएकी छन्, यतिबेला।

आफ्नो कार्यकालको २ वर्ष पूर्वाधार निर्माण र सामाजिक विकासमा खर्चेको बताउँदै उनले भनिन्,‘जनताले तत्काल सेवा खोजका छन् तर स्रोत र साधनको कमीले भनेजस्तो गर्न सकिएको छैन अनि आशा पनि मारिएको छैन।’ सहरोन्मुख गलकोटलाई आधुनिक सहर बनाउने, सबै वडाहरुमा बाटो लैजाने, सामाजिक सुरक्षाका कार्यक्रमहरुलाई प्रभावकारी बनाउने तथा नगरवासीको जीवनस्तर माथि उठाउनु नै आफ्नो उद्देश्य भएको उनले सुनाइन्।

पढेकी उपमेयरको दर्जा पाएकी उनले शिक्षाको समुचित विकासमा जोड दिँदै गुणस्तरीय उच्च शिक्षा र स्वास्थ्यमाथिको सहज पहुँच पनि नगरपालिकाको लक्ष्य र दायित्व भएको बताइन्। सिस्टम बनाउन गाह्रो भएको सुनाउँदै उनले सिस्टम बनेपछि काम सहज हुने आश पनि गरिन्।

कानून पढेकाले न्यायिक समितिमा सजिलो

संविधानले स्थानीय निकायको न्यायीक समितिको जिम्मेवारी उपमेयरलाई सुम्पेको छ। स्वभाविक रुपले उनी गलकोट न्यायीक समितिकी न्यायाधीश हुन्। कानून नै नजानेकालाई कानूनी काम दिइएको भन्दै न्यायीक समितिको कामप्रति औंला ठड्याउन थालिएको छ। तर, पढेको कुरा काम लाग्दो रहेछ। रेनुकालाई कानून जानेर सजिलो भएको छ।

‘कानून पढे पनि न्यायीक प्रक्रियाबारे थाहा थिएन र केही असजिलो भयो’, उनले सुनाइन्,‘ कानूनको कुरा हावामा बोलेर भएन, पछि प्रक्रियाबारे जानकारी राखियो, इजलास त छैन तर हामीले केही मुद्दाहरु भने मिलायौँ।’ उनले पारिवारिक झैझगडा र सम्बन्ध विच्छेदका मुद्दाहरु लिएर आउने क्रम बढेकोमा चिन्ता पनि जनाइन्।

क्षेत्राधिकार विवाद

अहिले उपमेयरले अधिकार नपाएको चर्चा छ। महिला उपमेयरलाई देखाउने दाँत मात्र बनाउने र अधिकार नदिने गुनासो बढको छ नि? भन्ने प्रश्नमा उनले गलकोटमा त्यस्तो केही नभएको प्रतिक्रिया दिइन्।
‘मेयर (भरत शर्मा गैरे) पनि काूनन पढेकाले हामीले एकअर्काको जिम्मेवारी बुझेका छौँ, आफ्नो जिम्मेवारी बुझ्यो भने द्धन्द्ध हुँदैन’, उनले भनिन्, ‘कानूनले दिएको अधिकारसँगै व्यवहारिक पनि बन्नुपर्छ।’ पोहोर साल अमेरिकामा भएको महिलाको दीगो सहभागिता विषयक २१ दिने गोष्ठी,इण्डोनेसियामा सम्पन्न संघीयताबारेको अध्ययनले पनि अधिकार क्षेत्र के हो भन्नेबारे सघाएको उनको विचार छ।

कांग्रेस र महिला नेतृत्व

आफूलाई सिकारु बताउँछिन्, उनी। कानून पढेकीले तौलेर बोल्न जानेकी छन्। कांग्रेसको अहिलेको स्थिति उनलाई राम्रोसँग थाहा छ। पार्टीभित्र आफू ठीक भए अरु पनि ठीक हुन्छन् भन्ने मान्यता बोक्ने उनी सक्षमलाई अवसर दिनुपर्ने वकालत गर्छिन्। यद्यपी, त्यागलाई अवमूल्यन गर्ने पक्षमा उनी छैनन्। ‘आफू नसुध्रने अनि पार्टी गतिलो भएन भन्न पाइँदैन’, वफादार कार्यकर्ताको रुपमा उनले दृढतापूर्वक भनिन्,‘कांग्रेसजस्तो लोकतान्त्रिक अरु पार्टी छैन तर सुधार जरुरी छ।’ उपमेयरपछि पनि राजनीतिको लामो यात्राको महत्कांक्षा उनले लुकाइनन्। उनले महिला सहभागिता बढाउने विषयलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिइन्।

सानै उमेरको आफ्नो सफलता अरुको लागि पनि प्रेरणा बन्छ कि भन्ने पनि छ उनीसँग। महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने र अवसर पाए महिलाले पनि काम गर्न सक्छन् भन्ने उदाहरण खोज्न अब टाढा जानुपर्ने दिन सकिएको बताउँदै उनले भनिन्,‘देशमा महिलाले राजनीति गर्नु हुन्न भन्ने थियो, राजनीति राम्रो हैन भन्ने युवापुस्ता थियो तर हाम्रो उपस्थितिले कम्तिमा महिला र युवा दुबैलाई राजनीतिप्रति आकर्षित गरेको छ।’ नेतृत्व गर्छु भन्नेले पहिला आफू राम्रो बन्नुपर्ने, अरुलाई नराम्रो नगर्ने र पहिलो प्रतिष्पर्धी आफूलाई नै मान्नुपर्ने आफ्नो मूलमन्त्र रहेको पनि उनले सुनाइन्।

र, अन्त्यमा ......

renu
राजनीतिले उनको दैनिकी बदलिएको छ। सानोमा जस्तै भलिबल खेल्न मन लाग्छ तर आफ्ना उमेरका दौँतरी छैनन् र समय पनि कमै छ। पढ्ने र सिक्ने चाहना छ तर साहित्य उनी कमै पढ्छिन्। अँ अर्को कुरा, उनी अहिले पनि अबिबाहित नै हुन्।

अन्तिममा अनावश्यक प्रश्न सोधियो, ‘धेरैले सोधे होलान्, बिहे किन नगर्नु भएको?’

उनले मुस्कुराउँदै भनिन्,‘नेपाली समाजले कोरेको बिहेको कालखण्डमा फुर्सद नै भएन।’

प्रश्न अनावश्यक थियो, त्यसैले वकिलसमेत रहेकी उपमेयरसँग कहिले बिहे गर्ने भन्ने प्रश्न सोध्ने हिम्मत गरिएन!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .