राजनीति


एमाले पुनर्गठन कार्यदलको सदस्य सचिवमा पोखरेल, सातै प्रदेशमा भेला गरिने

एमाले पुनर्गठन कार्यदलको सदस्य सचिवमा पोखरेल, सातै प्रदेशमा भेला गरिने

नेपालखबर
जेठ २६, २०८३ मंगलबार १६:२, काठमाडौँ

नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी सुझाव सङ्कलन गर्ने भएको छ। 

मंगलबार बसेको कार्यदलको बैठकले सुझाव संकलनका लागि देशव्यापी भेला गर्ने निर्णय गरेको हो। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदलको पहिलो बैठकले संगठन सुदृढीकरण र भावी कार्यदिशा निर्धारणलाई लक्षित गर्दै असार १९ गतेसम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना तय गरेको प्रचार विभाग प्रमुख निरज आचार्यले बताए।

बैठकले पार्टी संरचना थप सुदृढ र प्रभावकारी बनाउन प्रदेशदेखि केन्द्र तहसम्म सुझाव सङ्कलन तथा छलफल कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ। बैठकले जेठ ३० मा बागमती प्रदेश, असार २ मा कोशी प्रदेश, असार ४ मा लुम्बिनी प्रदेश, असार ६ मा सुदूरपश्चिम प्रदेश, असार ८ मा कर्णाली प्रदेश, असार ११ मा गण्डकी प्रदेश, असार १३ मा मधेश प्रदेश, असार १६ मा राजधानी, असार १७ मा सम्पर्क समन्वय, असार १८ मा जनसंगठन र असार १९ मा विभाग प्रमुख तथा निकायका पदाधिकारीसँग छलफल गर्ने तय गरिएको छ। 

प्रदेशस्तरीय भेलामा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला तहका पदाधिकारीको सहभागिता रहने जनाइएको छ। कार्यक्रमको समन्वय सम्बन्धित प्रदेश इन्चार्जहरूले गर्ने निर्णय गरिएको छ।

त्यस्तै, कार्यदलका सदस्य सचिवको जिम्मेवारी शंकर पोखरेललाई दिने निर्णय पनि बैठकले गरेको छ। बैठकमा अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध, संगठित र जनमुखी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै कार्यकर्तालाई जनतामाझ सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

बैठकमा निर्वाचन समीक्षा, संगठन पुनर्गठन तथा आगामी कार्यदिशाबारे विस्तृत छलफल भएको कार्यदलका सदस्य तथा एमाले सचिव महेश बस्नेतले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad