प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भनी सनसनीपूर्ण विवादास्पद अभिव्यक्ति दिएको भोलिपल्ट सोमबार भारत भ्रमणमा गएका सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज मंगलबार भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा नेपाल-भारत सम्बन्धका विषयमा लेख लेखेका छन्।
त्यसमा उनले सीमा विवादको प्रसंग पनि थोरै कोट्याउने कोसिस गरेका छन्।
उनले नेपाल र भारतबिचको सम्बन्धबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्मा बताएको कुरा स्मरण गराउँदै त्यहीअनुरूप मतभेद हटाएर अघि बढ्नुपर्ने धारणा राखेका छन्।
लामिछानेले लेखेका छन्, ‘जब हामी सम्बन्धलाई पुनर्निर्माण गर्ने र गहिरो बनाउने सोच्छौँ तब हामीसँग एउटा कालातीत मिति छ: अगस्ट ३, २०१४। त्यस दिन प्रधानमन्त्री नरेन्द्र मोदीले संसद्मा बताएको मात्र होइन; नेपाली जनतासँग प्रत्यक्ष कुरा गर्न उहाँ सडकमा पनि निस्किनुभयो। उहाँले प्रेमपूर्वक घोषणा गर्नुभयो- भारत र नेपालको सम्बन्ध हिमालय र गंगाजत्तिकै पुरानो छ, जुन कागजभन्दा धेरै परसम्म फैलिएको छ। अनि उहाँले जोड दिएर भन्नुभएको थियो- हाम्रा सिमाना पुल बन्नुपर्छ, अवरोध होइन।’
उनले अगाडि लेखेका छन्, ‘त्यसयता बागमती र गंगामा धेरै पानी बगिसकेको छ। यी नदी पहाडमा ठोकिँदैनन्; उनीहरूले आफ्नो बाटो आफैँ बनाउँछन् र हामी पनि त्यसै गर्नेछौँ। हामीसँग त्यो अगस्टको दिनको विश्वास र प्रेममा फर्कनुको विकल्प छैन। र, हामी फर्कनेछौँ- पूर्ण इमानदारीका साथ र त्यो प्रतिबद्धताबमोजिम पुल बनाउन पहिलो ढुंगा उठाउने व्यावहारिक दृष्टिकोणका साथ, जसले नयाँ सम्भावना खोल्नेछ र पुराना मतभिन्नता हटाउनेछ।’
साथै उनले मुख्य मुद्दाहरूलाई गलैँचाले छोपेर साँचो मित्रता प्राप्त गर्न नसक्ने उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘त्यसकारण हालसालै हामीबिच देखिएका विवाद लम्बिनु हुँदैन। तिनलाई ऐतिहासिक तथ्य र आपसी समझदारीका आधारमा समाधान गर्न सकिन्छ। हामी पुराना राजनीतिकर्मीहरूले प्रयोग गर्ने अति राष्ट्रवादी अभिव्यक्तिलाई घृणा गर्छौं। हामीले प्रस्ताव गर्ने विकल्प भनेको प्रमाणमा आधारित संवाद र चुनावी विचारबाट मुक्त व्यावहारिक दृष्टिकोण हो।’
लेखमा लामिछानेले नेपालमा भएको हालैको राजनीतिक परिवर्तनलाई 'ब्यालेट बक्स क्रान्ति'को संज्ञा दिँदै नयाँ नेतृत्वले विगतका कुनै पनि विवादको झोला नबोक्ने उल्लेख गरेका छन्। उनले रास्वपाको उदयले नेपालमा सुशासन र जनताप्रतिको उत्तरदायित्वलाई मुख्य एजेन्डा बनाएको उल्लेख गर्दै अब भारतसँगको सम्बन्धलाई पनि आर्थिक रूपान्तरणको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
यस क्रममा उनले सिमाना जोडेर मात्र नपुग्ने उल्लेख गर्दै दुई देशको अर्थतन्त्रलाई नै एकीकृत रूपमा जोड्नुपर्ने प्रस्ताव गरेका छन्। लेखमा लामिछानेले रक्सौल–काठमाडौँ रेलमार्ग निर्माण, काठमाडौँ–बेङ्लुरु डिजिटल कोरिडोरको परिकल्पना र पोखरा तथा लुम्बिनीबाट भारतका विभिन्न सहरमा सिधा हवाई उडान हुनुपर्ने बताएका छन्।
यस्तै नेपालको जलविद्युतलाई भारतको औद्योगिक विकासको इन्जिन बनाउन सकिने र सीमा क्षेत्रमा रासायनिक मल कारखाना स्थापनाका लागि सहकार्य गर्न सकिने कुरा पनि लामिछानेले लेखेका छन्।
Shares

प्रतिक्रिया