हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको राष्ट्रघाती अभिव्यक्तिबारे तत्काल माफी माग्नुपर्ने माग गरेको छ।
प्रधानमन्त्री साहले नेपालले पनि भारतको धेरै भूमि मिचेको छ भनि दिएको अभिव्यक्ति राष्ट्रहित विपरित रहेको निष्कर्ष निकाल्दै संसदको रोष्टमबाट नै माफी माग्नुपर्ने माग उक्त पार्टीका सांसद आरेन राईले गरेका हुन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भारतले पनि हाम्रो भूमि फिर्ता गर भनेर माग्यो भने कुन भूमि फिर्ता दिने? भनि प्रधानमन्त्री शाहलाई प्रश्न पनि गरे। सांसद राईले नेपालले कुनै पनि मुलुकको भूमि नमिचेको पनि पटक पटक बताए। उनले प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिले आफूलाई दुःखी र लज्जावोध गराएको पनि बताए।
सांसद राईले भने ,‘मलाई आज त्यो प्रश्न सोधेकोमा लज्जाबोध भइरहेको छ। त्यसैकारणले म भन्न चाहन्छु–सम्माननीय प्रधानमन्त्रीज्यूको त्यो रेकर्डबाट हटाउने कुरा मात्रै होइन, इतिहासमा यस्तो नजिर स्थापित भयो, भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हो, हाम्रो भूमि मिचेको हो, फिर्ता ल्याउ भन्छ भने कुन भूमि फिर्ता दिने सभामुख महोदय? त्यसैले म भन्न चाहन्छु– जसरी संसदको रोष्टममा आएर प्रधानमन्त्रीले राष्ट्रको हित विपरित उहाँले अभिव्यक्ति दिनु भएको छ । यही आएर माफी मागेर आफनो शब्द फिर्ता लिनुपर्दछ।’
सांसद राईले प्रधानमन्त्री साहले नेपालको इतिहासमा नै सबैभन्दा कमजोर, मिथ्या र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै आक्रोश पनि व्यक्त गरे।
Shares

प्रतिक्रिया