श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले सरकारले माटो सुहाउँदो बजेट ल्याउन नसकेको बताएका छन्।
आइतबार झापामा आदिवासी जनजाति नेत्रहीन संघको वार्षिक कार्यक्रममा बोल्दै उनले सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाएर नेपाली नागरिकको जीवनस्तरलाई झन् कमजोर पारेको बताए।
शिक्षा र स्वास्थ्यमा कर लगाएर संवैधानिक रूपमा स्थापित नागरिकको मौलिक अधिकार कुण्ठित गर्न खोजेको उनको भनाइ छ।
‘नेपाली माटो सुहाउने बजेट यसपल्ट पनि आएन। तर स्वभाविक छ किनकि अर्थमन्त्री अमेरिका पढेर आउनु भएको हो। उहाँलाई अमेरिका राम्रो थाहा छ तर नेपालको जीवन र नेपाली अर्थशास्त्र थाहा छैन,’ किरातीले भने, ‘त्यसैले मुठ्ठिभर टाई बाँध्नेको लागि बजेट आयो बहुसंख्यक गाई बाँध्नेको लागि बजेट आएन।’
विद्वान अर्थशास्त्रीका रुपमा कहलिएका अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनमा कर लगाएर राष्ट्रलाई गम्भीर व्यापार घाटा गराउन खोजेको टिप्पणी गरे।
‘विद्युत महसुल वृद्धि गर्नु र प्रस्तुत कृषि कार्यक्रमले मुख्यत तल्लो वर्गको जनतालाई निराश बनाएको छ, साथै विद्युतीय गाडीमा कर बढाउने कार्यले राष्ट्रलाई गम्भीर व्यापार घाटा पुर्याउनेछ। लडाईँको कारणले इन्धनको हाहाकार भएको बेला विद्युतीय सवारीमाथि कर बढाउनुले कतै दालमा कालो परेको त होइन भन्ने शङ्काको सुविधा प्रशस्तै छ।’
Shares

प्रतिक्रिया