शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र संयुक्त राज्य (यूके)की मन्त्री सीमा मल्होत्राबीच शुक्रबार भेटवार्ता भएको छ।
शिक्षा मन्त्रालयमा भएको भेटमा नेपाल र यूकेबीचको लामो समयदेखिको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै शिक्षा तथा खेलकुद क्षेत्रमा रणनीतिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो। समानता एवं इन्डो-प्यासिफिक हेर्ने मन्त्री मल्होत्रा तीन दिने भ्रमणका लागि आज (शुक्रबार) बिहान नेपाल आएकी हुन्।
भेटका क्रममा दुई देशबीच शिक्षा क्षेत्रको विकासका लागि भइरहेका साझेदारी कार्यक्रम तथा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो।
साथै नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्ने लक्ष्य राखेको ‘अटिजम स्कुल’ को अवधारणा र कार्यान्वयनबारे पनि महत्त्वपूर्ण परामर्श भएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्री पोखरेलले अटिजम भएका बालबालिकाका लागि गुणस्तरीय शिक्षा तथा उपयुक्त वातावरण निर्माण गर्न सरकारसँग प्राविधिक सहयोग, स्रोत व्यवस्थापन र दक्ष जनशक्ति विकासमा सहकार्यको आग्रह गरे।
उनले यूके सरकारबाट बजेटरी सपोर्ट र मौद्रिक सहायतासँगै विज्ञता तथा ज्ञान हस्तान्तरणमार्फत् क्षमता विकासमा थप सहयोगको अपेक्षा पनि व्यक्त गरे।
भेटमा यूकेकी मन्त्री मल्होत्राले नेपाल–यूकेबीचको ऐतिहासिक सम्बन्ध, विकास साझेदारी तथा पारस्परिक हितका विषयमा चर्चा गर्दै आगामी दिनमा सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिइन्।
उनले यूकेको नयाँ सरकारले पनि शिक्षा क्षेत्रमा आधुनिक सुधारका कार्यक्रम अघि बढाइरहेको बताउँदै नेपालजस्ता मुलुकमा शिक्षामा थप लगानी र साझेदारी विस्तार गर्ने योजना रहेको बताइन्।
मन्त्री मल्होत्राले नेपालको उच्च शिक्षामा यूकेस्तरका गुणस्तरीय शैक्षिक कार्यक्रम सञ्चालन गर्न नेपालका विश्वविद्यालयसँग सहकार्य गर्ने प्रस्ताव पनि राखिन्।
Shares

प्रतिक्रिया