राजनीति


समाजवाद उन्मुख आर्थिक गन्तव्य स्पष्ट हुनुपर्छ: युवराज दुलाल

समाजवाद उन्मुख आर्थिक गन्तव्य स्पष्ट हुनुपर्छ: युवराज दुलाल

नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार १२:२९, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मुख्य सचेतक युवराज दुलालले नीति तथा कार्यक्रमले संविधानको मर्मअनुसार समाजवाद उन्मुख अर्थतन्त्रको स्पष्ट राजनीतिक गन्तव्य बोक्नुपर्ने बताएका छन्। 

सम्बोधनका क्रममा दुलालले सुशासन, सार्वजनिक सेवा प्रवाह र समन्यायिक वितरणमार्फत समृद्ध राष्ट्र निर्माण गर्ने सरकारको लक्ष्य सकारात्मक भए पनि यसको वैचारिक धरातल र कार्यक्रमिक आधार स्पष्ट हुनुपर्ने बताए। उनले संविधानले मार्गनिर्देश गरेको समानुपातिक र समावेशी सिद्धान्तमा आधारित समतामूलक समाज निर्माणको सङ्कल्प नीति तथा कार्यक्रममा ओझेलमा परेको टिप्पणी गरे। 

सरकारले १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने र औसत ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने जस्ता ल्याएका कार्यक्रमहरू आकर्षक भए पनि तिनलाई पूरा गर्ने ठोस आधार नदेखिएको दुलालको भनाइ छ। मुख्य सचेतक दुलालले मुलुकको वन क्षेत्र र खनिज सम्पदाको उपयोगमा सरकारको ध्यान नगएकोप्रति ध्यानाकर्षण गराए। 

कार्बन ट्रेडिङ जस्ता बाह्य अवधारणाभन्दा स्वदेशमै रहेका युरेनियम, ग्रेनाइट, मार्बल, फलाम र पेट्रोलियम जस्ता खनिज स्रोतको उत्खनन र उपयोगले राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउने उनको भनाइ थियो। आन्तरिक उत्पादन र निर्यातलाई प्राथमिकता नदिई स्थिर अर्थतन्त्र निर्माण हुन नसक्ने दुलालले बताए। 

‘यी नारालाई सहयोग गर्ने विषयगत कार्यक्रम पर्याप्त छैनन्। सामान्य कानुनी र संरचनागत सुधारले मात्र यति ठूला लक्ष्य प्राप्ति सम्भव छैन,’ उनले भने। 

कृषि क्षेत्रमा बाँदर र बँदेल जस्ता वन्यजन्तुले पुर्‍याउने क्षतिको क्षतिपूर्ति र बीमाको व्यवस्था गर्नुपर्ने उनको माग छ। यस्ता वन्यजन्तु नियन्त्रणका लागि कानुनी व्यवस्था गरी किसानलाई खेतीतर्फ प्रोत्साहित गर्नुपर्ने उनले बताए। 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि संविधानअनुसार प्रदेश सरकारलाई शान्ति सुरक्षाको जिम्मेवारी दिन तत्काल ‘प्रदेश प्रहरी समायोजन’ को प्रक्रिया अघि बढाउनुपर्नेमा उनले जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad