राजनीति


इतर पक्षको बैठकमा खड्काको ब्रिफिङ, कांग्रेस एकताका लागि राखे चार सर्त

इतर पक्षको बैठकमा खड्काको ब्रिफिङ, कांग्रेस एकताका लागि राखे चार सर्त

बैठकमा सहभागी खड्का समूहका नेता। सबै तस्बिर: सरोज शाही/नेपालखबर


लोकेन्द्र भट्ट
बैशाख १५, २०८३ मंगलबार १४:१९, काठमाडौँ

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षीय नेताको बैठक महाराजगञ्जको होटल स्मार्ट जारी रहेको छ। बैठकमा समसामयिक राजनीतिबारे ब्रिफिङ गर्दै खड्काले कांग्रेस एकताका लागि चार सर्त राखेका छन्। 

मंगलबार बैठकको सुरुवातमा खड्का बोलेका थिए। करिब ३० मिनेट बोलेका खड्काले पार्टी एकताका लागि सभापति गगन थापा पक्षले कम्तिमा चार वटा सर्त मान्नुपर्ने बताएका थिए। 

पहिलो, विशेष महाविधेशनबाट आएको केन्द्रीय कार्यसमिति र १४औँ महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई एकीकृत बनाउनुपर्ने उनको भनाइ छ। एकीकृत केन्द्रीय कार्यसमितिले नै कामकारबाही गर्नुपर्नेमा उनले जोड दिए। 

दोस्रो, दुवै पक्षलाई समेटेर १५औँ महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने खड्काको सर्त छ। तेस्रो, १५औँ महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति पनि दुवै पक्षलाई समेटेर सहमतिमा बनाउनुपर्ने उनले बताए। 

चौथो, क्रियाशील सदस्यता छानबिन समिति। यो समिति पनि दुवै पक्षलाई समेटेर सहमतिकै आधारमा बनाउनुपर्ने खड्काले सर्त राखेका छन्। 

यी चारै विषय सम्बोधन भएमा पार्टी एकता कायमै रहने उनको भनाइ थियो। पार्टी एकता कायम राख्ने कि नराख्ने भन्ने सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको हातमा रहेको उनले बताए। 

यसका लागि उनले विगतको उदारहण दिए। ‘२०५९ सालमा तत्कालनी सभापति गिरिजाप्रसाद कोइरालाकै कारण कांग्रेस विभाजन भएको थियो भने २०६४ सालमा पार्टी एकता पनि गिरिजाप्रसाद कोइरालाले नै गरेका थिए,’ खड्काको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘अहिले गगन-विश्वकै कारण कांग्रेस विभाजनको डिलमा पुगेको छ भने अब विभाजनको डिलबाट एकतामा गराउने जिम्मेवारी पनि गगन-विश्वकै हो।’

आफू एकता विरोधी नभएको उनको भनाइ थियो। तर, अहिले एकता गर्ने वा नगर्ने भन्ने आफ्नो हातमा नभएको बताए। ‘सबैले एकता गर्नुहोस् भनिरहनु भएको छ, तर चाबी उनीहरूले लगाएका छन्, हामीलाई ढोका खेल्नुस् भनेर हुँदैछ,’ खड्काले भनेका छन्। 

यससँगै खड्काले सभापति थापासँग भएको छलफलका विषयमा पनि बैठकमा जानकारी दिएका थिए। वैशाख ८ गते थापा खड्कालाई भेट्न उनकै निवास पुगेका थिए। 

त्यस क्रममा सामान्य कुराकानी भएको खड्काले सुनाए। त्यस भेटमा सरकारका कामकारबाही र राष्ट्रियतका विषयमा कुराकानी भएको सुनाए। 

‘विश्वप्रकाशसँग छलफल गरेर एकताको ठोस प्रस्ताव ल्याउँछु भनेका थिए,’ खड्काले भने, ‘त्यसपछि आउनु भएको छैन, केही कुराकानी भएको छैन।’

सभापति थापाले दिएको अभिव्यक्तिमा पनि खड्काले आपत्ति जनाएका छन्। थापाले कांग्रेसका एक लाख क्रियाशील सदस्य भए पुग्ने अभिव्यक्ति दिएका थिए। ‘यो पार्टीलाई मुठ्ठीमा राख्ने प्रयास हो,’ खड्काले भने। 

सदस्यता नविकरणका विषयमा सभापति थापाले चालेका कदम पनि राम्रो नभएको उनको भनाइ थियो। ‘आर्मी र पुलिसको जस्तो लाइन लगाएर सदस्यता दिन्छु भन्नु अन्यायपूर्ण छ,’ खड्काले थपे, ‘यो पार्टी कब्जा गर्ने रचिएको प्रपञ्च हो, यो मान्य हुँदैन।’

गत फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा मत फेरेका कार्यकर्तालाई मनाउनुपर्ने उनको भनाइ थियो। ‘हाम्रो पार्टी र मुलुक सञ्चालन गर्दा भएका कमिकमजोरीका कारण मत फेरे पनि कार्यकर्ताले मन फेरेका छैनन्। मत फेरेको मान्छेलाई मत हाल्ने अवस्थामा बनाउनुपर्छ,’ उनले भने। 

उनले नेता तथा कार्यकर्तालाई घरघरमा गएर मत फेरेका मान्छेलाई फकाउन आग्रह गरे। ‘मत फेरेका मान्छेलाई घरघरमा गएर हामीलाई सजाय दिइसक्नभयो, अब पार्टी नछोडिदिनुस्, पार्टी तपाईहरूकै हो भनेर फकाउनुपर्ने, मनाउनुपर्ने दिशातिर नगएर निकाल्नुपर्ने दिशातिर लाग्नु घातक सिद्ध हुन्छ,’ उनले भने 

खड्का समूहको बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रदेश सभापति, काठमाडौँमा उपलब्ध क्षेत्रीय सभापति र भातृ संस्थाका पदाधिकारी सहभागी छन्। 

बैठकमा बोल्ने नेताहरूले पनि खड्काको प्रस्तावमा समर्थन जनाएका छन्। उनीहरूले खड्काले राखेकै सर्तको आसपासमा बोलिरहेका छन्। 

बैठकमा सहभागी नेता रामहरि खतिवडाले एकताकै विषयमा छलफल भइरहेको बताए। बैठकमा बोलिरहेका जिल्ला सभापति तथा क्षेत्रीय प्रतिनिधिले पनि १५औँ महिाधवेशनका लागि सहमतिमा संयुक्त आयोजक समिति गठन गर्नुपर्नेमा जोड दिइरहेको खतिवडाले बताए। 

बैठकमा बोल्नका लागि जिल्ला सभापति, उपभासपति, क्षेत्रीय प्रतिनिधिलाई सात–सात मिनेट समय दिइएको छ। सभापति नआएको जिल्लाबाट उपसभापति बैठकमा सहभागी भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad