नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले पार्टीभित्रको दक्षिणपन्थी प्रवृत्ति र अराजकतावादलाई परास्त गरेर मात्र समाजवादको गन्तव्यमा पुग्न सकिने बताएका छन्।
बुधबार नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष बादलले दक्षिणपन्थी अवसरवाद अन्त्य गर्नुपर्ने बताएका हुन्। २००६ सालमा पुष्पलाल श्रेष्ठको अगुवाइमा स्थापित पार्टीले देशको आमूल परिवर्तनमा खेलेको भुमिका अविस्मरणीय रहेको उनले बताए।
एमालेले हालै बेहोर्नु परेको चुनावी धक्काका विषयमा गहन आत्मसमीक्षा गर्नुपर्नेमा उनले जोड दिए। ‘हामी किन हार्यौं? किनभने हामीले आन्तरिक र वाह्य दुवै रूपमा दक्षिणपन्थी प्रवृत्ति र अराजकतावादलाई परास्त गर्न सकेनौँ,’ बादलले भने।
आन्तरिक र वाह्य दक्षिणपन्थी प्रवृतिले प्रभावित बनाएको उनले औँल्याए। ‘बरु उल्टो दक्षिणपन्थी प्रवृत्तिले हामीलाई प्रभावित गर्यो। समाजवादको विजयका लागि हामीले डटेर लड्नुपर्नेछ,’ उनले भने, ‘यो अन्तिम युद्ध हो, जहाँ हामी एकताबद्ध भएर मात्र जित्न सक्छौँ।’
अबको विकल्प समाजवादी आन्दोलनलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो। त्यसका लािग दक्षिणपन्थी अवसरवाद र अराजकतावादलाई मिल्काउनुपर्ने उनले बताए।
‘यदि हामीले समाजवादी आन्दोलनलाई अगाडि बढाउने हो भने यी दुवै घातक प्रवृत्तिहरूलाई जरैदेखि उखेलेर मिल्काउनु पर्छ,’ बादलले भने।
उनले नेकपाको ७७ वर्षको यात्रा एउटा सानो बिरुवाबाट विशाल वृक्षमा परिणत भएको उल्लेख गरे। आज ७८औँ वर्षमा प्रवेश गर्दा नेपालको झन्डै दुई तिहाई जनमत कम्युनिस्टको प्रभावमा रहेको दाबी गरे।
२००७ सालको क्रान्तिदेखि २०७२ सालको संविधान निर्माणसम्म कम्युनिस्टको नेतृत्वदायी भूमिका रहेको उनको तर्क थियो।
Shares

प्रतिक्रिया