सर्वोच्च अदालतबाट पार्टीको आधिकारिता पाएपछि कांग्रेस सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षसँग संवाद थालेका छन्। पार्टी एकताका लागि सभापति थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतका नेताहरुसँग औपचारिक संवाद सुरु गरेका हुन्।
सभापति थापाले शनिबार नै असन्तुष्ट पक्षसँग संवाद गर्न चाहेका थिए। निवर्तमान कार्यवाहक सभापति खड्काले समूहगत रणनीति बनाएर मात्र संवादमा बस्ने बताएपछि शनिबार संवाद हुन सकेन।
खड्काले शनिबार शीर्ष नेता र आज (आइतबार) १४औँ महाधिवेशनबाट निर्वाचित आफू पक्षीय पदाधिकारी र केन्द्रीय सदस्यसँगको छलफलपछि सभापति थापासँग वार्तामा बसेका छन्। खड्का समूहका नेताहरुले १५औँ महाधिवेशन निष्पक्ष, स्वतन्त्र रुपमा हुने सुनिश्चितता खोजेका छन्। एकताका लागि महाधिवेशन निष्पक्ष हुने सुनिश्चितता सभापति थापाले गराउनुपर्ने खड्का पक्षको सर्त छ।
१५औँ महाधिवेशन स्वतन्त्र, निष्पक्ष र सबैले स्वामित्व लिनेबारे ठोस प्रस्ताव आएमा एकता कायम गरेर जान सकिने खड्का समूहको निष्कर्ष छ। त्यसका लागि सभापति थापाबाट आउने प्रस्तावपछि मात्र खड्का समूहले आफ्ना प्रस्ताव अगाडि सार्ने रणनीति बनाएको छ।
आइतबार बसेको खड्का समूहको बैठकले सभापति थापालाई एकताको पहल गर्न आह्वान गरेको छ। पार्टीको विभाजन रोक्न सभापति थापाले एकताको पहल गर्नुपर्ने खड्का समूहका नेता मीन विश्वकर्माले बताए।
‘महाधिवेशनको दुई कार्यतालिका छ। समायोजन गरेर एउटै बनाउने स्थिति बन्यो भने एकता भएको मानिन्छ,’ उनी भन्छन्, ‘होइन भने दुईवटा महाधिवेशन हुन्छ। पार्टी विभाजतर्फ जान्छ। त्यो नहोस् भनेर सम्बन्धित पक्षलाई एकताको पहल गर्न आह्वान गरेका छौँ।’
गत पुस १८ मा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमिति बैठकले यही वैशाख २८ देखि ३१ का लागि १५औँ महाधिवेशनको कार्यतालिका ल्याएको थियो। पुस २७–२९ मा सम्पन्न विषेश महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको कार्यसमितिले आगामी असोज १६–१९ का लागि महाधिवेशनको कार्यतालिका घोषणा गरेको छ।
नेता विश्वकर्माले खड्का र थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिले ल्याएको महाधिवेशनको समायोजनलाई एकताको आधारका रुपमा अगाडि सारेका छन्। त्यसका लागि सभापति थापाले पहल गर्यो भने मात्र एकताको वातावरण बन्ने विश्वकर्माको भनाइ छ।
‘हामी चरणवद्धरुपमा प्रदेशस्तरको, जिल्लास्तरको बैठक बसेर वृहद राष्ट्रिय भेला आयोजना गर्नेछौँ। हामीलाई अदालतको फैसला चित्त बुझेको छैन,’ उनले भने, ‘सर्वोच्चबाट कानुनी लडाइँ सकिए पनि राजनीतिक लडाइ जारी रहन्छ।’
कांग्रेस नेता श्याम घिमिरेले खड्का समूहका बैठकमा तीनै कोणबाट कुरा आइरहेको नेपालखबरलाई बताए। खड्का समूहको बैठकमा पार्टीभित्र आन्तरिक एकता, पार्टी विभाजन र निष्क्रिय बस्ने विकल्पमाथि छलफल भएको उनको भनाइ छ।
‘पार्टी फुटाउनु कल्याण पनि हुँदैन र देशभर संगठन बनाउन पनि सहज छैन भनेर साथीहरू बोल्नुभएको छ। निष्क्रिय बस्न पनि सकिँदैन त्यसैले मिलेर जानुको विकल्प छैन भन्ने कुरा आएको छ,’ उनले भने।
घिमिरेलले आफूले पनि मिलेर जानुको विकल्पको विकल्प नभएको भन्दै ६० नाघिसको नेतालाई राजनीति छोडेर चुप लागेर बस्दा आग्रह गरेको बताए। ‘मिलेर जानुको विकल्प छैन। मिल्न सकिँदैन भने तपाईंहरू ६० नाघिसक्नु भएको छ, राजनीति छोडेर चुप लागेर बस्दा पनि हुन्छ,’ उनी भन्छिन्।
बैठकमा अधिकांश नेताहरू आफ्नो लाइनमा सहमत भएको उनको भनाइ छ। ‘चर्को कुरा गर्नेहरू धेरै कम हुनुहुन्छ, सबैको जोड मिलेर जानुपर्छ भन्नेमा छ,’ घिमिरेले भने, ‘सभापति गगनजीले सबैलाई समेटर लैजान्छु भन्नु भएको छ । उहाँको कुरालाई हामीले विश्वास गरेर एकताको पक्षमा लाग्नुपर्छ भन्नेमा मेरो मुख्य जोड थियो।’
नेता नैनसिंह महरले सभापति थापाले सबै पक्षलाई मिलाएर लैजाने कामको सुरूवात गर्नुपर्ने बताए। ‘पार्टीको मूल नेतृत्वमा जसलाई सर्वोच्च अदालतले स्थान दिएको छ, मूल नेतृत्वमा वैधानिक रूपले उहाँ स्थापित हुनुभएको छ,’ उनले भने, ‘उहाँले पार्टीको बृहत्तर एकताका लागि सुरूवात गर्ने र समीक्षा गर्ने तथा पार्टी एकताका लागि कार्यक्रम प्रस्तुत गर्ने जिम्मा उहाँकै हो।’
खड्का समूहको छलफलमा सभापति थापाले सबैलाई मिलाएर लैजाने महरको विश्वास थियो। ‘उहाँले सामाजिक सञ्जालमा लेख्ननु पनि भएको छ– सबैलाई मिलाएर लैजाने भन्ने कुरा। त्यो कुरा कार्यान्वयन गर्नुपर्छ,’ उनले भने, ‘सबैको साझा स्थान प्राप्त हुने गरी पार्टीभित्र कदम बढाउनुपर्छ। पार्टीलाई जनतासँग जोड्दै ठूलो बनाउनुपर्नेछ।’
गुटगत हिस्सा नदिने गगनको रणनीति
महामन्त्री प्रदीप पौडेलले सबैलाई समेटेर १५औँ महाधिवेशन सम्पन्न गर्न पहल भइरहेको बताए। ‘सबैलाई समेटेर १५औँ महाधिवेशन सम्पन्न गर्छौँ। जीवनभर पार्टीका लागि समर्पित भएर काम गर्नु भएको नेताहरु हुनुहुन्छ,’ उनी भन्छन्, ‘उहाँहरूलाई अभिभावक मान्छौँ, सम्मान गर्छौँ। पार्टीको प्रक्रियामा सहभागी गराउर्छौँ।’
आफ्नो हितभन्दा पनि पार्टीको बृहत्तर हितका लागि सबै लागिदिनुपर्ने पौडेलको भनाइ छ। ‘सबैले मद्दत गरिदिनुपर्छ। पार्टी एकता वा अहिलेको समस्या हल १५औँ महाधिवेशनले गर्छ। यसमा सबैको सहयोग चाहिन्छ। १५औँ महाधिवेशनमा सबैको सहभागिता निर्माण हुने अवस्था निर्माण गर्ने हाम्रो काम हो,’ उनले भने। विशेष महाधिवेशनमा छुटेका नेताहरूलाई केन्द्रीय समितिमा ल्याउने पौडेलले बताए।
‘हामीले केन्द्रीय समितिमा ल्याउछौँ। अन्य कमिटीमा पक्षधरताको आधारमा सहभागी बनाउछौँ। विशेष महाधिवेशनको म्याण्डेट र नेपाली कांग्रेसको विधानभित्र बसेर सबै नेतालाई सहभागी हुने गराउछौँ,’ उनले भने।
२७–२९ पुसमा सम्पन्न विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो। मनोनित गर्न बाँकी केन्द्रीय समितिको संख्यामा केही नेतालाई समेटेर लैजाने बाहेक समूहगत हिस्सेदारी दिने गरी नजाने सभापति थापाको तयारी छ।
अदालतको फैसलाअघि संस्थापन पक्ष रक्षात्मक थियो। २ माघमा थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुछ निवर्तमान सभापति शेरबहादुर देउवा र खड्काले सर्वोच्च अदालतरिट दायर गरेका थिए। सर्वोच्च अदालतले शुक्रबार आयोगको निर्णयलाई सदर गर्दै दायर गरेको रिट खारेज गरेपछि संस्थापन इतर समूह रक्षात्मक बनेको छ। एकताको सन्देश र अदालतको रिट फिर्ताका लागि सबै थोक दिन संस्थापन पक्ष तयारी देखिन्थ्यो।
संस्थापन पक्षसँग संवादमा बस्दा सर्वोच्च अदालतमा तत्कालीन समयमा विचाराधीन मुद्दा प्रभावित हुने भयले देउवा पक्ष संवादमा बस्न चाहेन। अहिले संस्थापन पक्ष ‘गिभ एण्ड टेक’ को नीति अख्तियार गर्न तयार छैन। सर्वोच्च अदालतको फैसलापछि शेखर कोइराला समूहले खड्का समूहको साथ छाडेपछि संस्थापन पक्ष संवादमा बलियो अवस्थामा छ।
कांग्रेसका एक पदाधिकारीले भने,‘सर्वोच्च अदालतको फैसला नआउनु अगाडि ‘गिभ एण्ड टेक’ गर्न जति स्वभाविक थियो। अब त्यति स्वभाविक हुँदैन।’ यद्यपि पार्टीका सिनियर नेताको सम्मान र पार्टी हाँकिरहँदा नमिलेको सन्देश जाने भन्दै मिलाउने कोशिस गरिरहेको उनको भनाइ छ। सभापति थापाले आजैबाट खड्का समूहसँग संवाद थालेका छन्।
‘कुनै प्रस्ताव दिएर सभापति संवादमा बस्नु भएको छैन,’ उनी भन्छन्, ‘कुनै त्यस्तो महत्व पनि दिनुभएको छैन। भेटघाट हुन्छ। उहाँहरूले गुटको आधारमा हामी शक्ति केन्द्र हौँ। हामीलाई त्यस हिसाबले व्यवहार गर भनियो भने सम्भव छैन।’
Shares

प्रतिक्रिया