नेपाली कांग्रेसका नेता एवं कोसी प्रदेशका पूर्वमुख्मयन्त्री केदार कार्कीले सभापति थापालाई सिंगो पार्टीको सभापति बन्न नसकेको टिप्पणी गरेका छन्।
कांग्रेसको विशेष महाधिवेशनमा कार्की थापाको पक्षमा उभिएका थिए। अहिले आएर भने सभापति थापाको आलोचना गरेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै कार्कीले सभापति थापालाई भनेका छन्, ‘हामीले विशेष महाधिवेशनबाट सिङ्गो कांग्रेसको सभापति बनाएको हो। दास, लास, अश्लील, अराजक, अनुशासनहिन कविलाको नाइके बनाएको होइन।’
सभापति थापाले केही दिनअघि सबै सदस्यता खारेज भएको बताएका थिए। त्यसको विरोध भएपछि वडा-वडामा गएर सदस्यता अद्यावधिक गर्न निर्देशन दिएका थिए। अद्यावधिक नगर्नेको सदस्या खारेज हुने जनाइएको छ।
यसलाई लिएर कार्कीले विरोध जनाएका हुन्। सभापति थापालाई कारबाहीको धाक नदेखाउन चेनावती दिएका छन्।
‘पञ्चायतको निरंकुश सरकारले धम्की दिँदा, कठघरामा उभ्याउँदा, आर्मी र पुलिसको बुटले शरीरका अंगअंगमा बजार्दा, सँगै भएको साथीलाई आँखा अगाडि गोली ठोक्दा नेपाली कांग्रेस जिन्दावाद, प्रजातन्त्र जिन्दावाद, जय नेपाल भनेर नारा लागाउने, माओवादीले छानी छानी रुखमा बाँधेर घाँटी रेटेर मार्दा बीपी, सुवर्ण शम्शेर, किसुनजी, गिरिजाप्रसादहरूले दिएको सदस्यता इजरमा बाँधेर सुरक्षित राख्नेहरूलाई संवाद होइन, कारबाहीको धाक देखाउनु अतिवाद हो,’ कार्कीले भनेका छन्।
आन्तरिक विवादलाई संवादबाट समाधान गर्न उनले आग्रह गरेका छन्। ‘संवाद गर्नुस्, समाधान निकाल्नुस्, जिम्मेवार हुनुस्। सबै मिलेर एक नेपाली कांग्रेसको नियमित महाधिवेशसन गरौँ,’ कार्कीले भनेका छन्, ‘संवाद नै समाधानको उपाय हो भन्ने थाहा होला नि।’
Shares

प्रतिक्रिया