नेकपा (संयुक्त)ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही रहेको भन्दै छानबिनको माग गरेको छ।
राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बैठकपछि संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले प्रेस विज्ञप्ति जारी गरी जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनमाथि प्रश्न गरेका हुन्। ‘गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही भएकाले वहालवाला न्यायाधीशको अध्यक्षतामा शक्तिशाली छानबिन आयोग गठन गरी भदौ २३ र २४ को घटनामा संलग्न अपराधीहरूलाई कारबाही गर्न यो बैठक जोडदार माग गर्दछ,’ संयुक्तले भनेको छ।
यससँगै संयुक्तले २०४८ सालयताका उच्चपदस्थ कर्मचारी, राजनीतिक व्यक्ति, न्यायापालिकाका पदाधिकारी एवं सार्वजनिक ओहादामा रहेका व्यक्तिको सम्पत्ती छानबिन गर्न उच्चस्तरीय छानिबन समिति गठनको पनि माग गरेको छ।
सरकारलाई लोकतान्त्रिक प्रक्रियालाई संकुचन गर्ने कार्य नगर्न पनि संयुक्तले सचेत गराएको छ। ‘लोकतान्त्रिक प्रक्रिया र संघसंस्थालाई नियन्त्रण तथा संकुचन गर्ने प्रक्रिया तत्काल बन्द गर्न वर्तमान सरकारसँग यो बैठक जोडदार माग गर्दछ,’ संयुक्तको निर्णयमा भनिएको छ।
संयुक्तले आफ्नो राष्ट्रिय सम्मेलन आउँदो मंसिर महिनामा गर्ने निर्णय गरेको छ। त्यसअघि असोजभित्र जिल्ला तहमा संगठन विस्तार गरिसक्ने जनाएको छ।


Shares

प्रतिक्रिया