पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्धको पक्राउ पुर्जीका विषयमा नेपाली कांग्रेसका दुई वटा आग्रह रहेको उपसभापति विश्वप्रकाश शर्माले बताएका छन्।
शुक्रबार पोखरामा आयोजित गण्डकी प्रदेशको चुनावी समीक्षा बैठकमा बोल्दै उपसभापति शर्माले कांग्रेसको धारणाबारे जानकारी गराएका हुन्। कांग्रेसले विगतदेखि नै स्थापित गरेको मान्यतको जगमा नै धारणा बनाइएको उनको भनाइ थियो।
पहिलो, कांग्रेसले देउवा दम्पतिलाई नेपाल फर्केर कानुनी लडाइँ लड्न आग्रह गरिएको उनले बताए। ‘देश फर्किएर कानुनी प्रक्रियालाई सघाउन निवर्तमान सभापति शेरबहादुर देउवा र डा. आरजु देउवालाई पार्टीको सुझाव छ। उहाँहरू समक्ष पार्टीको यो सन्देश हामीले पठाइ सकेका छौँ,’ शर्माले भने।
दोस्रो, उनीहरूमाथि पूर्वाग्रह नराखेर छानबिन गर्नुपर्ने सरकारसँग कांग्रेसको आग्रह गरेको शर्माले बताए। ‘कुनै पनि पूर्वाग्रह नराखेर अनुसन्धान र ब्यवहार गर्न सरकारलाई कांग्रेसको आग्रह छ,’ उनले भने।
सरकारले देउवा दम्पतिविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको छ। पक्राउ पुजी जारी भएपछि देउवा दम्पति कानुनी लडाइका लागि कानुन व्यवसायीसँग परामर्श गरिरहेका छन्। उनीहरूले अहिले उपचारका लागि देश बाहिर छन्।
Shares

प्रतिक्रिया