काठमाडौँस्थित बेलायती राजदूत रोब फेनले बुधबार प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भेटी बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले पठाएको बधाई सन्देश हस्तान्तरण गरे। बेलायतले नेपालमा पछिल्लो समय देखिएको 'लोकतान्त्रिक पुनर्जागरण'को प्रशंसा गर्दै नयाँ सरकारसँगको साझेदारीलाई थप मजबुद बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
भेटका क्रममा राजदूत फेनले नेपालले पछिल्लो समय लोकतान्त्रिक प्रक्रियामार्फत हासिल गरेको उपलब्धिलाई बेलायतले नजिकबाट नियालिरहेको बताएका थिए। भेटबारे जानकारी दिनै बेलायती दूतावासको सूचनामा राजदूत फेनको भनाइ उदृत गर्दै भनिएको छ, 'मसँग तपाईंका बेलायती समकक्षी सर कियर स्टार्मरले पठाएको बधाई पत्र छ। बेलायत नेपालको लोकतान्त्रिक पुनर्जागरणको प्रशंसा गर्दछ र तपाईंले निर्माण गर्नुभएको यो गतिलाई संरक्षण गर्न मद्दत गर्न चाहन्छ।'
प्रधानमन्त्री स्टार्मरले आफ्नो पत्रमा नेपाल र बेलायतबीचको ऐतिहासिक मित्रता अब 'फस्टाउँदो आधुनिक साझेदारी'मा परिणत भएको उल्लेख गरेका छन्। नेपाल नयाँ युगमा प्रवेश गरिरहेको भन्दै उनले आर्थिक वृद्धि, जलवायु उत्थानशीलता र सुरक्षा जस्ता साझा प्राथमिकताहरूमा मिलेर काम गर्ने इच्छा व्यक्त गरेका छन्।
कूटनीतिक वृत्तमा यो पत्रलाई नेपालको नयाँ नेतृत्वप्रति बेलायतको बलियो समर्थन र विश्वासका रूपमा हेरिएको छ।
Shares

प्रतिक्रिया