भारतीय सेना प्रमुख जनरल मनोज नरवणेले लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरेको भनी नेपालले अरु कसैको आदेश बमोजिम भारतलाई दोष दिएको आरोप लगाएका छन्।
उनले चीनलाई संकेत गर्दै त्यसो भनेको प्रष्ट छ तर, आफ्नो यो विवादास्पद भनाइमा चीनको नाम भने लिएका छैनन्।
‘मानसरोवर जाने भारतीय तीर्थयात्रीहरुको यात्रा समय छोट्याउनका लागि लिपुलेक हुँदै नयाँ सडक बनाउँदा कतै कुनै कुरासँग अन्तरविरोध भएको छैन,’ भारतीय दैनिक द हिन्दुले जनरल नरवणेले उधृत गर्दै भनेको छ,।
भारतले पहिले नेपाली भूभाग आफ्नो नक्सामा समेट्ने कार्य गरेको थियो भने अहिले भूमि अतिक्रमण गरी लिपुलेक हुँदै चीनको तिब्बत पुग्ने सडक बनाएपछि नेपालमा त्यसको तीब्र विरोध भइरहेको छ।
भारतीय अतिक्रणका विरुद्धमा परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई बोलाएर कुटनीतिक नोट दिइसकेको छ भने केही वर्षयता खाली रहेको कालापानी नजिकको छाङरुमा सशस्त्र प्रहरी पोष्ट स्थापना गरेको छ। बिहीबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आयोजना गरी राष्ट्रिय सहमति जुटाउने प्रयास गरेका छन्।
नेपालमा भारतको हस्तक्षेपकारी कार्यको चर्को विरोध भइरहेका बेला भारतीय सेना प्रमुखले नै भारतीय कदमको प्रतिरक्षा गर्दै यो विवादमा चीनलाई तान्न खोजेका हुन्।
‘वास्तवमा, नेपाली राजदूतले काली नदीदेखि पूर्वको क्षेत्र उनीहरुको भनी उल्लेख गरेका छन्। त्यसबारे त कुनै विवाद नै छैन। हामीले बनाएको सडक त नदीभन्दा पश्चिमपट्टि रहेको छ,’ दिल्लीस्थित एक थिंकट्यांकले आयोजना गरेको वेविनारमा जनरल नरवणेले भने, ‘त्यसकारण उनीहरु किन आन्दोलित भइरहेका छन्, मलाई थाह छैन।’
‘नेपालले अरु कसैको आदेश बमोजिम त्यसो गरेको हुनसक्छ’ भन्ने विश्वास गर्ने आधार रहेको दाबी गर्दै उनले भने, ‘त्यो संभावना धेरै छ।’
‘त्रिदेशीय बिन्दू (भारत–चीन–नेपाल) ठ्याक्कै कहाँ हुनुपर्छ, भन्नेलगायत केही साना विषयहरु मिलाउन बाँकी छन्,’ उनको दाबी छ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतले नेपाली भूमि लिपुलेक हुँदै बनाएको सडकको गतसाता उद्घाटन गरेपछि भारतको सो एकपक्षीय कदमको चर्को आलोचना भइरहेको छ।
सो सडक भारतीय सेनाले आफ्नो चीन अध्ययन समूहको निर्देशनमा निर्माण गरेको हो, जसका लागि इन्डो–चाइना बोर्डर फण्डबाट लगानी गरिएको छ।
भारतीय सेनाप्रमुखले नेपाली राजदूतको भनाइ समेत उल्लेख गर्दै काली नदीको पूर्व नेपाल रहेको पनि बताएका छन्। त्यसो हुँदा पनि काली नदीको मुख्य भंगालोबाट पूर्वतर्फको भाग नेपालको नै हुन्छ तर, भारतले थोरै पानीको बहाव रहेको सानो खोल्सालाई काली नदी भन्ने दाबी गर्दै आएको छ।
सीमाका रुपमा रहेका नदीको मुहानबारे विवाद भएमा सो नदीको मुख्य भंगालोलाई आधार मान्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता पनि हो।

प्रतिक्रिया