राजनीति


ऐन विपरित निर्णय नगर्न डा. केसीले गराए सरकारको ध्यानाकर्षण

ऐन विपरित निर्णय नगर्न डा. केसीले गराए सरकारको ध्यानाकर्षण

नेपालखबर
चैत १९, २०८२ बिहिबार १८:१, काठमाडौँ

चिकित्सा शिक्षा सुधार अभियन्ता डा गोविन्द केसीले चिकित्सा शिक्षा ऐन विपरित निर्णय नगर्न सरकारलाई आग्रह गरेका छन्।

जेनजी आन्दोलनमा घाइते भएकी एकता शाहलाई चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न सिफारिस गरेपछि डा केसीले ऐन विपरित निर्णय नगर्न भनेका हुन्। 

प्रेस विज्ञप्ति जारी गर्दै डा केसीले योग्यता क्रमसूची अनुसार मात्र एमबीबीएस लगायत सबै विधामा भर्ना हुने कानुनी प्रावधान विपरित निर्णय नगर्न सरकारलाई आग्रह गरेका छन्।  

‘प्रधानमत्री बालेनको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठकले एमबीबीएस भर्ना सम्बन्धी हालै गरेको निर्णयले हाम्रो ध्यानाकर्षण भएको छ। यस वर्षका लागि विद्यार्थीहरू भर्ना भएर पठनपाठन कार्यक्रम शुरू भइसकेको प्रधानमन्त्री बालेनलाई चिकित्सा शिक्षा सम्बन्धी विधिको शासन नतोड्न र तोड्न नलगाउन आग्रह गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ। 

डा केसीले ऐनको मर्म र मान्यता अनुरूप कार्य गर्न असमर्थ चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई सक्षम व्यक्तिका लागि मार्ग प्रशस्त गरिदिन भनेका छन्। 

‘विगतमा विभिन्न सरकारसँग भएका सम्झौताहरू कार्यान्वयन गर्न लगायत चिकित्सा शिक्षा ऐन र नियमावली विपरीत भएको चिकित्सा शिक्षा आयोगको निर्णय फिर्ता लिन बालेन सरकारलाई पुनः अनुरोध गर्दछु,’ डा केसीले भनेका छन् ‘हामी लामो समयदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सुशासन र सामाजिक न्यायकालागि संघर्षरत छौँ र उल्लिखित मागहरू पूरा गर्न सत्याग्रहसहितको आन्दोलनको जरुरी नपर्ला भन्ने अपेक्षा गरेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad