राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले वर्तमान सरकारले अघि सारेका कार्ययोजना र नीति कार्यक्रमहरू अधुरो रहेको टिप्पणी गरेका छन्।
२०औँ अधिवेशनको प्रथम बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद विश्वकर्माले देश र जनताको आवश्यकता अनुसारका कार्यक्रमहरू आउन नसकेको बताएका हुन्।
सम्बोधनका क्रममा उनले लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रिय सार्वभौमिकताको रक्षा नै प्रमुख कुरा भएको उल्लेख गर्दै नयाँ सरकार यी आधारभूत विषयमा अडिग रहन सक्छ कि सक्दैन भन्ने प्रश्न उठाए।
उनले विगतमा सदनभित्रै उठेका ‘मुनरो डक्ट्रिन’ र नेपाली सेनाको संख्या घटाउने जस्ता प्रस्तावहरूप्रति सरकारको धारणा स्पष्ट हुनुपर्नेमा जोड दिए।
सांसद विश्वकर्माले नेपालको संविधानको धारा ४० ले दलितहरूलाई विशेष अधिकार प्रत्याभुत गरे पनि त्यसलाई कार्यान्वयन गर्ने कानुन अहिलेसम्म बन्न नसक्नु विडम्बनापूर्ण भएको बताए।
उनले भने, ‘सिङ्गो दलित समुदाय आज पनि छुवाछूत र जातीय उत्पीडनको मारमा पिल्सिएका छन्। सरकारले राज्यको तर्फबाट भएको भेदभावप्रति क्षमायाचना गर्नु सकारात्मक भए पनि क्षमायाचनाले मात्र पुग्दैन। उनीहरूको जीवनस्तर उकास्न ठोस कार्यक्रम र निश्चित बजेटको व्यवस्था हुनुपर्छ।’
हालै सार्वजनिक भएको कार्की छानबिन आयोगको प्रतिवेदनलाई उनले ‘एकपक्षीय र खोटपूर्ण’ संज्ञा दिए। सरकारी कार्यालय र व्यक्तिगत सम्पत्ति ध्वस्त पार्ने घटनाका दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन प्रतिवेदन चुकेको भन्दै उनले आफ्नो पार्टीको यसमा विमति रहेको स्पष्ट पारे।
Shares

प्रतिक्रिया