राजनीति


प्रतिनिधि सभा सदस्यलाई सम्पत्ति विवरण बुझाउन निर्देशन, विवरण गोप्य राखिने

प्रतिनिधि सभा सदस्यलाई सम्पत्ति विवरण बुझाउन निर्देशन, विवरण गोप्य राखिने

नेपालखबर
चैत १६, २०८२ सोमबार १४:३२, काठमाडौँ

संघीय संसद सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। 

सचिवालयले आगामी जेठ १० गतेभित्र सम्पत्ति विवरण अनिवार्य रुपमा संसद सचिवालयमा बुझाउन निर्देशन दिएको हो।

सचिवालयकाअनुसार प्रतिनिधि सभा सदस्यहरुले आफ्नो वा आफ्नो परिवारको नाममा रहेको आर्थिक वर्ष २०८१/०८२ को अद्यावधिक सम्पत्ति विवरण बुझाउनुपर्नेछ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले पद ग्रहण गरेको मितिबाट ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने कानुनी प्रावधान रहेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। 

सोही कानुनी प्रावधानअनुसार सम्पत्ति विवरण पेश गर्न सांसदहरूलाई औपचारिक सूचना जारी गरिएको उनको भनाई छ।

प्रतिनिधि सभा सदस्यहरूले चैत १२ गते शपथ लिएपछि सार्वजनिक पद धारण गरेको मानिने भएकाले सो मितिबाट गणना हुनेगरी ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्नेछ।

सचिवालयमा आफ्नो सम्पत्ति विवरण खामबन्दी गरी गोप्य रुपमा बुझाउनुपर्ने प्रवक्ता गिरीले जानकारी दिए। उनकाअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ ‘क’ कार्यान्वयन गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो।

सचिवालयले प्रतिनिधि सभा सदस्यहरूले बुझाएको सम्पत्ति विवरण पूर्ण रुपमा गोप्य रहने स्पष्ट पारेको छ। कानुनअनुसार अदालतको आदेश आएमा बाहेक अन्य कुनै अवस्थामा उक्त विवरण सार्वजनिक नहुने प्रवक्ता गिरीले जानकारी दिए। उनकाअनुसार सदस्यहरूले बुझाएको विवरणको दुरुपयोग हुनेछैन। 

उनले भने, ‘६० दिनभित्र उहाँहरूले संघीय संसद सचिवालयमा सम्पत्ति विवरण खामबन्दी गरी गोप्य रुपमा बुझाउनुपर्छ। उहाँहरूले बुझाउने सम्पत्ति विवरण गोप्य नै रहन्छ, कुनैपनि प्रकारको दुरुपयोग हुँदैन। कानुनले भोलिका दिनमा अदालतको आदेशका कारण खोल्नुपर्दा बाहेक अन्य अवस्थामा खोल्ने कुरा हुँदैन, सुरक्षित र गोप्य रहन्छ।’ 

सचिवालयले यसअघि राष्ट्रिय सभा सदस्यहरुलाई पनि सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad